अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

मानव विकास सम्बन्धमा बर्ष २०१७ मा विश्व सञ्चारमाध्यमका प्रमुख समाचार

अन्तर्राष्ट्रिय आलेख सेवा- वर्षान्त सन् २०१७ 

बिआरटीनेपाल २०७४ पुष १२ गते ६:५७ मा प्रकाशित

सन् २०१७ अबको केही दिनमा बिदा हुँदैछ र विश्वले सन् २०१८ को स्वागतका लागि तयारी गर्दैछ । यसै सन्दर्भमा विश्वका सञ्चारमाध्यमहरुले सन् २०१७ मा विविध क्षेत्रमा भए गरेका विविध घटनाक्रमहरुको विश्लेषण सुरु गरेका छन् । यसै विषयलाई लिएर बेलायतको ‘द गार्जियन’ पत्रिकाको अन्तर्राष्ट्रिय संस्करणले सन् २०१७ मा विश्वको मानवविकास सम्बन्धमा लेखेका समाचारहरुको पुनरावलोकन गरेको विषयलाई हामीले पनि पुनरावलोकन गरेका छौँ । त्यस पुनरावलोकनको सङ्क्षेपीकरण तल यहाँ प्रस्तुत गरिएको छ ः 

जनवरी 
– यो वर्ष अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पदस्थापनाबाट सुरु र ‘‘ग्लोबल ग्याग रुल’ अर्थात ‘मेक्सिको सिटी पोलिसी’ पुनः लागू । यस नीतिले मुलुकहरूमा गर्भपतन सेवा उपलब्ध गराउने वा यस विषयमा वकालत गर्ने गैरसरकारी संस्थाहरूलाई अमेरिकी सङ्घीय सहयोगमा प्रतिबन्ध लगायो ।

अमेरिकी यस निर्णयको प्रतिक्रियामा कोषको कमी हुन नदिन नेदरल्यान्ड्सका मन्त्री लिलियान प्लुमेनको नेतृत्वमा ६० करोड अमेरिकी डलर जुटाउने ‘सी डिसाइड्स’ नामक अभियानको सुरुवात ।

– गाम्बियामा आदामा बारोद्वारा याह्या जामियाको २२ वर्षे शासनको अन्त्य ।

– आर्थिक सहयोग तथा विकास सङ्गठनले सङ्कलन गरेको तथ्याङ्कअनुसार युरोपका छ मुलुक– बेलायत, डेनमार्क, नर्वे, नेदरल्यान्ड, लग्जम्बर्ग तथा स्वीडेनले ०.७ प्रतिशत वैदेशिक सहयोगमा खर्च गर्ने लक्ष्य पूरागरे ।

– सेभ द चिल्ड्रेनद्वारा यमनमा बालबालिकालाई हिंसाबाट जोगाउन साउदी अरेबियालाई दबाब दिन बेलायत सरकारलाई आग्रह ।

– स्विजरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको बैठकसँगै अक्सफामद्वारा विश्वमा केही धनी व्यक्तिसँग ४२६ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति रहेको र त्यो विश्वका ३.६ अर्ब जनताको सम्पत्ति बराबर भएको प्रतिवेदन प्रकाशन । यस संस्थाले यस अवस्थालाई ‘‘विसङ्गतिभन्दा पनि पर’’ भन्ने नाम दियो ।

फेब्रुअरी 
– संयुक्त राष्ट्र सङ्घका तीन संस्थाद्वारा सोमालियामा भोकमरीको वास्तविक परिस्थिति देखा परेको र त्यहाँका करिब आधा जनता अर्थात ६० लाख जनता गम्भीर खाद्य असुरक्षाबाट प्रभावित भएको भनी चेतावनी । मानवाधिकारवादी संस्थाहरूले सन् २०११ मा जस्तै भोकमरी हुन नदिन निकै कम समय बाँकी रहेको बताउँदै यस मुलुकका लागि दाताहरूको प्रतिक्रिया ढिलो आउँदा दुई लाख ६० हजार जनताले भोकमरीका कारण जीवन गुमाएको अनुमान गरे ।

– गाम्बिया टाट उल्टिएको भनि युरोपेली युनियनका आयुक्त नेभेन मिमिकाबाट २२ करोड ५० लाख युरो सहयोग दिइने बचन ।

– मुसलमान बाहुल्य भएका सात मुलुकका नागरिकलाई अमेरिका भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा लगाउनुभएको प्रतिबन्ध वर्षभरि नै लाग्दै र खुल्दै ग¥यो ।

– चाडका विदेशमन्त्री मौसा फाकी माहामात अफ्रिकी युनियनको नयाँ प्रमुखमा निर्वाचित । मोरोक्को ३० वर्षपछि यस समूहमा पुनः आवद्ध ।

– दक्षिणी सुडानका केही भागमा औपचारिक रूपमा भोकमरीको घोषणा । यस्तै अवस्था सोमालिया, नाइजेरिया तथा यमनमा पनि आउने सहयोग संस्थाहरूको चेतावनी ।

