अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

अमेरिकाद्वारा इरान विरुद्ध नयाँ प्रतिबन्धको घोषणा

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:२८ मा प्रकाशित

अमेरिकाले इरान विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको हो । इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको हो ।

इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्ति विरुद्ध प्रतिबन्ध लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नु भएको सिएनएनले जनाएको छ ।कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै जारी गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पले आफ्नो आदेशले इरानी सत्ता र इरान विरुद्ध उभिन अस्वीकार गर्ने अन्तर्राष्ट्रिय समुदायका लागि स्पष्ट सन्देश दिएको बताउनुभएको छ ।

आफ्नो प्रशासनले इरानलाई आणविक, ब्यालिस्टिक क्षेप्यास्त्र र परम्परागत घातक हातहतियारको निर्माण रोक्न हरसम्भव प्रयत्न गर्नेछ ट्रम्पले उल्लेख गर्नुभएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले जारी गर्नुभएको अर्को वक्तव्यमा इरान विरुद्ध हतियार आपूर्ति रोक्ने राष्ट्रसंघीय प्रतिबन्धहरु अब अनिश्चितकालसम्म जारी रहने दाबी गर्नुभएको छ ।

उहाँले इरानले आफ्नो व्यवहारमा परिवर्तन नल्याउँदासम्म यी प्रतिबन्धहरु लागू भइरहने बताउनुभयो । विदेश मन्त्री पोम्पेओले प्रतिबन्ध उल्लंघन गर्ने विरुद्ध जवाफदेही बनाइने पनि बताउनुभएको छ । राष्ट्रसंघ सुरक्षा परिषदमा सहमति नभए पनि संयुक्तराज्य अमेरिकाले एकपक्षीय रुपमा इरान विरुद्ध राष्ट्रसंघीय प्रतिबन्धहरु लागू भएको घोषणा गरेको छ । केही जानकारहरुले इरान विरुद्ध एकपक्षीय प्रतिबन्ध घोषणा गर्ने कानुनी अधिकार अमेरिकासँग नरहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू