अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

नेपालका कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक सम्पर्क राख्न पाउने

कारागार व्यवस्थापन विभागले मिलाउँछ चाँजोपाँजो

बिआरटीनेपाल २०७४ मंसिर २७ गते २०:१० मा प्रकाशित

सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ । 

कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी बनेको निर्देशिका पास भएपछि मात्रै पाउनेछन् । विभागले निर्देशिकाको खाका तयार गरिसकेको छ । खाकालाई अन्तिम रूप दिएपछि गृह मन्त्रालयमा पेस हुनेछ । मन्त्रालयबाट पास भएपछि निर्देशिका कार्यान्वयनमा आउनेछ । त्यसलगत्तै कैदीबन्दीले सन्तान उत्पादनका लागि कारागारले नै व्यवस्था गरेको विशेष कोठामा आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउनेछन् ।

निर्देशिका बनेपछि मात्र सुविधा
विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले विभाग कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका बनाउने तयारीमा जुटेको बताए । उनका अनुसार अबको तीन महिनाभित्र निर्देशिका तयार हुनेछ । उनले भने, ‘कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका बन्दै छ । अबको तीन महिनाभित्र यो तयार भइसक्नेछ । त्यसपछि मन्त्रालयमा पेस हुनेछ । मन्त्रालयबाट पास भएलगत्तै निर्देशिका कार्यान्वयनमा आउनेछ ।’

सर्वोच्च अदालतले कैदीबन्दीको प्रजनन हक सुरक्षित गर्ने सम्बन्धमा दिएको आदेशपछि विभाग निर्देशिका बनाउने तयारीमा जुटेको हो । महानिर्देशक घिमिरेले भने, ‘अदालतले कैदीबन्दीको प्रजनन हकको सुरक्षा गर्न आदेश दियो । आदेशलाई कार्यान्वयन गर्नुपर्ने भयो । अदालतबाट आदेश भएलगत्तै त्यत्तिकै प्रजनन अधिकार दिने कुरा भएन । यसका लागि विधि–प्रक्रिया चाहिन्छ । त्यसैले, विभाग निर्देशिका बनाउन जुटेको हो ।’

कस्ता कैदीबन्दीले पाउँछन् यस्तो सुविधा ?
विभागका अनुसार यो सुविधा लामो अवधि सजाय तोकिएका तर सन्तान नभएका कैदीबन्दीको हकमा मात्रै लागू हुनेछ । यसका लागि विवाहित हुनुपर्नेछ । विभागले कारागारभित्रै विशेष कोठाको व्यवस्था गर्नेछ । लामो अवधि कैद–सजाय तोकिएका तर सन्तान नभएका कैदीबन्दी पहिचान गरिनेछ । महिला कैदीबन्दी भए उनका श्रीमान् र पुरुष कैदीबन्दी भए उनकी श्रीमतीलाई सम्पर्कमा ल्याइनेछ । दुवैको चिकित्सकबाट स्वास्थ्य–परीक्षण गराइनेछ । सन्तान उत्पादनका लागि समय निश्चित भएपछि मात्रै उनीहरूलाई संसर्गका लागि भेट गर्न दिइनेछ ।

विभागका महानिर्देशक घिमिरेका अनुसार उनीहरूलाई बढीमा सात दिनसम्म सँगै राखिनेछ । उनले भने, ‘सामान्यतया महिलाको महिनावारी रोकिएको सात दिनपछिको एक सातासम्म सन्तान उत्पादनका लागि उपयुक्त समय मानिन्छ । यही अवधिमा कैदीबन्दीलाई संसर्गका लागि छाडिनेछ । सन्तान उत्पादनको उपयुक्त समय निर्धारण चिकित्सकको सल्लाहपछि मात्रै हुनेछ । त्यसपछि, बढीमा सात दिनसम्म उनीहरूलाई सँगै राखिनेछ । यो सुविधा एक कैदीबन्दीले एकपटक मात्रै पाउनेछ ।’

विभागका अनुसार विवाह नभएका र सन्तान भइसकेका कैदीबन्दीको हकमा भने यो सुविधा लागू हुने छैन । महानिर्देशक घिमिरेले भने, ‘यो सुविधा विवाह नभएका कैदीबन्दीको हकमा लागू हुने छैन । त्यस्तै, सन्तान भइसकेका कैदीबन्दीको हकमा पनि लागू हुने छैन । अदालतको आदेश पनि सोहीअनुसारको छ । त्यहीअनुसार निर्देशिका बन्छ ।’आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू