अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

राष्ट्रपति ट्रम्प र मुन फोनवार्ता

रासस/सिन्ह्वा २०७४ फागुन १८ गते १४:३५ मा प्रकाशित

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन–जाय–इनबीच फोनवार्ता भएको समाचार छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार बिहीबार भएको सो फोनवार्ताका क्रममा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका साथै आगामी दिनमा उत्तर कोरियाली आणविक होडलाई के कसरी कमगर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।

उत्तर र दक्षिण कोरियाका बिचको सम्बन्धमा हालैका केही दिनयता सुधार आएको पाइएको समाचार आइरहेका बेला उहाँहरूबिच भएको यस फोनवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

हालैमात्र पनि उत्तर र दक्षिण कोरियाबिच ती देशका कार्यकारी अधिकारीबिच दक्षिण कोरियामा वार्ता भएको बताइएको थियो ।

उक्त द्विपक्षीय वार्तामा अधिकारीहरूले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकुदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबिच हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा कुराकानी गरेका बुझिएको छ ।

दुई राष्ट्रपतिबिच बिहीबार भएको सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले हालैमात्र दक्षिण कोरियाले शीतकालीन ओलम्पिक खेलकुद सफलतापूर्वक सम्पन्न गरेकोले त्यसका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।

उक्त खेलकुदलाई अमेरिकाले पनि चासोपूर्वक हेरेको थियो । उक्त खेलकुदको उद्घाटनमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र समापनका क्रममा राष्ट्रपति ट्रम्पकी छोरी इभान्का ट्रम्प जानुभएको थियो ।

त्यस फोनवार्ताका क्रममा कोरियाली राष्ट्रपति मुनले उक्त ओलम्पिक खेलकुद, त्यसको समापन, सो खेलकुदका कारण उत्तर र दक्षिण कोरियाबिच बढ्दो सम्बन्ध र पछिल्लो कार्यकारी तहका अधिकारीहरूबिचको वार्तामा भएको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।

सो फोनवार्ताका क्रममा उहाँहरूबिच उत्तर कोरियालाई निशस्त्रीकरणका लागि सहमत गराउने र ऊसँग शान्तिवार्ताका लागि आवश्यक पहल गर्ने विषयमा पनि कुराकानी भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्युहाउसले भनेको छ ।

हालैमात्र पनि उत्तर कोरिया दक्षिण कोरियासँग विनाशर्त वार्ता गर्न इच्छुक रहेको कुरा बाहिर आएको थियो । तर त्यस विषयमा दक्षिणको कुनै प्रतिक्रिया भने आएको छैन ।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकुदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुस गरिएको छ ।

यसै खेलकुदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि हालै सार्वजनिक भएको थियो ।

दक्षिण कोरियामा आयोजना भएको यस शीतकालीन खेलकुदका कारण उत्तर र दक्षिण कोरियाकासाथै उत्तर कोरियाको अरू देशसँगको सम्बन्धमा पनि सुधारको सङ्केत देखिएको अनुमान गरिएको छ ।

photo: google

सम्बन्धित सामग्रीहरू