अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

सम्माननीय प्रधानमन्त्री ओलीको मित्रराष्ट्र भारतको भ्रमण प्रभावकारी: अध्यक्ष भवन भट्ट

बिआरटीनेपाल २०७४ चैत २७ गते ११:०६ मा प्रकाशित

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमणका क्रममा गैर आवासीय नेपालीहरूको प्रतिनिधित्व गर्दै भारत जानुभएका सङ्घका अध्यक्ष भवन भट्टले भ्रमण छोटो, प्रभावकारी र फलदायी भएको बताएका छन् ।

भारत भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यावसायिक फोरमको प्रतिनिधिमण्डलस्तरीय बैठकमा गैर आवासीय नेपाली सङ्घको नेतृत्व गर्दै अध्यक्ष भट्ट सहभागी थिए । 

भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू भारतीय उद्योग वाणिज्य महासङ्घ, भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा समेत सहभागी भई अध्यक्ष भट्टले नेपालमा लगानी बढाउन र घोषित कार्यक्रमलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

मित्र राष्ट्र भारतको यो भ्रमण अत्यन्त उपयुक्त समयमा भएको चर्चा गर्दै अध्यक्ष भट्टले मुलुकमा आर्थिक वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न सकारात्मक वातावरण बनिसकेको अवस्थामा भारतीय लगानीकर्ताहरू समेत नेपालमा लगानीका लागि इच्छुक रहेको पाइएको भनेका छन् ।

अध्यक्ष भट्टले नेपाल भारतबिचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउन भारत सकारात्मक देखिएको बताउँदै भ्रमण दुवै मुलुकको निजी क्षेत्र बिचको सम्बन्ध सुमधुर बनाउन र आपसी सहकार्यमा विश्वास दिलाउने हिसाबले फलदायी भएको बताए ।

भ्रमणमा वर्तमान परिस्थितिमा क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा देखा परेका परिवर्तनहरूलाई आत्मसात् गर्दै त्यसबाट लाभ उठाउन छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रूपमा स्थापित भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको र भारतले समेत नेपालमा राम्रो अवसर प्राप्त गर्ने विषयमा छलफल भएको अध्यक्ष भट्टले बताए ।

भारतमा रहँदा अध्यक्ष भट्टले प्रधानमन्त्रीसँगको औपचारिक समारोहमा सहभागी हुनुको साथै नेपाल भारतबिचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि भारतीय निजी क्षेत्रसँग भेटवार्ता गरे । साथै विभिन्न राजदूतद्वारा आयोजित रात्रीभोजमा समेत सहभागी भए ।

अध्यक्ष भट्टले भारत भ्रमणका क्रममा गैर आवासीय नेपालीहरूको प्रतिनिधित्व गराउनुभएकोमा सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओली एवं नेपाल सरकारप्रति विशेष धन्यवाद व्यक्त दिएका छन् भने सङ्घ यस किसिमको सहकार्य र सहभागिताकलागि नेपाल सरकारप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि यस किसिमका कार्यहरूले निरन्तरता पाउने अपेक्षा गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू