अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

बिआरटीनेपाल २०७५ भदौ ३० गते २१:१३ मा प्रकाशित

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । ‘परिवारले दुईवटै बालिका दुई साताअघि बलात्कृत भएको जानकारी दिए’, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने, ‘परिवारले दिएको जानकारीका आधारमा शनिबार नै आरोपित व्यक्तिलाई पक्राउ गरिसकिएको छ ।’ विष्टलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विष्टले भदौ १५ गते शुक्रबार दुवै बालिका स्कुलबाट घरतर्फ फर्कने क्रममा मिठाई दिने भन्दै फकाएर घरमा लगी बलात्कार गरेको परिवारले आरोप लगाएको छ । ‘१५ दिनअघि नै स्कुलबाट घर फर्किंदा छोरीहरूमाथि बलात्कारको घटना भएको रहेछ’, एक बालिकाकी आमाले भनिन् । ‘घरमा भन्यो भने मारिदिन्छु भन्दै डर देखाएको रहेछ’, दुवै बालिकाले डरका कारणले दुईसातासम्म घटना लुकाएर राखेकाले ढिलो घटना बाहिर आएको परिवारले जनाएको छ ।

अर्की बालिकाकी आमाले भनिन्, ‘उनीहरू डराएर बाहिर कहीं भन्न सकेनन् । मैले थाहा पाएपछि बल्ल प्रहरी कार्यालयसम्म पुगेकी हुँ ।’ विष्ट सधैं घरमा आइरहने र परिवारसँग समेत नजिकका मानिस भएको उनले बताइन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू