अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

देउवा र पौडेललाई एक हुन जिल्ला सभापतिकाे आग्रह

नयाँ पत्रिका दैनिक २०७५ असार ६ गते २१:१२ मा प्रकाशित

काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई एक ठाउँमा उभिन भनेका छन् । हेटौँडामा जारी राष्ट्रिय भेलामा उनीहरूले कम्युनिस्ट मिलेपछिको चुनौती सामना गर्न दुई नेता एक भएरै जानुपर्ने सुझाव दिएका हुन् ।

मङ्गलवार ३८ जिल्ला सभापतिले धारणा राखेका छन् । संस्थापन पक्षनिकटले नेतृत्वको बचाउमा तथा पौडेल र सिटौला पक्षले नेतृत्वको आलोचना गर्दै सुझाव राखेका थिए । गुटबन्दी मौलाउँदा पार्टीको तल्लो तहसम्मले राम्रोसँग काम गर्न नसकेको, सङ्घीय संरचनाअनुसार पार्टीका संरचना नबन्दा निर्वाचनमा पराजय बेहोर्नुपरेको, पार्टी सरकारमा हुँदा प्रभावकारी काम गर्न नसकेको, प्रधानन्यायाधीशविरुद्ध महाअभियोग, अख्तियार प्रमुख प्रकरण, आइजिपी प्रकरण, राजदूत नियुक्तिजस्ता विषयमा पार्टी नेतृत्वले गल्ती गरेको भन्दै सभापतिहरूले नेतृत्वको आलोचना गरे । तर, संस्थापन पक्षका सभापतिहरूले भने निर्वाचनमा अन्तर्घात हुँदा पराजय बेहोर्नुपरेको, जिल्लामा सहयोग नपाएको जस्ता गुनासो गरे ।

‘जिल्ला सभापतिहरूले वर्तमान चुनौती सामना गर्न नेताहरू एकढिक्का भएर जानुपर्ने सुझाव दिनुभएको छ । बलियो काँग्रेस बनाउन जागरण अभियान, निर्वाचनमा भएका अन्तर्घात छानबिन, तल्लो तहका संरचना निर्माण, कम्युनिस्ट सरकारप्रति सतर्क रहनुपर्नेसहितका विषय उठाउनुभएको छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पार्टी रूपान्तरण गरेर जानुपर्छ । यसका लागि सभापति र नेता एक ठाउँमा उभिनुपर्छ भन्ने भावना जिल्ला सभापतिहरूले प्रकट गर्नुभएको छ ।’

आठ युवाको दबाब : छिटो महाधिवेशन गरौँ
काँग्रेसका आठ युवा नेताले दुई महिनाअघि केन्द्रीय समितिको समीक्षा बैकठमा पेस गरेको पार्टी सदृढीकरणको झन्डै ५० पृष्ठ लामो आगामी कार्यदिशा केही परिमार्जन गर्दै जिल्ला सभापतिहरूलाई बाँडेका छन् । चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले सबै सभापतिहरूलाई बाँडेका हुन् । यसअघि यो समूहमा सात सदस्य रहेकोमा किरण यादव थपिएकी हुन् ।

निर्वाचनमा बेहोर्नुपरेको पराजयपछि पार्टीलाई सुदृढ गर्दै कम्युनिस्टसँग बलियो प्रतिस्पर्धा गर्ने पार्टी बनाउन सङ्गठन, विधानसहितका विषयमा पार्टीले प्रस्ट पार्नुपर्ने भन्दै उनीहरूले महासमिति हुँदै छिटो महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

विधिसम्मत रूपमा पार्टी सञ्चालन, जिल्ला सभापतिको भेलापछि सबै स्थानीय तह र प्रदेशमा पार्टीको पुनर्जागरण अभियान, छुवाछुत, विभेद, पछौटेपन अन्त्यका लागि सामाजिक आन्दोलन, जनतासम्म पुग्ने कार्यक्रम गर्नुपर्ने माग पनि उनीहरूको छ ।

सभापति वक्ता, पदाधिकारी र केन्द्रीय सदस्य श्रोता
प्रायः केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वक्ता हुने र अरू नेता श्रोता हुने भए पनि काँग्रेसको जिल्ला सभापति भेलामा केन्द्रीय नेता श्रोता भएका छन् । जिल्ला सभापतिहहरूले पार्टीले किन हार्नुपर्‍यो, अब सङ्गठन सुधारका लागि के गर्नुपर्छ भन्ने विषयमा दिएका सुझाव केन्द्रीय नेताले सुनेका हुन् ।

सम्बन्धित सामग्रीहरू