अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

सडक तथा पुलको ठेक्का लिएर समयमै काम नसक्ने निर्माण व्यवसायीलाई जरिवाना

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते १९:१९ मा प्रकाशित

सडक तथा पुलको ठेक्का लिएर समयमै काम नसक्ने निर्माण व्यवसायीलाई धमाधम जरिवाना गर्न थालिएको छ । उपत्यका र विभिन्न जिल्लामा थपिएको समयमा पनि काम नसक्ने व्यवसायीलाई जरिवाना गरिएको सडक विभागले जनाएको छ ।

तीन पटक म्याद थप्दा पनि काम नसकेपछि भक्तपुरको कमलविनायक–भत्केको पाटी–नगरकोट सडकको ठेक्का लिएका शैलुङ/एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिडेट) जेभीलाई जरिवाना गरिएको छ। विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति गौतमका अनुसार दैनिक १ लाख ४० हजारका दरले जरिवाना गरिएको हो।

‘पटक–पटक म्याद थप्दा पनि काम नसकेपछि जरिवाना गरिएको हो,’ उनले भने, ‘अहिले दैनिक जरिवाना तिरेर काम भइरहेको छ।’ जेठबाट जरिवाना सुरु गरिएको हो। यो ठेक्का २८ करोडको छ। सन् २०१४ जुन ५ मा सम्झौता भएको सडक जम्मा १६ किलोमिटर छ। निर्माण व्यवसायीले पेस गर्ने बिलमा जरिवाना रकम कटाएर मात्र भुक्तानी दिइने विभागले जनाएको छ। गौतमका अनुसार दोलखा, दाङ र मोरङ सडक डिभिजनले समयमै काम नसक्ने निर्माण व्यवसायीलाई जरिवाना गराएका छन्।

सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रिप्रसाद शर्माले थप गरिएको समयमा काम नसक्ने २० निर्माण व्यवसायीलाई जरिवाना गरिएको बताए। ‘हामीले आव २०७४/७५ मा समयमै काम नसक्ने निर्माण व्यवसायीबाट ८८ लाख जरिवाना गरायौं,’ उनले भने, ‘एउटैले २६ लाख रुपैयाँसम्म बुझाएका छन्।’ उनका अनुसार सबैभन्दा बढी तिर्नेमा बिटी/टौदह/फस्को जेभी छन्। तोकिएकै समयमा निर्माण नसकेकाले जरिवाना गरिएको उनले बताए।

‘२०७०/७१ मा ठेक्का भएको थियो,’ शर्माले भने, ‘म्याद थप्दा पनि काम नसकेपछि दैनिक हर्जाना तिराएर काम सम्पन्न गरायौं।’ उनका अनुसार जरिवानामा परेका २० मध्ये १८ योजनाको निर्माण सकिइसकेको छ। आर्थिक वर्ष २०७५/७६ मा भने हर्जाना लगाइसकिएको छैन। जिल्लामा सञ्चालित ७२ आयोजनामध्ये ५० वटाको म्याद सकिइसकेको छ। बिल पेस गरेपछि भुक्तानी दिने समयमा हर्जाना कटाउने उनले बताए।

विभागका अनुसार सडक डिभिजन मोरङले पुल निर्माणको ठेक्का लिएको बीपी कन्स्ट्रक्सनलाई ६ लाख १ सय ४४ र शेरा खोला पुल निर्माणमा ढिलाइ गरेको भन्दै भैरव कन्स्ट्रक्सनलाई ७ लाख ९७ हजार जरिवाना तिराएको छ। ‘गर्दागर्दै नसक्नु एउटा कुरा हो, लापरबाही गरेर ढिलाइ गर्नु अर्को कुरा हो,’ प्रवक्ता गौतमले भने, ‘समय सकिएपछि अहिले आएर हतारमा काम गर्नेलाई हर्जाना लगाउने गरेका छौं।’ लापरबाही गरेर काम अलपत्र पार्ने धेरै छन्। कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू