अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

नेपालमा कोरोनाका कारण सोमबार एकैदिन १९ जनाको मृत्यु, थप २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असोज १९ गते ६:४८ मा प्रकाशित

नेपालमा आज (सोमवार) कोरोनाबाट १९ जनाको मृत्यु भएको छ । एकै दिन कोरोना संक्रमणबाट निधन हुनेको यो अहिलेसम्मकै उच्च संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ५ सय ५४ जनाको मृत्यु भएको छ।

यसैगरी मुलुकमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या ८९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अहिले देशभर २३ हजार ५ सय ७ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ९१ जना रहेका छन् भने होम आइसोलेसनमा १२ हजार ३ सय १६ जना छन्। क्वारेन्टाइनमा रहेनेको संख्या ४ हजार ३३ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७ सय ८१ नमूनाको पीसीआर परीक्षण भएको छ। सोमबार १ हजार १ सय ३३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । अहिले आइसीयूमा २ सय ४४ र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू