अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

न्यूह्यामसरमा खुल्ला टेनिस प्रतियोगिता सम्पन्न

माधव गुरुङ, न्यूह्यामसर २०७५ असोज ७ गते ९:३८ मा प्रकाशित

अमेरिकाको न्यूह्यामसर राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुको छाता सङ्गठन न्यूह्यामसर नेपाली समाज (एनएचएनसी) ले खुल्ला टेनिस प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ । प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलको समूहतर्फ किरण हुमागाँई र वीर शाहले उपाधि हासिल गरेका छन् । उनीहरूले रविन थापा र अनिल थापालाई ६–२, ७–५ को सोझो सेटको अन्तरले पराजित गरेका हुन् । यसै गरी कृष्ण गिरी एकल तर्फ मनिष हुमागाँईलाई ६–४, ६–३ को सोझो अन्तरले पराजित गर्दै विजेता बनेका छन् । विजेता तथा उप विजेता खेलाडीहरूलाई न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङ तथा महासचिव रामचन्द्र भण्डारीले ट्रोफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यसै गरी सहभागी सम्पूर्ण खेलाडीहरूलाई पनि अध्यक्ष गुरुङ र महासचिव भण्डारीले प्रमाणपत्र वितरण गरेका थिए । यसै गरी फाइनल खेल सम्पन्न गर्ने चेयर एम्पायरहरु सुनिल पोखरेल र रविन थापा, सेमिफाइनल खेल सम्पन्न गर्ने चेयर एम्पाएरहरु किरण हुमागाँई, वीर शाह र हर्कबहादुर गुरुङ एवं एसिस्टेन्ट एम्पायरहरु गोविन्द गुरुङ, दिनेश गुरुङ र विनित शाहलाई पनि अध्यक्ष गुरुङ र महासचिव भण्डारीले प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा न्यूह्यामसर राज्यका दूईदर्जनबढी खेलाडीहरूको सहभागिता रहेको थियो ।

विजयी खेलाडीहरूलाई ट्रोफी तथा प्रमाणपत्र प्रदान गर्दै न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले टेनिसलगायतका खेलकुद प्रतियोगिताले प्रवासमा आपसी सद्भाव, भाइचारा, सम्मान र सहयोगको वातावरण सिर्जना भएको बताए । ‘प्रतियोगिताको अर्थ जित्नु वा हार्नु भन्ने मात्रै होइन’ उनले भने ‘यसले हामीबिच मित्रता र सहकार्यको वातावरण बनाएको छ ।’ न्यूह्यामसर नेपाली समाजले हरेक वर्ष विभिन्न खेलकुदको कार्यक्रम गर्दै आएको छ । 

सम्बन्धित सामग्रीहरू