अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

मोडिईसकेको बाटो

कमला रिसाल २०७५ असार २३ गते १५:५४ मा प्रकाशित

जिन्दगीको हरेक पाइला-पाइलामा
म एक्लै सङ्घर्ष गरिरहँदा
कहाँ थियौ तिमी ?
ती खाल्डा खुल्डी अप्ठ्यारो मोडहरूमा
म एक्लै सफर गरिरहँदा
कहाँ थियौ तिमी ?

डुब्न त भवसागरमा संग-संगै डुबेका थियौ
तिमी पौडी खेल्न सिपालु रहेछौं
पार भयौ
म डुब्दै गए
म निसासिदै जाँदा सास फेर्न गार्‍हो हुँदा
कहाँ थियौ तिमी ?

देखेर पनि अन्देखा गर्दै भाग्यौ
म घाइते लडिरहे
तिम्रो बाटो हेर्दै बसिरहे
अनेकौँ सपनाहरू देखिरहे

तिमी आफ्नो संसारमा रमाउँदै गयौ
म बाचेर पनि पल-पल मर्दै गए
चोट दियौ घाउ गहिरिँदै गयो
म छटपटिईरहे, तडपिईरहे
त्यो अधेरी रातमा
आँखाबाट अनगिन्ती आशुका थोपाहरूले
सिरानी भिजीरहदा,
कहाँ थियौ तिमी ?

जुन बेला तिम्रो मायाको खाँचो थियो
उठ्नुको लागि तिम्रो हाथ मलाई समाउनु थियो
त्यो बेला तिमी बाटो मोडेर गयौ

अब त मेरा घाउहरू निको भइसके
म उठ्न सके, हाँस्न थाले रमाउन थाले
मेरो सुखी यो संसारमा बिथोल्न नआउ है
किन कि तिमीले जस्तै मैले पनि
बाटो मोडीसकेकी छु  ।