अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

उत्तर कोरियाको राष्ट्रिय पत्रिकाको फ्रन्ट पेजमा चिनियाँ राष्ट्रपति सीको ओप–एड, चीनको साथ र सहयोग रहने

बिआरटीनेपाल २०७६ असार ४ गते ४:५७ मा प्रकाशित

चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियासँग चीनको साथ र सहयोग रहेको बताउनुभएको छ । उत्तर कोरियाको राष्ट्रिय पत्रिका रोडोङ सिन्मुनमा प्रकाशित भएको ओप–एडमा राष्ट्रपति सीले उत्तर कोरियाको सही दिशाका लागि चीनको साथ रहने उल्लेख गर्नुभएको हो । कोरियाली प्रायद्विपमा जारी तनाव राजनीतिक या कूटनीतिक रुपमा समाधान गर्नका लागि चीनले सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गर्नुभएको हो ।

उत्तर कोरियाको पहिलो राजकीय भ्रमणको तयारीमा रहेका चिनियाँ राष्ट्रपति सीको ओप–एड पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । राष्ट्रपति सी बिहीबार दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया जाँदै हुनुहुन्छ । पछिल्लो १४ वर्षमा कुनै पनि चिनियाँ राष्ट्रपतिले गर्न लागेको यो पहिलो उत्तर कोरिया भ्रमण हो । सन् २०१२ मा सत्तामा आएका सीको यो पहिलो उत्तर कोरिया भ्रमण बन्दैछ ।

अमेरिका र उत्तर कोरियाबिचको वार्तामा अल्पविराम लागेका बेला हुन लागेको सीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसमाथि उनले ओप–एड मार्फत साथ र सहयोग रहने भन्नुलाई दुई देशबिचको सम्बन्धमा थप निकटता आएको रुपमा विश्लेषण गरिएको छ । जापानमा अर्को हप्ता हुने जी–ट्वेन्टी सम्मेलन पूर्व सीले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । जापानमा हुने सम्मेलनमा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू