अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

कोरोना सङ्क्रमणको आशङ्कामा काठमाण्डौ र ललितपुरका तीन वटा अस्पतालमा १७ जनाको उपचार हुँदै

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:३१ मा प्रकाशित

कोरोना सङ्क्रमणको आशङ्कमा काठमाण्डौको दुई वटा र ललितपुरको एउटा अस्पतालमा १७ जनाको उपचार भइरहेको सरकारले जनाएको छ । काठमाण्डौको कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा चाररचार जना गरी १७ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ । कोराना पुष्टि भएका दुई जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोेलेशनमा राखेर उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभरका अरु अस्पतालमा रुघाखोकी र ज्वरो आएका बिरामी पनि दिनहुँ पुग्ने गरेका छन् । उनीहरुमध्ये १० जनालाई कोरोनाको आशङ्का गरिएको र नमुना परीक्षणको लागि टेकुमा रहेको प्रयोगशालामा पठाइएको पनि मन्त्रालयले जनाएको छ । उनीहरुको रिपोर्ट आउँन बाँकी छ ।

अहिलेसम्म नेपालमा कोरोना परीक्षण गरिएका सात सय ५८ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको छ । एक जना निको भइसकेका छन् भने अरु दुई जनाको उपचार भइरहेको छ । बिहीबारसम्ममा देशभरिका ८० वटा स्वास्थ्य संस्थामा ६ सय १३ वटा आइसोलेशन बेडको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश १ का १३ वटा स्वास्थ्य संस्थामा ६७ वटा, प्रदेश २ का पाँच वटा स्वास्थ्य संस्थामा ९८ वटा, वाग्मती प्रदेशका ४३ वटा स्वास्थ्य संस्थामा एक सय ७९ वटा र गण्डकी प्रदेशको २१ वटा स्वास्थ्य संस्थामा एक सय १३ वटा आइसोलेशन बेड तयार गरिएको छ । त्यस्तै प्रदेश ५ का १४ वटा स्वास्थ्य संस्थामा ८९ वटा, कर्णाली प्रदेशमा २० वटा र सुदूरपश्चिम प्रदेशका १८ वटा स्वास्थ्य संस्थामा ४७ वटा गरी देशभरका ८० वटा स्वास्थ्य संस्थामा ६ सय १३ वटा आइसोलेशन बेड तयार गरिएको हो ।

कोरोना भएको शङ्का लागेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा फोन गर्न सकिनेछ । १११५ नम्बरमा बिहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्न सकिनेछ । यो नम्बरमा अहिले दैनिक ११ सय ५० वटासम्म फोन आउने गरेका मन्त्रालयले जनाएको छ । उज्यालो अनलाईनबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू