अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

गीतकार शत्न समशेर र गायक योगेश बैधलाई ‘कृपा संगीत रत्न सम्मान’

बिआरटीनेपाल २०७४ फागुन ५ गते १०:०२ मा प्रकाशित

‘सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ’कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र वरिष्ठ गायक योगेश बैधलाई सम्मान गरेको छ ।

फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने , कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान , फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णु माया लामिछाने , बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले संयुक्त रुपमा दोसल्ला ओढाउदै प्रमाण पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

सोहि अवसरमा पछिल्लो समय किड्नीमा समस्या आएपछि उपचार गराईरहेका वरिष्ठ गायक ओम बिक्रम बिष्ट ज्युलाई फाउन्डेसनको तर्फबात नगद र ५१ हजार प्रदान गरिएको थियो । गायक विष्ट अमेरिकामा रहनु भएकोले उहाको सम्मान तथा नगद सहयोग उहाको छोरा शिखर विक्रम विष्टले ग्रहण गर्नु भयोको थियो । गायक विष्टले भिडियो मार्फत उपस्थितलाइ सम्बोधन गर्दै कृपा फाउन्डेसनलाई धन्यवाद दिनु भएको थियो ।

सम्मानित सर्जकलाई सम्मान सहित समर्पित गर्दै गायक शिव लामिछानेले केहि गीत प्रस्तुत गरेका थिए । उनले रत्न शमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी , शिव अधिकारी लिखित तथा वरिष्ठ संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश बैधद्वारा स्वर दिइएको गीत सपना भुलाई सारा र एल्वर्ट सुब्बा लिखित , रोबर्ट सुब्बाद्वारा संगीतमा वरिष्ठ गायक ओम बिक्रम विष्टद्वारा स्वर दिइएको गीत म मौनतामा लाइभ प्रस्तुत गरेका थिए ।

साथै कृपा फाउन्डेसनको पहिलो वार्षिक उत्सव र गायक ओम बिक्रम विष्टज्युको जन्मोत्सव केक पनि काटिएको थियो । केक काट्दै कृपा फाउन्डेसनको निरन्तरता तथा गायक विष्टको दिर्घायुको कामना गरिएको थियो । सोहि अवसरमा सगरमाथाको आरोहन गर्ने तयारीमा रहनु भएका महिला पत्रकारको समुह First Women Journalist Everest Expedition 2018 लाई बराह ज्वेलरीको तर्फबाट नगद रु पाँच लाख प्रदान गरिएको थियो । आरोहणको तयारीमा रहेको महिला पत्रकार समुहमा रोसा बस्नेत , लक्ष्मी कार्की , कल्पना महर्जन , रोजिता बुद्धाचार्य र देउराली चाम्लिङ रहेका छन् ।

फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा ’जय नेपाल’ बोल रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने यसलाई शिव लामिछानेले गाएका छन् । गीतको भिडियोमा शिव आफै प्रस्तुत भएका छन् भने यसमा नेपालको सौन्दर्यतालाई देखाइएको छ । हिमाली तथा पहाडी भेगको रमणीय दृश्य कैद गरिएको भिडियोमा सथानीय संस्कृतिलाई पनि समेटिएको छ । गीतलाइ विनय कन्स्कारले सम्पादन गरेका हुन् भने यसलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् । गीतको छायाँकन नरेन र विनयले संयुक्त रुपमा गरेका छन् ।

यसैगरी सोहि अवसरमा कृपा अन्प्लगडका आर्टिस्टलाई रोयल्टी प्रदान गरिएको थियो भने पहिलो र दोस्रो सिजनको सफलतापछी तेस्रो सिजन छिटै आउने जानकारी पनि गराइएको थियो । साथै कृपा ब्याण्डसंगै शिवले लाइभ प्रस्तुति पनि दिएका थिए । उनले आफ्नै गीतहरु जानिन कि मैले , रेशमी घुम्टो , किन दुख्छ मुटु मेरो र चाहे माया गर या उपस्थित निम्तालु माझ प्रस्तुत गरेका थिए । कृपा फाउन्डेसनका एमडी अनुप प्रकासको संयोजकत्वमा भएको कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मीले संचालन गरेका थिए ।

रत्न शमशेर थापा – सम्मान प्रति हार्दिक धन्यवाद । यस्ता सम्मानले यो उमेरमा आइपुग्दा पछिल्लो दिनको उपलब्धिलाई सम्झाउछ भने अझै उत्साह थप्ने काम गर्छ । कृपा फाउन्डेसनले संगीत सर्जकलाई सम्मान गर्दै आफुलाई निरन्तरता दिन सकोस शुभकामना व्यक्त गर्न चाहन्छु ।

योगेश बैध – सम्मानित हुन् पाउदा निकै खुसि लागेको छ । एउटा हौसला पनि थपिएको छ । यो हौसला युवा पुस्तालाई पनि प्रदान गर्दै संगीत प्रतिको लगाव बढाउँन सक्षम हुन् , कृपा फाउन्डेसनलाई हार्दिक शुभकामना । गीतसंगीत रहर होइन आस्था हो , पुजा हो । यसलाई सम्मान गर्दै अघि बढ्न सिकौ ।

ओम बिक्रम विष्ट – म यतिबेला उपचारको क्रममा अमेरिकामा छु । मलाइ यो अवस्थामा सम्मान तथा सहयोग प्रदान गर्नु भएकोमा कृपा फाउन्डेसनलाई धन्यवाद भन्न चाहन्छु । स्वास्थ्यले साथ् दिएमा आगामी दिनमा कृपामै आएर गाउँन सकु , यहि मनोकांक्षा छ । साथै फाउन्डेसनलाइ पहिलो वार्षिकोत्सवको शुभकामना ।

शिव लामिछाने – हाम्रो संगीत प्रतिको सम्मानलाई साथ् दिने सम्पूर्ण हातलाई धन्यवाद । हामीले कृपा फाउन्डेसन मार्फत संगीतमै केहि गरौ भन्ने सोचाईका साथ् अगाडी बढेका छौ । गत वर्ष मात्र स्थापना भएको यस संस्थाले आगामी दिनमा विभिन्न सामाजिक कार्य गर्दै अगाडी बढ्ने छ भने संगीतकर्मीसंग पनि दुख सुखमा संगै रहनेछ । साथै मैले दर्शक तथा श्रोता माझ ल्याएको नयाँ गीत जय नेपाललाई पनि रुचाइदिनु हुनेछ भन्ने विश्वास छ ।

 

 

 

तस्वीरहरु: श्रीधर पौडेल र मेरोफिल्म डटकम

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू