अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

उदाएको प्रेम रातो छ

ममता कर्माचार्य २०७७ असोज ११ गते १४:२६ मा प्रकाशित

मनैभरि हरियाली पलाएर
मेरो मुटुभित्र
उदाएको प्रेम
रातो छ।

गुलाफ जस्तै कोमल,
काँढा सँगै उभिएको,मिठो मुस्कान अँगालोमा

शीतको थोपाले
घामका किरण लपेटेर
हिजो, आज,
अनि,
भोलि पनि
उस्तै एउटा प्रेम अगाध प्रेम
मुटु भरी
जीवनको हिडाईका अनुभूतिमा
पोतिएका रङ्गहरूको परिधीमा
एउटा बिहानी

मनको उज्यालोले
बन्द मनको भित्तामा फुलेको
एउटा प्रेम बेगवान बनेर ,
पहरा, भीर छिचोल्दै निर्मल धड्कन
हृदयमा

एउटा आशा र विश्वास बोकी
म हरेक दिन
मनको सगरमाथामा
कतै भेटिन्छ अफ्ठेराहरू
साहस पाएको छु

हरेक रात
जुनको अभिव्यक्तिमा
सुन्दरताको बोधको साथमा
तिमी छौ र सबै थोक छ।

स्पन्दनको खुलस्त आवरणमा
हावाले सुस्तरी फिँजाएको
चारैतिर सुगन्ध छ ।
तिमी एउटा सत्य हो।

जीवनको पल पलमा फक्रिएर
वरिपरि आफू भित्र समेटेर
संर्घषको बगैँचामा फुलको
फुल रातो छ।
तिमी एउटा यर्थाथ हो ।

हिँडेकै छु ओइलिएर झर्दा पनि
मनैभरि हरियाली पलाएर
एउटा फुल
एउटा प्रेम
रातो छ, कोमल
गुलाफ जस्तै छ।