अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

सम्झनामा तिमी नै तिमी

कमला रिसाल २०७४ पुष २० गते १३:५८ मा प्रकाशित

मायाको न्यानो अनुभूति बोकेर
स्मृतिका छाल सँगै पौडी खेलिरहेकी छु ।

हरेक रात तिम्रो अङ्गालोमा बाधिएर
तिमी मलाई सुम्सुमाउदै
कहिले मिलनको कुरामा हसाउंदै
कहिले बिछोडका कुरामा रुवाउंदै
मायाको न्यानो महसुस गराइरहेका छौ ।

तिम्रो न्यानो स्पर्शको मजा
म पनि लिइरहेकी छु
नआउ कोही मलाई झक्झक्याउन
यति बेला उन्कै यादमा
पल-पल म रमाइरहेकी छु ।

कति मिठो छ यो याद अनि यो तृष्णा
एकैछिन कल्पनाको सागरमा डुब्न देऊ
नआउ चिहाउंन कोही यहाँं
यो अधेरी रातमा

मलाइ एक्लै बहकिन देऊ
यो मन मेरै त हो नि
यो कल्पना मेरै त हो नि
यहाँ कसैको हस्तक्षेप छैन
बाधा अड्चन् छैन
कसैले छेक्न सक्दैन
कसैले देख्न सक्दैन
उनी र म बाहेक यहाँ अरू कोही हुँदैन ।

स्वतन्त्र छु, आफैमा सीमित छु
विगतका अनगिन्ती यादहरुलाई
समाजको कुदृष्टीबाट जोगाइ राख्न
मैले सम्झनालाई नै रोजेकी छु
त्यसैले, अन्यथा केही नसोच है
न चांहदा नचाहंदै पनि
दोबाटो मै साथ छाेडेकी छु ।

सदैव मेरो दिलमा सजाइ राख्ने
मेरो जिन्दगीको मिठो उपहार हौ
तिमी मेरो साथ छैनौ
त्यसैले त,
सम्झनामा सधैँ छौ
महत्त्व त्यो चिजको हुन्छ
जुन आफू सँग हुँदैन
त्यसैले त मेरो प्रिय, तिमी अनमोल छौ
सम्झनामा केवल तिमी नै तिमी छौ ।