अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

बल्ने ढुङ्गा वैधानिकरुपमा अमेरिकामा बिक्री हुने भन्दै फिल्मी शैलीमा यसरी लुटियो ९० लाख

बिआरटीनेपाल २०७४ पुष २ गते १९:३४ मा प्रकाशित

फिल्मी शैलीमा ९० लाख लुट्ने गिरोह प्रहरीले पक्राउ गरेकाे छ । बल्ने ढुङ्गा बिक्री गर्न भन्दै ठगिएको ठूलो रकमसहित पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले आइतबार सार्वजनिक गरेको छ ।

गिराेहले आफूहरूसँग भएको बल्ने ढुङ्गा वैधानिकरुपमा अमेरिकामा बिक्री हुने भन्दै व्यवसायीबाट ९० लाख १० हजार रूपैयाँ ठगेकाे थियाे । प्रहरीले गिराेहका सदस्यकाे साथबाट तीन थान पेस्तोल र त्यसमा प्रयोग हुने ७ राउन्ड गोली पनि बरामत गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय राजबहादुर तामाङ्ग, सोही गाउँपालिका– ४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ्ग, वडा नं ६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्देम्बे पक्राउ परे । भने, फिदिम नगरपालिका–१० याङ्नामका ३३ वर्षीय भय विक, फालेलुङ गाउँपालिका वडा नम्बर–८ का ५४ वर्षीय महेन्द्रकुमार दर्जीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गर्‍यो ।

कसरी भयो ठगी ?

गठी काण्डका मुख्य योजनाकार राजबहादुर तामाङले आफूसँग बल्नेढुङ्गा रहेको र त्यसलाई विदेशसमा पुर्‍याए अर्बौमा विक्री हुने भन्दै व्यवसायीलाई प्रलोभन देखाए । उनले व्यवसायीलाई चार करोडमा सो ढुङ्गा किन्न राजी पनि बनाए ।

तामाङको अबैध ढुंगा फिदिमका व्यवसायी तारा भट्टराई, डिल्ली ढुङ्गना र फाल्गुनन्द गाउँपालिकाका राजेन्द्र रिजाल ढुङ्गा किन्न राजी भए ।

व्यवसायीले ढुंगा किन्न भन्दै तामाङलाई २ करोड ५७ लाख ५८ हजार रुपैयाँ दिएको व्यवसायीले दिएको जाहेरीमा उल्लेख छ । उनीहरुले ६० लाख रुपैयाँ बराबर पर्ने जग्गासमेत अभियुक्त तामाङलाई दिएको दावी गरे ।

व्यवसायीले ढुङ्गा आफूहरुलाई दिन या रकम फिर्ता गर्न भनेर तामाङलाई चर्को दबाब दिए । तामाङले ढुङ्गा लिनका लागि भन्दै व्यवसायीहरुलाई मंसिर २५ गते इलाम बोलाए ।

व्यवसायी र तामाङको इलामस्थित तिल्केनीमा भेट भयो । तामाङले केही तल ढुङ्गा लुकाएर राखेको भन्दै कच्चीबाटोबाट गाडी लैजान आग्रह गरे । गाडीमा रहेकाहरुलाई ‘त्यही बस्नु’ भनी उनी ढुङ्गा ल्याउने भन्दै गएँ ।

तामाङ्गले आफूले राखेको भनेको ढुङ्गा झोलामा हालेझै गरेर आएर गाडीमा बसे । गाडी केही माथि आइसकेपछि पाँच जना युवाले बाटोमा ढुंगा राखेर गाडी छेके ।

उनीहरुले पेस्तोल देखाउँदै गाडीमा बसेका तामाङले ढुंगा राखेको भनिएको झोला सहित अन्य व्यवसायीसँग भएको पैसा, मोवाइल, सुनको औठी समेत लुटपाट गरे ।

बाटो छेकेर लुटपाट गर्ने अरु कोही नभएर ठगी काण्डका योजनाकार तामाङले खटाएका युवाहरु नै थिए । ‘आफूसँग रहेको ढुङ्गा लुटियो भनेर व्यवसायीसँग लिएको पैसा ठगी गर्नलाई तामाङ्गले नाटक रचेको देखियो,’–जिल्ला प्रहरी कार्यालय इलामका उपरीक्षक बिपिन कर्माचार्यले भने ।

