अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

एमाले र माओवादीको लिभिङ टुगेदरको सम्बन्ध सफल होला ?

सुनिल मणी दाहाल २०७४ पुष १५ गते २२:३५ मा प्रकाशित

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पूर्व सन्ध्यामा ठुला दुई बामपन्थीधार बिच भएको गठबन्धनको समाचारले देश विदेशका नेपालीहरू लगायत नेपाल प्रति सदभाव र कुटनितिक सम्बन्ध राख्ने विदेशी मित्र राष्ट्रहरूमा समेत धेरै चर्चा पायो । तिनै नेताहरू, त्यही आचरण, त्यही मनस्थिती र त्यही राजनीतिले अवलम्बन गरेको स्थापित संस्कारका बिच भएको गठबन्धनलाई धेरैले शङ्काको घेरामा राखेका छन् ।

यति बेला जनताले आफ्नो मत दिएका छन् , बामगठबन्धनले बहुमत पाएको छ। जनताले अबको पाँच वर्ष देशलाई सम्बृद्दी तर्फ पुर्याउनका लागी पुन विश्वास गर्दै मत दिएका हुन। अबको केही दिनमा बहुमतको स्थिर सरकार बन्ला, देश विकासका लागी स्थिर सरकार हुनु राम्रो हो र आफूले विगतमा गरेका गल्तीहरु पखाल्ने अवसर पनि हो। तर अहिले नै उत्साहित भएर बामगठबन्धन सरकारबाट धेरै अपेक्षा गरी हाल्ने अवस्था छैन। नचिनेका, नदेखेका कोही पनि होइनन्, त्यसैले राजनीतिमा मौलाएको गलत आचरणलाई सच्याई सुसंस्कृत राजनीतिको स्थापना गर्दै जनतामाझ नपुगे सम्म धेरै पत्याइ हाल्ने अवस्था पनि छैन ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पूर्व सन्ध्या देखी एमाले र माओवादीको सम्बन्ध लिभिङ टुगेदरमा रहेका जवान युवायुवतीको जस्तै छ । एक आपसमा चिन जान गर्दै माया गास्न आतुर देखिएका दुवै पार्ट्नरहरु विगतमा जानी दुस्मन थिए भने वर्तमानमा देखिएको नितीगत कार्यशैलीमा आएको बिचलनका कारण अत्यन्त विवादित रहदै आएका छन् । एउटाले जनताको बहुदलिय जनवाद त्यागेर आएको छ भने अर्काले प्रचन्डपथलाई त्यागेको अवस्था छ । दुवैले आफ्नो भित्तामा टासेका माउत्सेतुङ र लेनिनका फोटाहरुमा लागेको जालोलाई सफा गर्न छाडी सकेका छन् ।

पञ्चायती व्यवस्थाले जनतामा लादेको एक दलिय व्यवस्थाका कारण कुण्ठित भएको जनताको अधिकारलाई पुन जनता माझ फिर्ता ल्याउन हक र अधिकारको लडाइँ भएकै हो । तत्पश्चात् २०३६ को आन्दोलन हुँदै २०४६ को बहुदलीय व्यवस्था, माओवादीको क्रान्तिपछि ०६२/०६३ को आन्दोलन, संविधानमा सङ्घीयताका कुराले स्थान पाएका राजनीतिक पक्षले जनताको चेतनाको विकासमा खेलेको भूमिकाका लागी पुराना दल र तीनका नेताहरू धन्यवादका पात्र छ्न । तर , राजनीतिक हक र अधिकार पाएका जनताले लामो समय सम्म देशमा सम्बृद्दी र विकास देख्न र भोग्न पाएनन । यसको परिणाम स्वरूप नेपाली मानवीय भावनामा पद, प्रतिष्ठा र पैसाको स्वार्थी आचरणले धमिल्यायो । यसमा सबैभन्दा ठुलो दोष राजनीतिक विचारले सिकाएको स्वार्थी भावना, विभेदकारी व्यवहार अनि फरकताको महसुस गराउने प्रवृत्ति हो ।

देशमा मौलाएको भष्ट्र्चार र चरम बेरोजगारीका बारेमा हाम्रा सन्तानले जिज्ञासा र चासो राख्न थालेका छ्न । तर हाम्रो समाज र त्यस भित्र मौलाएको सस्कार नै यती दुषित भएको छ की घुस, भ्रष्टचार, अनैतिक आय आर्जनलाई निरुत्साहित पार्नु भन्दा त्यसलाई बढावा दिन्छ । कुनै वैधानिक आय श्रोत नभै गलत विधिको कमाइबाट ठड्याईएका महल तथा अप्रत्यासित रूपले परिवर्तन भएको रहन सहनलाई फलानोले क्या प्रगति गरेछ भनेर ज्यु ज्यु गर्ने पनि यही समाजका हामी पहिलो पुस्ता नै हौ।

विगत २०-२२ वर्ष देखी ठुला राजनीतिक दलहरूले आलोपालो देश विकास गर्ने अवसर पाएकै हुन । जनताले विश्वास गरेर सत्ता सञ्चालन गर्न दिए तर, जनताले दिएको मत र विश्वास बमोजिम देशको सम्बृद्दीका लागी ठुला दलहरू असफल भएकै हुन।अधिकारको लडाई लडने नेताहरूले सत्ताका लागी पालो पालो कुर्सी साटा साट गर्न समय ब्यथित गरे, राजनीतिक व्यवस्थालाई दुर्गन्धीत बनाई जनताको भावना र देशको आवश्यकता अनुकूल प्रयोग गरीएन । नेताहरूले अधिकारको लडाई त लडनु भयो तर आफू सत्तामा पुगे पछि राजनीतिक र व्यक्तिगत आचरण गुमाउनु भयो, देश र जनताका इच्छा र आकाक्षा विपरीत सरकार ढाल्ने र बनाउने खेल मै समय बिताउनु भयो । नेताहरू कै पद र सत्ता लोपताका कारण कारण उर्जाशिल युवाहरू खाडीको रापमा हड्डी घोटन बाध्य भए । यी युवाहरूको पसिनाबाट प्राप्त भएको रेमिट्यान्सको दोहन गर्दै आफ्नो वरिपरि डनहरु र घोषित भ्रष्टहरुलाई च्यापी राजनीतिको खेती गरियो ।

लामो समय सम्म यस मुलुकको प्रमुख राजनीति हाकेका नेता र तीनका वरिपरि बस्नेहरुको जिवनशैलीमा आएको परिवर्तन नै भष्ट्रचारको हेर्न लायक नमुना मान्न सकिन्छ। भ्रष्टाचारले मानिस, परिवार, समाज, देश र राष्ट्रलाई नकारात्मक असर पारेको हुन्छ । यसैको नकारात्मक प्रभावले नेपालका सत्ताधारी र यस मुलुकका श्रमजिवी जनता बिच आज ठुलो खाडल देखिन्छ । भ्रष्टाचारलाई हामी कुनै अमूक व्यक्तिले अनैतिक रूपमा कमाएको पैसा, नियती र आचारणसँग मात्र जोडेर हेर्दछौ । तर , यसलाई गहिराईमा गएर विश्लेषण गर्ने हो भने भ्रष्टाचारको ठाडो असर मुलुकको बिकासक्रममा परेको हुन्छ । त्यसैले त आज नेपाली जनताको टाउकोमा विदेशी ॠणको ठुलो भारी छ ।
त्यस्तै, यस मुलुकको बागडोर सम्हालेका राजनीतिक व्यक्तिहरू दिन प्रतिदिन मोटाउदै जानु र राष्ट्र खोक्रो हुँदै जानुको अर्थ यो मुलुकका जनातालाई थाम्नै नसक्ने गरी विदेशी ऋणको भारी बोक्नु परेको र देश गरिबीको चपेटामा फसेको हो भन्न सक्ने आधार भेटिन्छ ।

उर्जनशिल युवाहरू खाडी लगायतका मुलुकहरूमा श्रम गर्न बाध्य भएका छन् । देशमा रोजगारी छैन, घर परिवार पाल्ने कुनै आधार छैन । अड्डा अदालत, शान्ति सुरक्षा देखी स्वास्थ्य सेवामा समेत राजनीतिक हस्तक्षेपका कारण प्यारालाईज बनाईएका छन् । पेट पाल्नका लागी कि त नेताहरूको शरण पर्नु पर्दछ की अनैतिक काममा सङ्लग्न हुनु पर्दछ । तर , नेपाली युवाहरूले त्यस्तो बिसँगतीलाई चुनौती दिँदै ईमान्दारीताको परिचय दिएका छन्, खाडी लगायत अन्य मुलुकमा गएर श्रम गरेर देशलाई पालेका छन् ।

शिक्षा, स्वास्थको चरम निजीकरण र दलगत हस्तक्षेप, राज्यको सेवा र विकासमा मौलाएको भ्रष्टाचार र लुटतन्त्र, ठेकेदार र डनको राज्य र प्राकृतिक श्रोत उपरको लुट, संक्रमणकालिन न्यायको हत्या, चरम वेरोजगारी, ओरालो लागेको अर्थतन्त्र आदिको निरन्तरताको डर छँदैछ। नेताहरूको सत्तालोपता र स्वार्थी आचरणका कारण वाम गठबन्धनको बहुमतमा खेलेर राज्य विखण्डनको खेल विदेशीले खेली राख्लान् भन्ने डर पनि त्यत्तिकै छ। राष्ट्र जलिरहँदा, कमजोर भइरहँदा, भ्रष्ट्रचार्, जनताका हक र अधिकार कुन्ठित हुँदा , बेथिति र विदेशी हस्तक्षेपले थिल्थिलो बनिरहँदा जुन देशका जनता सत्य बोल्ने साहस गर्दैनन्, गुण र दोषका आधारमा आफ्ना प्रतिनिधि छान्ने विवेक प्रयोग गर्न सक्दैनन त्यस देशमा यसरी नै लुटतन्त्र र देश दोहन चली नै रहन्छ ।

हामी पुराना हौ र हामीले जनताको हकका लागी आन्दोलन गरेका हौ भन्दै पटक पटक सत्ताको रस चाख्ने व्यक्तिहरू वास्तविक अर्थमा विजयी हुँदैन, विजयी त्यो हुन्छ जो जनताको हृदयमा बस्न सफल हुन्छ। सिमाना, भूगोल, इतिहास, धर्म–संस्कृति, परम्परा एवं जनताको रक्षा गर्न सक्दैन भने त्यस्तो नेता देशका लागी भार हुन्छन् । सामाजिक आधार, राज्य–व्यवस्था, जनताको हक र स्वतन्त्रता, आर्थिक सुरक्षा र जनहितका पक्षमा केही गर्दैन भने त्यस्तो राजनीतिक प्रणालीलाई जनताले उल्टाउन सक्छन् भन्ने विगतका ठुला आन्दोलनहरुले पाठ सिकाएको यथार्थतालाई नेताहरूले सम्झन आवश्यक छ ।

यदि सत्ताकालागी बाम गठबन्धन फुटेन र आफैले हिजो सम्म काँधमा राखेका विद्यार्थी युनियन र कर्मचारीका ट्रेड युनियन तथा अस्थिर नेतृत्वलाई दंग्याएर काम नगरी खान पल्केको कर्मचारीतंत्रलाई तह लाउन सक्यो भने अब बन्ने बाम सरकार लोकप्रिय हुन पनि सक्छ। राजा फाल्ने सम्मका कठोर निर्णय गर्न सक्ने जनताले सधैँ आफूलाई काखी च्यापेर बस्लान भन्ने दम्भ त्याग्दै पुराना नेताहरूले जनता र देशको सम्बृद्दीका लागी हड्डी घोटने बेला हो यो ।

प्रतिक्रिया