अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

कथाकार पराजुलीको कथा सङ्ग्रह ‘अघोरी’ माथि विमर्श

बिआरटीनेपाल २०७५ मंसिर १४ गते २३:१७ मा प्रकाशित

हेटौडा, मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् ।

साहित्य सङ्गम मकवानपुरले आज हेटौडामा आयोजना गरेको पुस्तकमाथिको विमर्शमा पाठकले विषय विविधताका दृष्टिले कथा सङ्ग्रह उत्कृष्ट रहेको बताएका हुन् । पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय पराजुलीका अघोरी कृतिमा १७ कथा सङ्ग्रहित छन् ।

समीक्षक घनश्याम घिमिरेले अघोरीका कथाले समाजलाई तरङ्गित र गतिशील बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताए । “अघोरीका नारी चरित्र समाजमा तरङ्ग ल्याउन सफल देखिएका छन्”, उहाँले भन्नुभयो, “मधेसका पात्रको सशक्त उपस्थितिले नेपाली राष्ट्रियतालाई थप फराकिलो बनाइदिएको छ ।” गुमदेशका कथामा नेपालीको राष्ट्रप्रतिको प्रेमलाई उतारिएको छ ।

साहित्यकार अप्सरा तिम्सिनाले पत्रकारिता शैलीमा लेखिएकाले कथा सङ्ग्रह पठनीय विचार व्यक्त गरिन । “चरम गरिबीमा पनि प्रेम झाङ्गिएको दृश्य रोमान्टिक लाग्यो” उहाँले भनिन । पाठकसँग साक्षात्कार गर्दै लेखक पराजुलीले नेपाली जनताले बढी अपेक्षा गरेका कम्युनिस्ट शक्तिसमेत स्खलित भएकाले कम्युनिस्टलाई नै अझ बढी प्रहार गर्नुपरेको जिकिर गरे ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमिष निखिलले समाजमा व्याप्त समस्या, राजनीतिक चरित्रलाई लेखकले जस्ताको तस्तै पस्कन सफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू