अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

मेक्सिकोमा शक्तिशाली भूकम्प

रासस/सिन्ह्वा २०७४ फागुन ५ गते १७:२१ मा प्रकाशित

मेक्सिको सिटी,  मेक्सिकोमा शुक्रवार अपरान्ह शक्तिशाली भूकम्प गएको समाचार छ । मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएअनुसार उक्त भूकम्प ७.२ रिक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको पुष्टि गरेको । मेक्सिकोको दक्षिणपश्चिमी सहर पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । 

ठुलो सङ्ख्यामा उद्धारकर्ता र सुरक्षाकर्मीहरू परिचालन गरिएको बताइएको छ । यसबाट भौतिक र मानवीय क्षति पनि धेरै मात्रामा भएको अनुमान गरिएको छ । तर उद्धारकार्य जारी रहेकोले क्षतिको विवरण आउन सकेको छैन । सरकारले उद्धारको काम तदारुकताका साथ गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन दिएको छ ।

मेक्सिकोमा गत वर्षमात्र पनि दुई ठुला भूकम्प गएका थिए । गत वर्ष अर्थात् पाँच महिनामात्र अघि गत सेप्टेम्बर ७ र १९ मा यहाँ ८ रिक्टरभन्दा माथिको भूकम्प गएको थियो । सो भूकम्पबाट करिब ५०० जनाको ज्यान गएको थियो भने ठुलो मात्रामा भौतिक क्षति भएको थियो । यसमा परी करिब १८ हजार घर क्षतिग्रस्त नै भएका थिए । 

त्यसको केही समयपछि मात्र फेरि शुक्रवार यो भूकम्पको धक्का महसुस भएको छ । यसले गर्दा मेक्सिकोका जनतामा ठुलो मात्रामा त्रास फैलिएको छ । उनीहरू सो भूकम्पपछि घरबाहिर बसिरहेका छन् । बारम्बारका पराकम्पनहरुले गर्दा उनीहरूमा त्रास छाएको मेक्सिको सिटीबाट प्राप्त भएका समाचारहरूमा उल्लेख छ ।

सम्बन्धित सामग्रीहरू