अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

कोरोनाको भुङ्ग्रो अमेरिकामा लाशहरुको लस्करका बिच नेपालमा बढ्दै गएको सँक्रमण हेर्दा

रामप्रसाद खनाल २०७७ वैशाख ५ गते १९:१९ मा प्रकाशित

संसारको आकर्षण अमेरिका अहिले लगभग आधा सुतेको र आधा मात्र सुत्दा पनि अमेरिका कता कता मलाई सुनसान जस्तो लाग्न थालेको छ । न लागोस् पनि कसरी ? चौबिसै घण्टा जागाराम बस्ने, वर्ष दिन भरी नै रात दिन नभनेर चलिरहने र संसारलाई नै नेतृत्व गर्ने अमेरिकामा चीनको वुवानबाट सुरु भएको ज्यानमारा कोरोना भाइरसले मेरो देशमा माओवादी जनयुद्धका नाममा प्रचण्ड र बाबुरामले मच्चाएको दश बर्से ज्यानमारा युद्धमा ज्यान गुमाएका सत्र हजार निर्दोष मान्छेको ठिक डबल अर्थात् ३४ हजार भन्दा बढी मान्छेलाई आफ्नो आहारा बनाइसकेको छ । यो सङ्ख्या हरेक मिनेट, घण्टा र दिन बढ्दो छ । थाहा छैन अझ कतिलाई कोरोनाले आफ्नो गास बनाउने हो ।

हुन त अमेरिका मात्र होइन युरोप, अस्ट्रेलिया, क्यानडा देखी संसार नै कोरोनाको चपेटामा परिसकेको छ । यो पुग्न बाँकी कहाँ रह्यो र ?

यस अघि यसरी कहिल्यै पनि सुनसान भएको इतिहास नभएको त्यही अमेरिकामा आफू प्रत्यक्षदर्शी भएर बसेको छु अहिले । अमेरिका लक डाउन भएको पनि छैन र पुरा खुल्ला पनि छैन । यो अचम्मको देश रहेछ जुन देश एक हप्ता मात्र पूर्ण रूपमा लकडाउन गर्ने हो भने यो आफू मात्र सकिन्न संसारको अर्थतन्त्र स्वाहा पार्ने हैसियत राख्दो रहेछ, कुरा बल्ल बुझ्दै छु ।

आफ्नै अगाडि अमेरिकामा केही नेपालीहरूको पनि ज्यान लिएको कोरोनाको ताण्डव नियन्त्रित हेर्दा हेर्दै आँखा पाट्टिएका छन् । कुन बेला कसलाई कोरोनाले आहार बनाउँछ थाहा छैन । घर भित्र बन्दी जीवन बिताएको अनुभव मात्र होइन मैले मेरो जीवनकालमा सबैभन्दा लामो छुट्टी मनाएको भनेको शायद अहिले नै होला । तर छुट्टी मनाएर पनि थाकिँदो रहेछ । कति बस्नु घरका चार दिवार हेरेर । कति बस्नु मृत्युका समाचार पढेर । कति बस्नु त्रासै त्रास हेरेर !

बिहान उठ्यो, समाचार पढ्यो, हेर्‍यो, खाना खायो, फोन र टिभीमा आँखा गाड्यो, देश विदेशमा कोरोना भाइरसले मच्चाएको आतङ्क र यसको ताण्डव नियन्त्रित अनि यसले परेका असर हेर्दै जिब्रो टोक्यो, दिन ढल्छ, साँझ फेरि एक थाल भात बजायो अनि बिस्तारमा गयो । मन भरी डर, त्रास र आतङ्क छ कोरोनाको । सुते पनि निद्रादेवी सजिलै कहाँ आउंछिन र ! यता कोल्टे, उता कोल्टे, कोखो फेरि फेरि सुत्दा सुत्दै रात ढल्छ । यसो आँखा बन्द मात्र के भएका हुन्छन् सपनामा नेपाल पुगिहालिन्छ ।

नढाँटी भनौँ मैले अमेरिका बसेको यो १३ वर्षमा एका दुई पटक बाहेक कहिल्यै पनि सपनामा अमेरिका या बाहिरको कुनै घटना क्रम देखेको छैन । देख्छु मात्र नेपाल । आफ्ना गाउँघर, आफन्तजन, साथीभाइ, त्यहाँको परिवेश, त्यहीको हरेक घटना क्रम बिउँझिँदा मात्र होइन सपनामा पनि त्यही मात्र आउँछ ।

बिहान उठ्ना साथ हेर्ने समाचार नेपालको । नेपालको हरेक कुरामा नेपालमा हुँदा भन्दा बढी अपडेट भइन्छ यहाँ । दुख्छ उतै । किन हो थाहा छैन तर यसो भन्ने हो भने केही आफूलाई नेपाली भन्ने अरिङ्गगालहरुले फेसबुकमा गाली गर्न, सत्तो सराप गर्न भ्याइहाल्छन् । भन्छन् – नेपाल छोडेर विदेश किन गा को ? नेपाल आमालाई किन लात्ती हानेको ? आदी इत्यादि ।

