अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

अनुदानमा आएको मोटिभेसन व्हीलचेयर एनजीओबाटै बिक्री

बिआरटीनेपाल २०७५ वैशाख २३ गते ८:५३ मा प्रकाशित

काठमाडौँ । नेपालमा शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूका जीवनयापन सहजीकरण होस् भनेर व्हीलचेयर फाउन्डेसन, मोटिभेसन यूकेसहितका अन्तर्राष्ट्रिय दाताहरूले अनुदानमा पठाएको व्हीलचेयर नेपालका एनजीओहरूले बेच्ने गरेको पाइएको छ ।

काभ्रेको सांगामा रहेको स्पाइनल इन्जुरी रिह्याब सेन्टर (एसआईआरसी)का कर्मचारीहरूले मोटिभेसन यूकेबाट पठाइएका १०० थानभन्दा बढी व्हीलचेयर बेचेकाे खबर बाहिर आएपछि यस कुराको खुलासा भएको हो ।

स्पाइनल सेन्टरका कर्मचारीहरू विनोद तिम्सिना, उदय अधिकारी र छत्र गुरुङले शनिवारका दिन पारेर १५ वटा मोटिभेसन व्हीलचेयर गाडीमा लोड गरेर बेच्न लाँदै गर्दा रिह्याबमा रहेका एक बिमारीले भिडियो खिचेपछि यो प्रकरण बाहिर आएको थियो । स्मरणीय छ, शनिवार स्पाइनल रिह्याब सेन्टरमा औपचारिक गतिविधि कम हुने गर्छ । रिह्याबमा रहेका बिमारीहरू पनि आराम गरिरहेका वा अन्य अतिरिक्त क्रियाकलापमा संलग्न हुने गर्छन् ।

एसआईआरसीले अनुदानका व्हीलचेयर चोरी र बिक्री प्रकरण थामथुम पार्न तीनै जना कर्मचारीबाट राजीनामा मागेर ५ देखि ८ लाख रुपैयाँ ‘गोल्डेन ह्यान्सेक’का नाममा भुक्तानी गरी उनीहरूलाई जागिरबाट निकालेको छ ।

यसरी हुन्थ्यो बिक्री
एसआइआरसीमै कार्यरत एक कर्मचारीले गोपनियता कायम राख्न अनुरोध गर्दै दिएका सूचनाअनुसार उनीहरूले मोटिभेसनका व्हीलचेयर चोरेर वा त्यहीका उच्च अधिकारीहरूको मिलेमतोमा झिकी बालुवाटारस्थित एक सर्जिकल सेन्टरमा पुर्‍याएर बेच्ने गरिएको थियो ।

उक्त सर्जिकल सेन्टरले २५ देखि ३६ हजार रुपैयाँसम्म एक्टिभ व्हीलचेयर बेच्ने गरेको प्रमाण अपांगता सरोकारलाई प्राप्त भएको छ ।

मोटिभेसन यूकेबाट अनुदानमा आएका डब्लूएम-थ्री (थ्री व्हील व्हीलचेयर) र डब्लूएम-फोर (एक्टिभ फोर व्हील व्हीलचेयर) सर्जिकल सेन्टरहरूमा पुर्‍याई बेच्ने गरिएको एक व्हीलचेयर अभियन्ताले बताए ।

“म रिह्याबमा हुँदा सिस्नेरी-हेटौंडा बस व्यवसायी समितिका नाममा कार्की थरका एक बिमारीलाई ४२ हजार रुपैयाँमा सम्म थ्री व्हील व्हीलचेयर बेचेका मैले देखेँ” उनले भने।

तर, एसआइआरसीका एक जना कर्मचारी भने मोटिभेसनसँगकै सहमतिमा मर्मतसम्भार/तयारीका लागि न्यून शुल्कमात्र लिने गरिएको दाबी गर्छन् ।

यो प्रकरण बाहिर आउना साथ सर्जिकल हाउसहरूमा बिक्री भइरहेका मोटिभेसनका व्हीलचेयरहरू अहिले रातारात लुकाइएको छ ।

व्हीलचेयर बिक्री प्रकरणमा संलग्न कर्मचारीहरूलाई कानुनी कारबाही गर्नुका सट्टा रातारात राजीनामा गरेर प्रकरण थामथुम गर्न लगाउनुले एसआइआरसीकै उच्च तहका कर्मचारी, सञ्चालक समितिका पदाधिकारीका समेत संलग्नता भएको आशङ्का गरिएको छ ।

स्मरणीय छ, एसआइआरसी एक गैरमुनाफामूलक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था हो, जसले कुनै नाफामूलक व्यापारिक क्रियाकलाप गर्न पाउँदैन ।

सरकारी अनुदानः बिमारीलाई हैन कर्मचारीका खल्तीमा
पछिल्लो समयमा सरकारले स्पाइनल इन्जुरीका बिमारीका लागि १ लाख रुपैयाँ उपचार खर्च भनेर दिने गरेको छ । तर, त्यहाँका कर्मचारी र सर्जिकल हाउसका मिलेमतोमा ५२ हजार रुपैयाँ लिने गरिएको पाइएको छ ।

Bikriअपांगता सरोकारलाई एक पीडित बिमारीले दिएको जानकारीअनुसार व्हीलचेयरबापत ३६ हजार र कुसनबापत १६ हजार रुपैयाँ लिने गरिएको छ ।

एसआइआरसीमा जाने स्पाइनल इन्जुरी भएका बिमारीका उपचार खर्च बालुवाटारस्थित स्वास्थ्य प्लस नामक सर्जिकल हाउसबाट ५२ हजारका बिल बनाउने गरिएको ती कर्मचारीले बताए ।

लामाे समयदेखि नेपालमा विदेशी दातृ संस्थाका व्हीलचेयर व्यवस्थापन गर्दै आएका राष्ट्रिय अपाङ्ग पुनर्स्थापना केन्द्रका पूर्वअध्यक्ष राकेश हमाल यसरी अनुदानमा पठाइएका व्हीलचेयर खुलेआम बिक्री हुँदा समग्र नेपालकै इज्जतमा दाग लाग्ने बताउँछन ।

नेपालमा हाल करिब ५ लाख सक्रिय व्हीलचेयर प्रयोगकर्ता छन् । सडक दुर्घटना, अग्लो भवनबाट खसेर हुने दुर्घटना वा अन्य प्रकोपका कारण वार्षिक ५ सयदेखि एक हजार स्पाइनल इन्जुरीका बिमारी थपिने गरेका छन् ।

नेपालमा हाल मोटिभेसन युके, व्हीलचेयर फाउन्डेसन, ह्यान्डिक्याप इन्टरनेशनल, ल्याटर डे सन्त च्यारिटी ट्रस्ट (एलडीएससी)सहितका अन्तर्राष्ट्रिय एनजीओहरूमार्फत वार्षिक २ देखि ३ हजार थान अनुदानका व्हीलचेयर आउने गरेका छन् । जुन व्हीलचेयर अपाङ्ग पुनर्स्थापना समाज, रोटरी इन्टरनेसनल नेपाल, एसआइआरसीसहितका एनजीओहरूमार्फत बाँडिन्छन् ।

यसबाहेक केही भारतीय र चिनियाँ व्हीलचेयर सर्जिकल सेन्टरहरूमार्फत व्यापारिक रूपमै आयात भई बेच्ने गरिएको छ।

सरोकारबाट साभार

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू