अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३० | Colorodo: 20:45

यहाँ को बाँचेको छ र

राजन कार्की २०७७ भदौ २३ गते ६:५६ मा प्रकाशित

कविता

म सत्यवादी कि असत्यवादी
सिकन्दरका गुरु सुकरातलाई शङ्का लाग्यो
र सन्तलाई सोध्न पुगे (ड्याफोडिल)
गुरु म सत्यवादी हुँ कि होइन ?
सत्यवादी हुँ भन्ने प्रमाण के हो ?
सन्तले पुलुक्क हेरे मात्र
तर केही बोलेनन्,
सुकरात फर्किए, मन उद्वेलित भइरह्यो
आखिर म सत्यवादी हो कि होइन ?

सुकरातले विष तैयार गरे
र, पिउनुअघि फेरि सन्तछेउ पुगेर भने
सत्यवादी हुँ भन्न म विष पिउन तैयार छु
यसपालि सन्त बोले
तिमी सत्यको निकट पुग्यौ ।

आज मेरो देश यही
सत्य असत्यको दोबाटोमा छ
आदर्श हुँ भन्ने समाजवादीले
बिपीको मोदिआइन पढेनन्
कमरेड सर्वहारावादीले
मदन भण्डारीको सिद्धान्त पढेनन्
त्यसैले त मोहनचन्द्र रुद्राक्ष जप्छन्
र, सत्ता छ, सिद्धान्त छैन
नीति छैन, नैतिकता छैन भन्छन्,
भीष्म पितामहजस्ता मोहनविक्रम सिंह
स्कुल त राम्रै पढाइयो
मोराहरू बिग्रिएछन भन्ने गुनासो गर्छन् ।

अर्थात् सत्ता सत्य कि सिद्धान्त सत्य
सिंहदरबार सत्य कि अनैतिकता सत्य
घोषणापत्र सत्य कि असत कर्म सत्य ?
विषको प्याला तैयार भयो
राजनीति सत्यको निकट पुग्यो ।
हुन पनि भीख र भजनमा कति दूरी छ र ?
इष र विषमा कति दूरी छ र ?
जति जीवन र मृत्युमा छ ।

देश दोहन जारी छ, त्याग डरायो
जनता शोषण जारी छ, बलिदान हरायो
समुन्द्र मन्थनमा सबै लागेका हुन्
निस्कन त नौनी निस्कियो, अमृत निस्कियो
अमृतमा विष घोलेपछि
विषवृक्षमा वर्जित फल फल्यो
समाजवाद सत्यको निकट पुग्यो
सर्वहारावाद सत्यको निकट पुग्यो
सत्य यही हो कि
बाँच्नेको मुख खाइलाग्दो देखिन्छ
बाँचेर मर्नेको मुहार टीठलाग्दो छ
वास्तवमा, यहाँ को बाँचेको छ र ?
घर र घाटमा दूरी रहेन ।
सत्यवादी कोही रहेन ।

प्रतिक्रिया