तिनका “बाउहरू” जो राजनीतिका नाममा लुटतन्त्र चलाउँछन् र तिनैको जुठो पुरो खान पल्केका एक्काइसौँ शताब्दीका दासहरू रोजगारी वा अवसर पाएको भए करिब एक करोड नेपालीहरू किन बिदेसिनुपर्थ्यो र ? भनेर कहिल्यै सोंच्दैनन बरु विदेश जाने त उनीहरूका ठुला शत्रु हुन यस्तो सोंच्दछन । विदेशमा बस्ने नेपालीहरूले पठाएको रेमिट्यान्सले देश चलेको बुझ्ने त टाढाको कुरा भो । सरकार आफै श्रम मन्त्रालय मार्फत दक्ष नेपाली जनशक्ति बाहिरी देशलाई बेच्दछ त्यो यी पुच्छरहरू के थाहा ? लाई के अर्थ ?

अहिले हामी अमेरिकामा कोरोनाको भुङ्ग्रोमा छौँ, कुनै पनि बेला कसैलाई पनि कोरोनाले आक्रमण गर्न वा लैजान सक्छ । हामीलाई हाम्रो चिन्ता त छ तर हाम्रो आफ्नो चिन्ता भन्दा बढी हामीलाई नेपालको चिन्ता छ जहाँ हाम्रा आफन्तजन, सबै सबै छन् ।

हाल सम्म स्वास्थ्य मन्त्रालयको अद्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको सङ्ख्या ३० छ र जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ | जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको ( २ वटा केस (२७ वर्षीय पुरुष र ६३ वर्षीय महिला) छन् । २०७७ वैशाख ५ गते अद्यावधिक गरिएको यो डाटा कोरोना भाइरस टेस्ट गरिएका बहुत थोरै मध्ये बाट देखिएको डाटा हो । यदि नेपालमा पनि अरू देशमा जस्तै ब्रिहत रूपमा टेस्ट गर्ने हो यो सङ्ख्या बढ्ने अनुमान गर्न सकिन्छ ।

उदाहरणका लागि अमेरिकालाई हेर्नुस् । सुरुमा नपत्याएको अमेरिकालाई टेस्ट गर्न थाले पछि बल्ल थाहा भयो कोरोनाले भित्र भित्रै ध्वंस गरिसकेको रहेछ । यस्तो नहोस् हामी कामना गरौँ नेपालको हकमा ।

हामी मरियो भने पनि नेपालमा रहेका हाम्रा आफन्तजन देखी कसैलाई पनि केही नहोस् हामीले भगवान् सँग यो प्रार्थना गरिरहेका छौँ यहाँ ।

अमेरिकामा पनि सोंचे अनुसार कोरोना भाइरस नियन्त्रणमा सन्तोषजनक काम भइरहेको छैन भन्ने गुनासो आएको छ त्यो सत्य हो । किन कि अमेरिका जस्तो संसारको मै हुँ भन्ने देशले हर कुरामा चमत्कार गर्छ गर्नुपर्छ भन्ने मान्छेको अपेक्षा मिट भएको छैन तर यहाँ सिस्टम छ र सिस्टमले काम गरिरहेको छ । यहाँ पनि फोहोरी राजनीति, दुई दलीय व्यवस्था भएको, डेमोक्र्याट्स र रिपब्लिकन को सधैँ त त र मे मे चलिरहन्छ । कोरोना भाइरसमा पनि राजनीति भइरहेको हामीले देखिरहेका छौँ तर यहाँ सिस्टममा मान्छेले विश्वास गर्छन् । यहाँ कुनै पनि अस्पताल, डाक्टर, नर्सले बिरामी नहेरेको, लिन नमानेको छैन बरु रिटायर्ड डाक्टर, नर्स, स्वास्थ्यकर्मी काममा फर्केर जीवन बँचाउने काम गरिरहेका छन् ।

फेसबुकमा यस्ता पनि सूचना र पोस्ट गरेको देखियो कि नेपालबाट – अमेरिकामा कोही बेखर्ची भए, समस्यामा परेको भए खबर गर्न भनेर साथीहरूले पोस्ट गरिरहनुभएको छ । एकातिर यी पोस्टहरू हेर्दा साथीभाइहरूको सहयोगी मनको प्रशंसा गर्न मन लाग्यो भने अर्को तिर यो पनि क्लियर गर्न मन लाग्यो कि – अमेरिकामा बस्ने, इमान्दारितापुर्बक काम गर्ने, कुनै अपराधमा संलग्न नभएका कुनै पनि नेपाली अहिले सम्म कोरोनाको कारण अमेरिकामा बेखर्ची भएको वा त्यस्तो दुखद अवस्था सिर्जना भएको र नेपाल तिरबाटै सहयोग उठाउने अवस्था आएकै छैन । सम्बन्धित सबैलाई जानकारी गराउँ कि – अमेरिकी सरकारले हरेक नागरिक वा लिगल्ली बसेका काम गरेका सबैलाई उनीहरूको आम्दानी हेरी प्रति व्यक्ति एक हजार दुई सय डलर र कोरोनाका कारण काम छुटेका, गुमेका वा बिरामी परी काममा जान नसकेका भए प्रति व्यक्ति हप्ताको छ सय डलर बेरोजगारी भत्ता दिई रहेको छ अहिले । यहाँ केन्द्रीय सरकारले मात्र होइन स्ठानिय सरकार अर्थात् नगर, काउन्टी, स्टेट सबैले सहयोग गर्छन् । कोरोना आए पछि मात्र होइन अमेरिकामा कोही पनि भोकले मर्दैन । सरकारले नसक्ने लाई नियमानुसार फुड स्ट्याम्प मार्फत खान बस्न दिँदै आएको छ ।

तर दुःख त त्यति बेला लाग्छ जति बेला गरिब दुखी, मजदुर, सर्वहाराहरू सर्वहाराहरूको भनिने भनिने सरकारबाट राहत नपाएर जिल्ला गाउँ फर्किन खोज्दा पुलिसको चुटाइ खान्छन्, समातिन्छन्, कार्वाहिमा पर्छन्, भोक भोकै पर्छन् । बन्दोबस्त मिलाएर उनीहरूलाई राख्नुपर्ने सरकारको दायित्व होइन र ? लक डाउन मात्र समस्याको समाधान हो र ?? लक डाउन बाहेक खोइ त सरकारले देखिने गरी गरेको कार्य ??

कोरोना टेस्ट सुस्त गतिमा छ । टेस्ट गर्दा एक पटक पोजेटिभ अर्को पटक नेगेटिभ देखिन्छ, यस्ता छन् भएका टेस्ट किट । निजी अस्पताल बिरामी लिन मान्दैनन् । सङ्क्रमित बढ्दै गएका छन्, च्यालेन्ज बढ्दो छ । लक डाउन बढेको बडै छ । के लक डाउन मात्र राहत हो र सरकार ? सक्नेलाई त लक डाउनले केही फरक परेको छैन, प्रचण्ड, शेर बहादुर, केपी ओली लगायतका नेताहरूको मा पारिवारिक जमघट, विभिन्न भेराइटिका परिकार खाँदै, उत्सव जस्तै चलिरहेको छ तर नसक्नेका घरमा के होला ? ती गरिब दुखी, सर्वहारा जनताको के हालत होला ?? कहिल्यै अनुमान गरेका छौ सरकार ?? सोंचेका छौ तिनका पछीलाग्नेहरु ??

यस माहामारिमा सके सम्म सबै सुरक्षित हुनुपर्छ । कहीँ कतै कसैलाई नसरोस् भन्ने चाहना राख्नु स्वाभाविक हो तर आफ्ना नागरिकहरू लाई नचिन्ने, देश प्रवेश गर्न नदिने, हुँदा हुँदा अब एउटा गाउँ बाट अर्को गाउँ सम्म पनि छेकबार लाउने, मनिषाहरुलाई आफ्नो घर पुग्न नदिने जुन काम भइरहेका छन् ती अत्यन्त दुखद र अमानवीय छन् ।

सरकारको काम जनताको ढाड सेकेर कर असुल्ने र तिनै जनतालाई लक डाउनका नाममा अपराधी लाई जस्तै पुलिस लगाएर ढाड भाँचिने गरी कुट्ने, कुनै विकल्प नदिने हुनुहुँदैन । हो जनता पनि नियम कानुन र परिवेश अनुसार त चल्नै पर्छ सरकारलाई मानु पनि पर्छ तर भोक भोकै कसैले कोठाभित्र प्राण त्याग्नु पर्छ जस्तो गर्नु अर्को अपराध हो ।

यस्तै बेला हो सरकार चाहिने । सिंहदरबार गाउँ गाउँमा मुख ले मात्र भनेर हुँदैन व्यवहार मा पनि देखिनुपर्छ । सरकार जनतालाई राहत देऊ आहत होइन । बाँच्न देऊ । बालुवाटार र बुढानीलकण्ठले पनि जनताको मर्म बुझोस् । यस्तो कठिन बेलामा को सत्तापक्ष को प्रतिपक्ष नभनेर, नबनेर सबै बाँच्ने बचाउने काम गरियोस्, राजनीति भन्दा माथि उठेर कोरोना भाइरस महामारी विरुद्ध साझा कार्यक्रम बनाएर अघि बढ्नु नै आजको आवश्यकता हो अन्यथा कोरोनाले को काङ्ग्रेस को नेकपा वा को के पार्टीको भनेर छुट्ट्याउने छैन र यहाँ अमेरिकामा जस्तै लास विसर्जन गर्न धौ पर्ला भोलि । चेतना भया !

– भर्जिनिया, अमेरिका, अप्रिल १७, २०२०