मार्च 
– पूर्वी अफ्रिकामा भोकमरीका कारण असङ्ख्य जीवन जोखिममा परेको भनि दातृ संस्थाहरूले सहयोगका लागि आह्वान गरे । यस क्षेत्रका १० करोड ६० लाख जनता खाद्यान्न, पानी र औसधीको अभाव भोग्दैछन् ।

– दक्षिणी सुडानमा सहयोग वितरणमा सशस्त्र लडाकूको चुनौती देखिए । सन् २०१३ को डिसेम्बरदेखि यहाँ छ सहयोगकर्मीको हत्या भयो ।

– मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसमा विश्वव्यापी हडतालको आह्वान । न्यु योर्कमा महिलाको अवस्थासम्बन्धी आयोगमा समान तलव, लैङ्गिक लेखापरीक्षण र समान मूल्याङ्कन लागूगरी महिलाको आर्थिक सबलीकरणमा काम गर्न मुलुकहरूले बचनबद्धता प्रकट गरे ।

– एल साल्भाडोर धातुको खानीमा प्रतिबन्ध लगाउने पहिलो मुलुक बन्यो । यसका अभियानकर्ताहरूले यसलाई ‘‘सुनमाथि पानी’’ को विजयको रूपमा लिए ।

– जोखिम अवस्थामा परेको रसियाली नागरिकलाई गणतन्त्र दागेस्तान पु¥याइ इँटा भट्टा तथा खेतमा दास बनाइने गरेको भिडियो सार्वजनिक ।

– नाइजेरियामा रोटाभाइरस विरुद्द खोपको परीक्षण भएकोमा सीमाविहीन चिकित्सकद्वारा स्वागत । अफ्रिकाको साहारा उपप्रायद्वीपमा प्रतिदिन एक हजार ३०० बालबालिकाको यसै भाइरसका कारण मृत्यु हुनेगर्छ ।

अप्रिल
– युगान्डाको बिदी बिदीमा दक्षिण सुडानबाट द्वन्द्व र भोकमरी कारण पलायन भएका आएका आठ लाख शरणार्थीको स्वागत । यो क्षेत्र विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर बन्यो । यो सङ्ख्या दश लाख पुग्न लाग्दा तनाव सिर्जना ।

– कोलम्बियामा शान्ति स्थापना पछि फार्क छापामार सेनाका महिलाले पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाए ।

– नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायले आफ्ना परियोजना स्वीकृत गराउन सरकारलाई लाखौँ अमेरिकी डलर शुल्क तिर्नु परेको दाबीसहितको समाचार प्रकाशन भएको ।

– स्लिपिङ सिकनेस, हात्तीपाइले तथा उष्णप्रदेशीय अन्य रोगहरू निकोपार्न कीर्तिमानपूर्ण काम भएको भनी विश्व स्वास्थ्य सङ्गठनबाट प्रसंशा ।

मे 
– जी२० मुलुकका स्वास्थ्य मन्त्रीहरूले सङ्क्रमणकारी रोगको आरम्भ तथा सुक्ष्मजीवाणुमा औषधि विरुद्ध प्रतिरोध क्षमता विकास जस्ता स्वास्थ्यका क्षेत्रमा विश्वव्यापी जेखिमप्रति छिटो प्रतिक्रिया जनाउन आह्वान गरे ।

– बेलायती तथा अफ्रिकी अभियानकर्ताहरूको एक गठबन्धनले गरेको अनुन्धानमा अफ्रिकाभित्र आउने सम्पत्ति भन्दा अफ्रिकाबाट बाहिर जाने सम्पत्ति प्रतिवर्ष ४० अर्ब भन्दा बढी भएको देखियो ।

जुन 
– युरोपेली युनियनमा रहने वा छाड्ने विषयमा भएको जनमतका नतिजाका कारण बेलायतमा जुन ८ मा आम निर्वाचन ।

– गार्जियन तथा ब्राजिलका पत्रकारहरूले पशुफार्ममा कामदारलाई दास बनाइएको हुनसक्ने बताएपछि बेलायतका विशालबजारबाट ‘‘कोर्न बिफ’’ हटाइए ।

जुलाई 
– बेलायतमा सहयोगका रकमको खर्चमा सैनिकीकरण भएको आरोप लाग्न थालेपछि यस्ता कोष द्वन्द्व, स्थिरता तथा सुरक्षामा कसरी खर्च भइरहेको छ भन्ने पहिलो वार्षिक प्रतिवेदन प्रकाशन ।

– फिलिपिन्समा ३० प्रतिशतभन्दा कम महिलाले परिवार नियोजनका सामग्री उपयोग गर्छन् र यहाँ गर्भपतन गैरकानुनी मानिन्छ । यहाँ प्रत्येक दिन गैरकानुनी गर्भपतनका कारण तीन महिलाको मृत्यु हुने गरेको समाचार प्रकाशन ।

अगस्ट
– दक्षिणी सुडानबाट युगान्डा प्रवेश गर्ने शरणार्थीको सङ्ख्या दश लाख नाघ्यो । अर्को दश लाख इथियोपिया, सुडान तथा प्रजातान्त्रिक गणतन्त्र गङ्गोमा प्रवेश गरेका छन् । यो विश्वमा सबैभन्दा छिटो शरणार्थी बन्ने सङ्कटयुक्त मुलुक बन्यो ।

– वेपत्ता पारिएकाहरूको अन्तर्राष्ट्रिय दिवसमा अभियानकर्ताहरूले संयुक्त राष्ट्रसङ्घलाई असादले बन्धक बनाएकाहरूको पीडादायक अवस्थाप्रति ध्यान दिन आग्रह ।

सेप्टेम्बर
– द्वन्द्व तथा मौसम परिवर्तनले खाद्यान्न सुरक्षामा चुनौती दिइरहेको अवस्थामा गम्भीर न्यूनपोषणमा वृद्धि हुँदा संयुक्त राष्ट्र सङ्घका निकायहरूले यस शताब्दीमा पहिलोपटक विश्वमा भोकमरी बढिरहेको चेतावनी दिए ।

– ब्राजिलमा सुनखानी सञ्चालकले एमेजोनियाका आदिवासी जनताको हत्या गरेको आरोपमा सरकारद्वारा अनुसन्धान आरम्भ । म्यानमारमा रोहिङ्ग्या समुदायको जातिहत्याको अवस्था सार्वजनिक ।

– इराकमा इस्लामिक स्टेटको नियन्त्रणमा रहेको क्षेत्र मुक्त हुँदा कुर्दको जनमत सङ्ग्रह । इरानसँगको सीमामा भूकम्प ।

– हाइटी तथा डोमिनिकन गणतन्त्रमा सहायताकर्मीहरूलाई इर्मा आँधीबाट प्रभावितको सहयोगका लागि आग्रह ।

– केनियाको सर्वोच्च अदालतद्वारा उहुरु केनियाताको विजय बदर ।

– युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी बेलायती विभागद्वारा भविष्यमा विदेश नीति, प्रतिरक्षा र विकासका विषयमा साझेदारीका विषयमा नीतिपत्र सार्वजनिक ।

अक्टोबर
– केनियामा प्रतिपक्षी उम्मेदवार राइला ओडिङ्गा नभइकन निर्वाचन । ओडिङ्गाद्वारा यो निर्वाचन जालसाँज भएको दाबी । केनियाता विजयी भएको घोषणा ।

– अन्तर्राष्ट्रिय बालिका दिवसमा विश्वमा बालिकाले शिक्षा प्राप्त गर्न सबैभन्दा कठिन १० मुलुकको नाम सार्वजनिक । तान्जानियामा महिलाले पीडानिवारक औषधि तथा पानीको अभावमा शिशु जन्म दिएको अनुभव सुनाए ।

नोभेम्बर 
– सैनिक शासन परिवर्तन र महाभियोगको सुनुवाइको आरम्भपछि जिम्बाबेका रोबर्ट मुगावेद्वारा राष्ट्रपति पदबाट राजिनामा । मुगावेको ३७ वर्षीय शासनको अन्त्य र सडकमा खुसी प्रदर्शन । सत्ताधारी जानु पीएफ दलले पूर्व उपराष्ट्रपति इमरसन एमनाङ्गावालाई मुगावेको स्थानमा मनोनयन ।

– घरमा शौचालय बनाउन दबाब दिन पति परित्याग गर्ने महिलासम्बन्धी चलचित्रका कारण बलिउड कलाकार अक्षयकुमार थप लोकप्रिय ।

– लैङ्गिक आधारमा हिंसाको विरोधमा १६ दिने सक्रियता कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका सदस्य मुलुकहरूलाई सन् २०३० सम्म यस्ता दुव्र्यवहार अन्त्य गरिने उनीहरूको बचनबद्धता सम्झना गराइयो । संयुक्त राष्ट्र सङ्घको महिलासम्बन्धी कार्यकारी निर्देशकले द्वन्द्वमा व्यापक बनेको बलात्कार र यौनजन्य हिंसा कम गर्ने प्रयास अपर्याप्त रहेको बताउनुभयो ।

– धेरै उद्योगमा यौनजन्य दुव्र्यवहार व्यापक रहेको भनी सहायता समूहका सदस्यहरूले स्तब्ध पार्नेगरी अनुभव सार्वजनिक ।

डिसेम्बर 
– श्रीलङ्काको एक परिवार राम्रो जीवनको खोजीमा खाडी पुग्दा भोगेको पीडा र त्यहाँको कफाला प्रणालीको दुरूपयोगका विषयमा समाचार प्रकाशन ।

– अफ्रिकाको साहारा उपक्षेत्रमा महिलाले स्वास्थ्योपचारको खर्च तिर्न यौनसम्पर्क गर्न बाध्य हुनुपरेको समाचार प्रकाशन ।(रासस)

 

 

 

(अनुवादः सुरेन्द्रबहादुर नेपाली) 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू