अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

केपी ओली र भारतको सम्बन्ध

रामप्रसाद खनाल २०७५ वैशाख २७ गते ९:३७ मा प्रकाशित

केपी ओली र भारतको सम्बन्धको कुरा गर्दा एउटा पुरानो गीत याद आउँछ:
सौ साल पहेले मुझे तुम्से प्यार था
मुझे तुम्से प्यार था
आज भी हे और कल भी रहेगा !
ओली र भारतलाई कसैले छुट्याएर हेर्न खोज्छ भने त्यो दृष्‍टि दोष मात्र हो । यो सम्बन्ध अत्यन्त गाढा छ ।

हाम्रो गाउँ गुल्मी धरम्पानी मैनडाँडा, रून्जाकोट र मान्कोटको खर्याहा सँग जोडिएको र विविधताले भरिएको गाउँ हो । दमाई, कामी, सार्की, कुमाल, कुँवर, छेत्री, बाहुन सबै जात जाती बस्ने यो गाउँ र यहाँ वरपर अचम्मको सदभाब छ । सबै मिलेर बस्छन । कहिल्यै केही कुरामा खास समस्या आएको मलाई थाहा छैन ।

हाम्रो घर भन्दा अलिकति तल सार्की बस्ती छ । त्यहाँ एउटा ज्वाँगे टोल छ । ज्वाँगे बुढा बा र उनका छोरा साइँला जो मस्त रक्सी पिउने अनि रिस उठेको कोही छ भने गाली गर्ने गर्थे । भोलि पल्ट जसलाई गाली गरेको उनकै घरमा गएर “बाराजु हिँजो मैले रक्सी खाएका बेला तपाईँलाई बेस्सरी गाली गरेँ रे ! मलाई माफ गरिदिनुपर्‍यो” अनि जसले उनको गाली पाएका थिए उनले भन्थे “गर्ने बेलामा चिच्याई चिच्याई गाली गरिस् अहिले माफी माग्छस्” ज्वाँगे बुढा बा र उनका छोरा साइँला खुट्टा समाएर ढोग्थे र भन्थे “गाई खानी बाराजु, मैले जानी जानी गाली गरेकै होइन तपाईँलाई, रक्सी खाएका बेलामा एकाउन्न बाउन्न, मैले केही थाहा पाउन्न” भैगो भन्थे गाली पाउनेले माफी दिन्थे । त्यही बाटो माथि तिर गएर दुई घण्टा पछि रक्सी खाएर फर्किँदा फेरी गाली दोहोर्याउँथे, अनि फेरी गाली सुन्नेले यिनीहरूको “एकाउन्न बाउन्न, रक्सी खा बेला मैले केही थाहा पाउन्न” सबैले पचाउँथे ।

ज्वाँगे साईला त अझ रमाइला, रक्सी खाए, गाली गर्दै आए, जसलाई गाली गर्दैछन उ भेट हुन साथ अर्कोलाई गाली गर्‍या हो मैले तपाईँलाई होइन है भन्न भ्याउँथे । अझ त्यतिले नपुगेर आफ्नै श्रीमतीलाई गाली गर्दै जान्थे साइँला दाइ । तिखुले सार्की बा र गहिराका बोँगे बा को पनि कहानी उस्तै उस्तै थियो ।

नाकाबन्दीका बेला मोदी र भारतलाई गर्नु सम्म गाली गरेर प्रखर राष्ट्रबादी भएका सम्माननिय प्रधानमन्त्री केपी ओली चुनाव अघि सम्म भारतलाई सबक सिकाउने बताउँदै थिए । सोझा इमान्दार नेपाली जनताले केपी ओली जस्तो अडान भएको नेता भन्दै तारिफ मात्र गरेनन चुनावमा अच्छा तरिकाले भोट पनि हाले, उनकै उखान टुक्कामा ताली बजाए, हाँसे, नाचे । चुनावमा जिताए पनि । चुनाव जिते पछि केपी ओलीको ताल हाम्रो गाउँका तिनै ज्वाँगे बुढा बा, साइँला दाइ, बोँगे बा र तिखुले सार्की बा कै जस्तो देखियो । “एकाउन्न बाउन्न, रक्सी खा बेला मैले केही थाहा पाउन्न” को सट्टा केपी ओली ले अलिकति फेरेर भन्न थालेको आभास हुनथालेको छ कि “एकाउन्न बाउन्न, मैले के बोलेँ थाहा पाउन्न” ।

चुनाव जित्न साथ प्रधानमन्त्री नबन्दै सुस्मा स्वराजलाई काठमाडौँ बोलाएर केपी ओलीले के के बिन्ती चढाए सबैले देखेकै हो । त्यस पछि उनी आफै भारतको राजकीय भ्रमणमा गएर के के गरे, कसरी शरण परे त्यो पनि कसै बाट छिपेको छैन । अहिले एक महिना नबित्दै फेरी नेपाललाई मोदीमय नेपाल बनाउने र मोदीको चाकडीमा दुनियाँलाई सास्ती दिँदै जनकपुर देखी मुस्ताङ हुँदै काठमाडौँ सम्म केपी महाराजले जे जे गरी बक्सिँदैछ यो छिमेकी देश भारतका प्रधानमन्त्रीको भ्रमण मात्र नभएर यहाँ भित्र बहुत कुछ खेल छ । भारतले लिन बाँकी सबै कुरा केपी ओलीको करकमलबाट लिन चाहन्छ भन्ने कुरा राजनीतिका सामान्य सिद्धान्त बुझ्ने जो कसैलाई पनि थाहा छ ।

एमालेका हरेक केन्द्रीय नेता र वास्तविक कार्यकर्तालाई सोध्नुस् केपी को हुन भनेर । सबैले भन्नेछन एमाले भित्रका जमाना देखीका प्रखर भारतबादी नेता हुन ओली । भारतको नजरमा एमाले भित्र धेरै भारतबादी भए पनि केपी ओली भन्दा निकट मितज्यू अर्को कोही छैन भारतको, त्यो सत्य हो भन्ने कुरा २०५० सालको महाकाली सन्धि प्रकरण बुझ्नेहरुका लागि काफी छ । यदि महाकाली बिर्सिसक्नुभएको छ भने घनश्याम भुसाल, योगेश भट्टराई, रबिन्द्र अधिकारी, हरि रोक्का हुँदै बामदेब गौतम सम्मलाई सोध्नुस् स्पष्ट थाहा पाउनुहुने छ । यसो गुगल गरे पनि बहुत कुछ भेट्नुहुने छ ।

केपी ओली र भारतको सम्बन्धको कुरा गर्दा एउटा पुरानो गीत याद आउँछ:
सौ साल पहेले मुझे तुम्से प्यार था
मुझे तुम्से प्यार था
आज भी हे और कल भी रहेगा !

ओली र भारतलाई कसैले छुट्याएर हेर्न खोज्छ भने त्यो दृष्‍टि दोष मात्र हो । यो सम्बन्ध अत्यन्त गाढा छ ।

हामीले भुल्नै नहुने एउटा कुरा के छ भने मोदी भारतका प्रधानमन्त्री हुन र उनले भारतीय हितका कुरा गर्छन् काम गर्छन् । जे जसरी भारतलाई फाइदा पुग्छ उनले गर्ने त्यही हो । नेपालका हितमा, नेपालको लागि फाइदा हुने कुरा गर्ने काम त नेपाली प्रधानमन्त्री को हो । नेपालीले मोदी सँग होइन ओली सँग आशा राख्नुपर्छ । अहिलेका ओली हुन वा पहिलेका अरू प्रधानमन्त्री जो सुकै हुन, खुलेर कुरा गर्ने, यसो गरौँ भनेर तर्क र अडान राख्न सक्ने, दुवैको लागि यसरी वन वन सिचुएसन हुन्छ, हुनसक्छ भनेर प्रस्तुत हुन नसक्नु, त्यस्तो भिजन भएको नेता प्रधानमन्त्री नेपालमा नहुनुनै नेपाली र नेपालको लागि दुर्भाग्यको कुरा हो । अहिले पनि हुने त्यही हो मोदी फर्माउछन, ओली डराउँछन । नेपालका लागि हातलाग्यो शून्य, भारतकालागी फाइदै फाइदा हुने हो । मोदी कम्ताका बाठा छैनन् यिनले केपीलाई हात लिइसकेका छन् ।

