अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

अनमोल छ जिन्दगी

कमला रिसाल २०७४ माघ २४ गते १२:११ मा प्रकाशित

छोडिदेउ यस्ता कुरा यो त के हो र,
सुख-दुख, बाधा-अड्चन आउँछन् जान्छन्
एक मुठी सास रहे सम्म
यो त सत्य हो, सत्यलाई स्विकार्नै पर्छ
फेरि जिन्दगीसँग गुनासो को के कुरा ?

सुख पनि आफ्नै, दुख पनि आफ्नै
दुखमा आत्तिनु किन ? अनि, सुखमा मात्तिनु किन?
दुखले पाठ सिकाउँछ, सुखले बाटो देखाउँछ
त्यसैले, यी त हाम्रा साथी हुन्
पराई कहाँ हुन् र ?

छोडिदेउ यस्ता कुरा
जिन्दगीमा उथलपुथल त भई नै रहन्छ,
अनमोल छ जिन्दगी फर्केर आउँदैन
बाटोले कसैलाई खोज्दैन,
जहाँ पुग्नुछ, बाटो आफैले नै रोज्नु छ

पहाड जस्तो सिङ्गो जिन्दगी,
हिँड्दा-हिँड्दै कहाँ निर खुट्टा चिप्लिन्छ
कसलाई के थाहा ?
सृष्टिको सुन्दर बगैँचा हो जिन्दगी,
त्यसैले, माली बनेर त हेर
बेरङ्ग पनि रङ्गिन हुनेछ
ओइलिएको फुलले पनि सुवास छर्नेछ ।