अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

अमेरिकि इमिग्रेसन (USCIS)मा काम गर्ने साढे १३ हजार जागिर चट

बिआरटीनेपाल २०७७ असार १६ गते १४:४२ मा प्रकाशित

न्यु योर्क । ट्रम्प प्रशासनले युनाइटेड स्टेट्स सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेस (USCIS) मा काम गर्ने करिब १३ हजार ४ सय कर्मचारीको जागिर अस्थायी रूपमा खोसिदिएको छ । यसले USCIS को काम लगभग ठप्प हुने अवस्था सिर्जना हुनेछ ।

ट्रम्प प्रशासनले इमेलमार्फत ती आप्रवासी कर्मचारीलाई अगस्ट ३ देखि कम्तीमा ३० दिन काममा नआउन सूचना दिएको हो । उनीहरूले उक्त सूचना सोमबार बिहान उठ्नसाथ पाएका थिए । इमेलमा उनीहरूलाई ३ महिना वा सोभन्दा बढी समय काममा नबोलाउन सकिने जनाइएको छ । कामबाट अस्थायी रूपमा हटाउन ३० दिन अगाडि सूचना दिनुपर्छ ।

युएससिआइएसमा करिब २० हजार मानिस काम गर्छन् । त्यसमध्ये करिब १३ हजार ४ सय मानिस घर बसेपछि युएससिआइएसमा करिब ७३ प्रतिशत जनशक्ति कमी हुन्छ । यसबाट युएससिआइएसको काम लगभग ठप्प हुन्छ ।

युएससिआइएसले आफ्नो जनशक्तिलाई कामबाट अस्थायी रूपमा हटाइएको पुष्टि गरेको छ ।

युएससिआइएसको झन्डै ९७ प्रतिशत सञ्चालन खर्च आप्रवासीले तिर्ने शुल्कबाट उठ्छ । युएससिआइएसको सञ्चालन खर्च करिब १८ अर्व ८० करोड अमेरिकी डलर छ । कोरोना भाइरसको महामारीका कारण आम्दानी घटेकाले कर्मचारीलाई घर बस्न भनिएको दाबी गरिएको छ । ‘मार्चयता युएससिआइएसको आम्दानी ५० प्रतिशतले घटेको छ । त्यसले हाम्रो सेवा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्था छैन,’ युएससिआइएसका एक जना प्रवक्ताले भनेका छन्, ‘अगस्ट ३ अघि काँग्रेसले हामीलाई अतिरिक्त बजेट नदिए हाम्रो जनशक्तिलाई घर बस्न नभन्नुको विकल्प छैन ।’

आम्दानीको राम्रो स्रोत एच वानबी भिजा, जे वानएस र ग्रिन कार्ड आवेदन पनि ट्रम्प प्रशासनले कोरोना भाइरसलाई कारण देखाउँदै अस्वीकार गरेको छ । त्यसले पनि युएससिआइएसको आम्दानी गुमेको हो ।

रिफ्युजी, असाइलम एण्ड इन्टरनेसनल अपरेसन्समा काम गर्ने २ हजार २ सय मध्ये झन्डै १५ सय कर्मचारी घर बस्ने छन् । त्यसमा ६ सयभन्दा बढी कर्मचारी सुपरभाइजर र सोभन्दा माथिल्लो तहका छन् ।

युएससिआइएसका कर्मचारी घर बस्नु परेपछि उनीहरूको आवेदन प्रशोधनमा ढिलाइ हुन्छ । त्यसले कतिपय आप्रवासीलाई विभिन्न खाले कठिनाइ उत्पन्न हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू