अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

पत्रकारितासित सम्बन्धित रहेका मुलुकी ऐन एवं गोपनीयता हकसम्बन्धी ऐन नियम संशोधन गर्न सकिने सभामुख महरा

बिआरटीनेपाल २०७५ असोज ७ गते १०:१८ मा प्रकाशित

सभामुख महराले पत्रकारितासित सम्बन्धित रहेका मुलुकी ऐन एवं गोपनीयता हकसम्बन्धी ऐन नियम संशोधन गर्न सकिने बताउनु भयो।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई सम्बोधन गर्दै सभामुख महराले प्रसारण पत्रकारिताको विकासमा नेपाल टेलिभिजनको अग्रणी भूमिका रहेको चर्चा गर्नुभयो ।

पत्रकारिता पेशा नै जोखिम पूर्ण रहेको भन्दै उहाँले नयाँ इतिहास रचना गर्दा आउने जोखिमलाई सामाना गर्न सकिएमा मात्र सफलता प्राप्त हुने वताउनु भयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता क्षेत्र विभिन्न किसिमबाट जोखिममा पर्ने चर्चा गर्दै जोखिममा परेका अवस्थामा राज्यले संरक्षण गर्नुपर्छ भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापा मगरले मुलुकी ऐनलाई संशोधन गर्न माग गर्दै महासङ्घले पेशागत मर्यादा र हकहितका पक्षमा निरन्तर पैरवी गर्र्दै आएको बताउनुभयो ।

कार्यक्रममा यस वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका समाचार सम्पादक सुरेन्द्र पौडेल, वरिष्ठ सहायक क्यामराम्यान शिव पँगेनी तथा सप्तरी संवाददाता श्यामसुन्दर यादवलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

स्वर्गीय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित सो पुरस्कारको राशि रु ५१ हजारसहित प्रमाणपत्र रहेको छ । तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित उहाँहरुको विसं २०६३ असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो ।

यसैगरी कार्यक्रममा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक दीपा गौतम, अपरेशन महाशाखा निर्देशक रेणु थापा, कार्यकारी समाचार सम्पादक नवराज पोखरेल र वरिष्ठ भाषाविद् बाबुराम तिमिल्सिनालाई सम्मान गरिएको थियो ।
साथै कार्यक्रममा कार्यकारी समाचार सम्पादक पुष्पहरि क्याम्पाराई सम्मान गरिनाका साथै प्रतिष्ठानद्वारा स्थापित शशि चालिसे स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ क्यामराम्यान पुरुषोत्तम घिमिरे, जयप्रकाश चौधरी स्मृति पत्रकारिता पुरस्कार सङ्गीता पन्त र वीरेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार दृश्य सम्पादक शतिश कोइराललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू