अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

एक वर्षपछि राजदूत सिफारिस, भारतमा आचार्य

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते १९:०२ मा प्रकाशित

काठमाडौं ।  सरकारले संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका रूपमा सिफारिस भएका हुन् ।

मन्त्रिपरिषदको आइतवार राति सम्पन्न बैठकले नेपालबाट प्रबुद्द ब्यक्ति समूह (इपिजी) का सदस्यसमेत रहेका संविधानविद् आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । आचार्य श्रीलंकाका लागि पूर्व नेपाली राजदूत हुन् । यसअघि सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय विवादमा परेपछि त्यहाँ आचार्यलाई पठाउने निर्णय लिएको हो ।

सरकारको उक्त निर्णय विवादमा परेपछि भारतमा राजदूत हुन योग्य व्यक्तिको खोजीमा सरकार थियो । विभिन्न नामहरु बाहिर आए पनि राजदूतमा आचार्य सिफारिस हुने विषय चर्चामा थिएन ।

नागरिक अगुवा आचार्य पहिलो संविधानसभा अन्र्तगत संवैधानिक समितिका सभापति पनि हुन् । संसदको निर्वाचनमा सहभागी हुन भन्दै राजदूतबाट राजीनामा दिएर दीपकुमार उपाध्याय फर्केपछि भारतमा राजदूत खाली थियो । तीन महिना अघि सरकारले भारतमा राजदूतका लागि उप्रेतीलाई पठाउने निर्णय लिएपछि चर्को विवाद भएको थियो ।

मलेसियामा पाण्डे

मन्त्रिपरिषद् बैठकले उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूतमा सिफारिस गरेको वनमन्त्री शक्ति बस्नेतले जानकारी दिए । पाण्डे यसअघि साउदी अरबका लागि राजदूत थिए ।

पाण्डेको सिफारिस यसअघि उप्रेतीसँगै मलेसियाकै लागि भएको थियो । साउदी अरबमा ब्लड मनी खाएको आरोपमा सरकारले हमिद अन्सारीलाई फिर्ता बोलाएपछि सुधरको लागि भन्दै पाण्डेलाई त्यहाँ पठाइएको थियो । उनले साउदीमा राम्रो काम गरेका थिए । मलेसियामा करिब डेढ वर्षदेखि राजदूत खाली थियो । परराष्ट्रका सहसचिव डा. निरन्जनमान सिंह बस्न्यात फर्केपछि राजदूत नियुक्ति हुन सकेको थिएन ।

युएईमा ढकाल

सरकारले नेपाली कामदार रहेको मुलुक युनाइटेड अरब इमिरेट्समा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई नियुक्तिको सिफारिस गरेको छ । त्यहाँ पनि करिब तीन वर्षदेखि राजदूत खाली थियो ।

परराष्ट्रका सहसचिव धनन्जय झा फर्केपछि राजदूत अभावमा लामो समय अधिकृत तहका कर्मचारीले त्यो दूतवाास कार्यबाहक भएर काम चलाएका थिए । परराष्ट्र मन्त्रालकयो पुरानो परम्परालाई तोडेर वरिष्ठताको आधारमा उनको नाम मन्त्रालयले सिफारिस गरेको हो ।

परराष्ट्र मन्त्रालयमा सहसचिवको रुपाम आएका ढकाल भारतमा नियोग उपप्रमुख थिए । त्यहाँ राजनीतिक मामिला हेर्ने उपसचिवसँग विवाद भएपछि कार्यकाल अघि नै फर्काइएका थिए । वरिष्ठतामा उनी माथि भएपनि यसअघि मिसनबाट फर्केर मन्त्रालय बसेको आधारमा सिफारिस गर्ने प्रचलन थियो । अहिले पनि अधिकांश सहसचिवले त्यही अनुरुप हुनुपर्ने भन्दै आएका थिए ।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू