अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

म र मेरो कफी

ममता कर्माचार्य २०७६ कार्तिक २६ गते १२:०६ मा प्रकाशित

भाग दौड हुने बित्तिकै
अन्तको पर्खाइ
कति रमाइलो सम्झँदा
आनन्द त्यो घर फर्काइको
नबोली चुप लागेर
आफ्नै ठाउँमा
म पुग्छु हासि-हासी
उ चुप लागेर टोलाएर हेरिरहन्छ ,
चिसो कापेको ,हात न्यानो बनाइ दिन्छ
केही नबोली
अनि म बिस्तारै
पहिलो स्वागतमा म्वाइँ खान्छु
कति मिठो वाह!
उत्तेजनामा ,
उसै सँग हराउँछु
उ बोल्दैन ट्वाल-ट्वाल हेरिरहन्छ
उ सँगै नजिक हुन्छु
अनि म बोल्न थाल्छु
उ चुपचाप हेरिरहन्छ
मानिसको जमात भित्र
मौनताको शून्यतामा
एक-आपसमा बिलाएको
एक शब्द बोल्दैन
मलाई बोल्न बाध्य बनाउँछ
निर्धक्क उसको साथमा
खुल्ला रूपले उपस्थिति
आनन्द र खुसीको अनुभव
उसको नशा नशामा हराउँछु
पूर्ण रूपले समर्पित ।
उ बिस्तारै बिस्तारै नाङ्गिँदै जान्छ ।
अनि उसको साथमा ,
आफू भित्र पूर्ण रूपले समर्पित।
आनन्द भित्र आनन्द ,
म परितिप्त हुन्छु ।
फेरी उ नबोली बिदा माग्छ
आफ्नै ठाउँमा जान,
म फेरी बाचा गर्छु
भोलिको लागि ।

 

बोस्टन ।