यसरी प्रहरी फन्दामा

लुटपाटको नाटकपछि उनै तामाङले प्रहरीलाई खवर गरे । तामाङ आफूहरु लुटिएको भन्दै प्रहरीसमक्ष पुगेँ । उनलाई प्रहरीले सामान्य केरकार गर्ने वित्तिकै शंकाको घेरामा परे । २६ मंसिरको राति प्रहरीले अनुसन्धानको लागि भन्दै केहीलाई पक्राउ गरिसकेको थियो ।

सुरुमा सामान्य लेनदेनको विषय ठानेर सार्वजनिक अपराध अन्तर्गत जिल्ला प्रशासनबाट म्याद थप गरिएको थियो । तर भोलिपल्ट २८ मंसिरमा लुटपाट भएको भनिएको स्थान नजिकै एउटा पेस्तोल फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरे ।

लगत्तै घटनास्थल पुगेको प्रहरीले वरपर हेर्दा अरु दुईवटा पेस्तोल फेला पारेको बतायो । प्रहरीले सुरुमा सामान्य ठानेको घटनालाई पेस्तोल भेटेपछि शुक्ष्म ढंगले अनुसन्धान थाल्यो ।

प्रहरीले व्यवसायीबाट लिएको रकम घटनाका मुख्य योजनाकार भनिएका तामाङको बहिनी ज्वाइको घर झापाको मेचीनगरपालिका–९ बाट बरामद भएको प्रहरीले जनाएको छ ।

योजनाकार तामाङ पूर्व लडाकु

तिल्नेकी नजिकै फेला परेको तीन थान पेस्तोल मध्येको दुई थान पेस्तोल योजनाकार तामाङको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनी माओवादीको पूर्वलडाकु भएको पनि बताएको छ । उनले जनयुद्धकै बेलामा दुईवटा पेस्तोल आफूले लुकाएर राखेको स्वीकारेको प्रहरीले जिकिर छ । घटनामा प्रयोग गरिएको अर्को एउटा पेस्तोल भने उनीहरुले झापाबाट किनेको बताए ।

झापाको व्यवसायीबाट हतियार किनेको बयान दिएका थिए । प्रहरीले झापा विर्तामोडका कुशल राईलाई पक्राउ गरेर अनुसन्धान थालिएको अञ्चल प्रहरी कार्यालय मेचीका प्रहरी प्रमुख एसएसपी पीताम्बर आचार्यले जानकारी दिए ।

बल्ने ढुंगा खै ?

तामाङले आफूसँग छ भनेको ढुंगा कुनै विषेश किसिमको होइन । ढुंगा सामान्य किसिमकै हो । तर, ढुंगालाई रातो कपडामाथी राखेर मुनीबाट प्रकाश दिएपछि टल्किएको मात्रै हो ।

‘ढुङ्ग मुनीबाट लाइट लगाएपछि टल्किने रहेछ–प्रहरी प्रमुख कर्मचार्यले थपे–‘सुरुमा व्यवसायीहरुलाई पनि देखाएको रहेछ, छुन चाँही दिएनछन् ।’

तीन मुद्धा चलाउने

घटनामा अरुपनि सम्लग्न हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका पाँच जनालाई ठगी, डाका र हातहतियार तथा खरखजना सम्बन्धि मुद्धा दर्ता गरेको छ ।

रकम ठगीका व्यवसायीको रकमको स्रोत पनि खोजी गर्ने प्रहरीले जनाएको छ ।

‘यो रकमको स्रोत पनि खोज्छौँ ।’ प्रहरी प्रमुख कर्मचार्यले भने,‘यसका लागि सम्पत्ति सुद्धिकरण विभागलाई आग्रह गर्छाैँ ।’

रकम गठिएको तीनमध्ये एक मनि ट्रान्सफर व्यवसायी र बाँकी दुई जना निर्माण व्यवसायी भएको प्रहरीले जानकारी दिएको  आजको नयाँ पत्रिकामा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू