अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

रेल काठमाडौं पुर्‍याउन चीन सहमत, लगानीको टुंगो आज

नयाँ पत्रिका दैनिक २०७५ असार ६ गते २१:०७ मा प्रकाशित

चिनियाँ रेलको टुंगो आज : रेल काठमाडौं पुर्‍याउन चीन सहमत, तर लगानी कसको र कति भन्ने विषय अझै अस्पष्ट

उत्तरी रेल काठमाडौं पुर्‍याउने विषयमा चीन र नेपाल सैद्धान्तिक रूपमा सहमत भएका छन् । तर, लगानी कसको हुने भन्ने विषयमा टुंगो आज मात्र लाग्नेछ । चीन भ्रमणको दोस्रो दिन बुधबार प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटमा रेलको विषयमा पनि संवाद भएको थियो । तर, लगानी कसको भन्ने विषयमा टुंगो लागेको छैन ।

रेल काठमाडौं पुर्‍याउन चीन सहमत छ । प्रधानमन्त्री ओलीसँगको भेटमा राष्ट्रपति सीले भने, ‘बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको छ । काठडमाडौं टाढा छैन, के गर्नुपर्छ, छलफल गर्न चीन तयार छ ।’ रेल काठमाडौं पुर्‍याउन चीनले सम्पूर्ण रूपमा अनुदान नदिने उनको भनाइले संकेत गरेको छ ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि रेल काठमाडौं पुर्‍याउन चीन सहमत भएको स्पष्ट पारेका छन्, तर लगानी कसको भन्ने विषयमा उनी आफैँ पनि अस्पष्ट छन् । ‘हामीले चीनसँगको सम्बन्धलाई महत्वमा राखेका छौँ, सहयोग त्यसपछिको कुरा हो,’ उनले भने, ‘पूर्वाधार, कनेक्टिभिटी, क्रसबोर्डर ट्रान्समिसन लाइन र उत्तर–दक्षिण रेलमार्गका विषयमा एकतर्फी परनिर्भरता हटे हुन्थ्यो भन्ने हिसाबले कुरा राखेका छौँ, हाम्रो भनाइलाई चिनियाँ राष्ट्रपतिले सकारात्मक रूपमा लिनुभएको छ ।’ मन्त्री ज्ञवालीका अनुसार रेलको पूर्व सम्भाव्यता अध्ययन अगस्टमा सक्नेगरी समझदारी हुँदै छ । त्यसपछिको डेढ वर्षमा डिपिआर तयार गर्ने र पाँच वर्षभित्र रेल काठमाडौं ल्याउने तयारी छ ।

सम्बन्धित सामग्रीहरू