अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

व्यथित समय

रश्मि भट्ट २०७७ जेठ २२ गते १३:२८ मा प्रकाशित

कविता

नचाहँदा, नचाहँदै
दुखको पहाड
थमाइरहेछ समय
सुक्न नपाउँदै, महामारीको

आलो र दर्दनाक घाउहरू
हिंसा र प्रति हिंसाको पहाड
थपिएको छ ,देश,देशावर भरी
अन्यायको विरुद्ध

प्रति शोधको आगो हुर्हुरी
बलेको छ सहरभरि
चोरी ,चकारी,लुटपाट र अशान्ति
मात्र छ ,यो महादेश भरी

संसारभरि शासकहरू शक्ति
मुठीमा लिएर ,अट्टहास गरिरहेछन्
हारेको हारेकै छ ,न्यायको तराजु
मरिरहेछन् निरपराधीहरू ।।

समय प्रहार गर्न सक्दैन सामन्तहरूलाई
महामारी ढाल्न सक्दैन निरङ्कुशहरूलाई
भूकम्प तोड्नै सक्दैन यिनीहरूका
बिलासी राज महल

साँच्चै दैवो, दुर्बल घातक
समय बर्बरता छर्दैछ ,सॅधै,सॅधै
उल्टै निरीहहरूमाथि
हे ! समय एक दिन दुर्बलहरू पनि

सबल र सक्षम बनेको बेला
मान्छेले रोग,शोक,भोक र अन्याय
पराजित गरेको बेला
तिमीले पनि घुँडा टेक्नुपर्छ

हामी मनुष्यहरूसँग
जति रोएका छौँ आज हामी
त्यो भन्दा धेरै रुनुपर्छ तिमीले
हामी भन्दा व्यथित बन्नु पर्छ तिमीले ।।