अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

मेरो देशको तस्बिर

राजन कार्की २०७७ भदौ ६ गते ८:३१ मा प्रकाशित

हाम्री आमा गाउँमा बस्छिन्
बुढाबा हली बनेका छन्, आमा गोरु
हाम्रो धरातल यही हो
बा आमा त उस्तै छन्
धेरै छोरा लाहुरे भएका छन्
केही छोरी सहरिया
कोही सुँगुरको नियतिमा छन्
कोही सुनको तडकभडकमा
यो मेरो देशको तस्बिर हो ।

बुढा बा आमा बिरामी भए
साना लालाबाला भोकले निन्याउरा छन्
भुसतिघ्रे छोरो काम नपाएर रल्लिएको छ
उसले के गरोस्, लाहुरे बन्छु भन्ने ठान्यो
र, कोही पश्चिम मुलुक पुगे
कोही पूर्वका देश
धेरै छोराछोरी खाडीमा बजारिए
बुढा बाआमा डिलमा बसेर हेरिरहेछन्
छोरो आउँछ कि भनेर
बुहारी, छोराछोरी आँखा तन्काइरहेछन्
लोग्नेले केही ल्याउँछ कि भनेर
घाम झुल्किन्छ, घाम डुब्छ
रात पर्छ, आँसु झर्छ र रात सकिन्छ
धेरैका खर्चपानी आउँछन्, कतिका शव आउँछ
यसै गरी पहाड मरिरहेछ, तराई मरिरहेछ
कोही सुँगुरको नियतिमा छन्
कोही सुनको तडकभडकमा
नेपाल मरिरहेछ । नेपाल बाँचिरहेछ ।

केही छोराहरूले जागिर पाएका छन्
केही छोराहरूले व्यापार बढाएका छन्
केही छोराहरूले छानो डढाएर पैसा कमाएका छन्
जो सच्चा छन्, देशमा छन्
तिनको हालत कमजोर छ
जो नैतिकता बेचिरहेछ
तिनको रहनसहन सम्भ्रान्त छ
त्यसैले दिदीको लरक्क लर्केको सारी सफा छ
काँधमा ढल्केको सुनको तिलहरी
कम्मरमा देखिएन, काँधमा सरेको छ
हातमा बाला, कपालमा चन्द्रमा
सुनको पाइजेप, भो कुरा नगर
किन पुराना आमाहरू गोरु बनिरहेछन्
किन नयाँ आमाहरू सुनकुमारी भइरहेछन्
सभ्यता सुसायो कि असमानता बढायो
मेरी आमा गाउँमा बस्छिन्
बुढाबा हली बनेका छन्, आमा गोरु
बा आमा त उस्तै छन्
छोरो लाहुरे भएको छ
केही छोरी सहरिया
कोही सुँगुरको नियतिमा छन्
कोही सुनको तडकभडकमा
यो मेरो देशको तस्बिर हो ।

जो लाहुरे भएका छन्
तिनले देश बिर्सेका छैनन्
जो लाहुर जान बाध्य छन्
तिनले बाआमा पनि भुलेका छैनन्
छातीमा जन्मभूमि धड्काएर
कर्मभूमिमा पसिना चुहाउँछन्
र, हरेक दिन देश सम्झन्छन्
सिमाना मिचिएकोमा भुटभुटिन्छन्
बा, आमा परिवार सम्झन्छन्
परदेशीएका छोराछोरी मनमनै मरेको देखिन्न
हरेक चाडपर्वमा ती मीठो खान्छन्
कि आँसु पिउँछन्
त्यो उनीहरूलाई थाहा होला
तर विदेशमा ती सुखी छैनन् ।
देश अनुसारको भेष हुनु मात्र खुसी कहाँ हो र ?
बिदेसिएकाहरूका लागि
स्वदेश, स्वपरिवारको सम्झना नै जीवन हो
त्यो जीवन हरेक दिन देखिन्छ
किनकि यो मेरो देशको तस्बिर हो ।

देशमा हुनेखानेभन्दा हुँदा खानेको रास छ
विषमता र विभेदको भास छ
केहीलाई उप्रीमाथि थुप्री छ
धेरैलाई न गाँस छ, न बास छ
कोही काम खोज्दै बिदेसिए
स्वदेश लुटियो, कोही स्वदेशमै लुटिए
देशको चिन्ता गर्ने हक सबैलाई छ
चिन्ता गरेपछि सुधार्ने हो
सुधार्ने जिम्मेवारी सबैको हो
किनकि
हाम्री आमा गाउँमा बस्छिन्
बुढाबा हली बनेका छन्, आमा गोरु
हाम्रो धरातल यही हो
बा आमा त उस्तै छन्
धेरै छोरा लाहुरे भएका छन्
केही छोरी सहरिया
कोही सुँगुरको नियतिमा छन्
कोही सुनको तडकभडकमा
यो मेरो देशको तस्बिर हो ।

प्रतिक्रिया