यथार्थमा केपी ओली उखान टुक्का मास्टर हुन । बोल्ने हँसाउने कुरामा उनलाई उछिन्ने अरू कोही छैनन् । मत उनको उखान टुक्का र प्रबचन शैलीको फ्यान हुँ । उनको जति तारिफ गरे पनि कम हुन्छ । आजकल म हाँस्यब्यग कार्यक्रम र मेरा थुप्रै कलाकार साथीहरूको अभिनय होइन केपी ओलीको भाषण र अभिनय हेर्छु सुन्छु । उनी वास्तविक कलाकार हुन । जोक्कर हुन । यिनका अँगाडी कुनै जोक्कर टिक्न सक्ला जस्तो मलाई लाग्दैन । मह जोडीलाई केपी ओलीले धेरै पछाडि पारिसकेका छन् । धुर्मुस र सुन्तली हँसाउन छोडेर सामाजिक काममा किन लागे भन्या बल्ल बुझिंदैछ । आफ्नो अस्तित्व जोगाए हास्य क्षेत्र छोडेर धुर्मुस र सुन्तलीले, राम्रो गरे । अब कुन दिन देखी शिवहरी पौडेल, किरण केसी, दीपक दीपा, जितु, माग्ने बुढा देखी, निरज, बल्छी, जिग्री सिग्री सबै केपीका अंगाडी लम्पसार परेर सकिएन प्रभु तपाईँ सँग भन्ने हुन थाहा छैन ।

लेखेरै राख्नुस् – यिनको उखान टुक्का र हाँस्यब्यङ्ग बाहेक मुलुकले केही पाउने छैन बरु बचे खुचेको भारतलाई बुझाएर यिनी स्वर्ग प्रस्थान गर्ने छन् । गिरिजा र शेरबहादुर भारतबादी हुन भन्ने कुरा कसलाई पो थाहा नहोला र तर केपी यिनीहरूका पनि बाउ निस्के । मोदीमय नेपाल हेर्दा त्यही देखिँदैन र ?? केपी ओलीले भनेझैँ चुला चुला ग्यास पनि पुग्न सक्छ, हावाबाट बिजुली निस्किन पनि सक्छ, पूर्व पश्चिम रेल, सुरुङ्ग मार्ग चल्न पनि सक्छ तर कौडी न साडी बजार बजार दौडी गरेर ती सबै कुरा कसरी सम्भव छ अहिले ??

केपी ले आफ्नै अर्थमन्त्रीको श्वेत पत्र पढेकी पढेनन ? पढेको भए यस्ता हावादारी कुरा नगर्नुपर्ने हो । सिङ्गो राज्यले एउटा खेलकुद मैदान बनाउन सक्दैन, धुर्मुस र सुन्तलीले बस्ती बसाउने देखी खेलकुद मैदान सम्म बनाइदिनुपर्ने देशमा केपी ओलीका कुरा सुन्दा मैले मेरो गाउँका ती ज्वाँगे बुढा बा र उनका छोरा साइँला, अनि तिखुले सार्की बा र गहिराका बोँगे बा लाई पनि झल्झली सम्झिरहेको छु । लाग्छ यिनले पनि उनीहरूले जस्तै मोदीलाई त्यही भाषामा उत्तर फर्काउँछन, पारा उही हो । तिम्रो राष्ट्रबाद, तिम्रो अशलियत थाहा नपाउनेहरु र तिम्रो आरती उतार्नेहरुको पो दया लाग्छ ! बिचराहरू देख्दा भन्न मन लाग्छ – दास प्रथा – जिन्दाबाद जिन्दाबाद !! ओली राष्ट्रबाद – जिन्दाबाद जिन्दाबाद !

(नोट: लेखक खनाल अमेरिकाबाट प्रकाशित हुने लोकप्रिय अनलाइन डिजिटल पत्रिका नेपाल मदर डट कमका प्रधान सम्पादक पनि हुनुहुन्छ – सम्पादक)