अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

नेपालमा कोभिड– १९ संक्रमणबाट ४ सय १ जनाको मृत्यु, ४५ हजार २ सय ६७ जना उपचारपछि डिस्चार्ज

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:१६ मा प्रकाशित

विश्वभर महामारीका रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज (शनिबार) सम्म मृतकको संख्या ४ सय १ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतर्फी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ । देशभर बिहीबार १२ सय ४६, शुक्रबार २०२० जनामा संक्रमण पुष्टि भएको थियो । तर, शुक्रबारको तुलनामा शनिबार ५० प्रतिशत नै संक्रमितको संख्या घटेको छ ।

प्रवक्ता गौतमका अनुसार देशभर अहिले १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १४ सय ४७ जना कोरोना संक्रमित उपचारपछि निको भएसंगै अस्पतालबाट डिस्चार्ज हुनेको कुलसंख्या ४५ हजार २ सय ६७ पुगेको छ। डिस्चार्ज हुनेको यो संख्या ७२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशका मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर, र रुपन्देही जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, मुगु र हुम्लामा कुनैपनि बिरामी छैनन् । मन्त्रालयका अनुसार अहिले देशभर १ सय ७९ जनाको आइसीयूमा र ३५ जनाको भेन्टिलेटर उपचार भइराखेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू