अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

प्रदेश नम्बर ७ का मुख्यमन्त्री दाबेदार

बिआरटीनेपाल २०७४ मंसिर २७ गते १९:३८ मा प्रकाशित

 प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री बन्ला भन्ने कौतुहल बढेको छ ।यो प्रदेशमा एमालेका शीर्ष नेता भीम रावल हुन् । उनी पार्टी उपाध्यक्षसँगै प्रदेश ७ को संयोजक हुन् । यसैगरी वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रका लेखराज भट्ट यो प्रदेशका शीर्ष नेता मानिन्छन् । यी दुई नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

‘वाम गठबन्धनमा आबद्ध दलमध्ये कसको मुख्यमन्त्री हुने भनेर टुंगो लाग्न बाँकी छ’, एमाले उपाध्यक्ष रावलले भने, ‘यस विषयमा कुनै छलफल भएको छैन ।’ एमाले र माओवादी केन्द्रमध्ये कुन पार्टीबाट मुख्यमन्त्री बन्ने भन्ने सहमति भएपछि मात्र कसलाई मुख्यमन्त्री बनाउने विषयमा छलफल सुरु हुने उनले बताए ।

माओवादी केन्द्रका नेता भट्टले पनि मुख्यमन्त्री कसले पाउने भनेर सहमति भइनसकेको बताए । प्रदेश नम्बर ७ मा मुख्यमन्त्रीको दाबी गर्नेमा युवा नेता देखिएका छन् । एमालेको भागमा मुख्यमन्त्री परे पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक कर्ण थापालाई सम्भावित मुख्यमन्त्रीको रुपमा हेरिएको छ । ‘प्रदेश ७ मा एमालेबाट आफू मुख्यमन्त्री हुनेमा कुनै विवाद र शंका छैन’, थापाले भने, ‘मुख्यमन्त्री हुने भनेर नै मेरो नाम प्रदेशसभा समानुपातिक सूचीमा राखिएको हो ।’

प्रदेशसभामा समानुपातिक सूचीमा रहेका थापा समानुपातिकवाट निर्वाचित हुने कि नहुने निश्चित छैन । ७ नम्बर प्रदेसभामा प्रत्यक्षतर्फ एमालेले १७ सिट जितेको छ  । जसमा महिला छैनन् । संविधान अनुसार ३३ प्रतिशत अनिवार्य महिला राख्नुपर्ने प्रावधानका कारण समानुपातिकबाट महिला मात्रै आउसक्ने पनि हुन सक्छ । समानुपातिकमा ८ सिट मात्र एमालेको भागमा परे ३३ प्रतिशत पु¥याउन  महिलालाई राख्नुपर्ने छ । समानुपातिकमा योभन्दा बढी स्थान पाएमात्र मुख्यमन्त्रीमा थापाको सम्भावना रहनेछ । समानुपातिकको नतिजा आउन बाँकी छ । महिला कोटा छुट्याएर १ जना पुरुष पर्ने सम्भावना रहेको थापा बताउँछन । ‘म मुख्यमन्त्री हुनेमा राजनीतिक कारणले कुनै समस्या छैन, प्राविधिक कारण समस्या भए अर्कै कुरा हो’, उनले भने । थापा समानुपातिक कोटामा पर्ने वा नपर्ने  अन्योल बढेसँगै मुख्यमन्त्रीका लागि अन्य नाम चर्चामा आएका छन् । थापापछि एमालेबाट मुख्यमन्त्रीमा तारा लामा तामाङ (¬कञ्चनपुुर), वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह ( बाजुरा), अर्जुन थापा (बझाङ), दीर्घ सोडारी ( कैलाली) लगायतको नाम चर्चामा छ । ‘साथीहरूले तपाईं मुख्यमन्त्री बन्नुपर्छ भनिरहेका छन,’ कञ्चनपुर एमाले अध्यक्ष तामाङले भने, ‘म नै हुनुपर्छ भन्नेमा म छैन, पार्टीले जिम्मेवारी दिए तयार छुँ ।’ अर्का आकांक्षी शाहले थापालाई सघाउने सोच भए पनि उनको सम्भावना कम भएपछि आफू नै मुख्यमन्त्रीको दाबेदार भएको बताए ।
यसैगरी माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परे वीरमान चौधरी मुख्य दाबेदार देखिएका छन् । उनी माओवादी केन्द्र सचिवालय सदस्य हुन् । ‘वाम गठबन्धनभित्र कुन पार्टीले मुख्यमन्त्री पाउने टुंगो लागिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको भागमा परे स्वाभाविक रुपमा मुख्य दाबी मेरो हुने नै भयो ।’ पहिलो संविधानसभा चुनावमा कैलाली क्षेत्र ३ बाट निर्वाचित चौधरी अहिले प्रदेशसभा सदस्यमा विजयी भएका छन् । व्यापारिक पृष्ठभूमिका अछामबाट प्रदेशसभा सदस्यमा निर्वाचित झपट बोहराको पनि मुख्यमन्त्रीको चर्चामा छन् ।

‘पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न तयार छुँ’, उनले भने । यसैगरी माओवादी केन्द्रभित्र सन्तोष धामी (दार्चुला), त्रिलोचन भट्ट (डोटी) र महेश जोशी ( कञ्चनपुर) को नाम पनि चर्चामा छ । ‘पार्टीमा छलफल भएको छैन,  माओवादी भागमा मुख्यमन्त्री परे सिनियर नेतामध्ये एकले त्यो जिम्मेवारी पाउनेछन्,’ पार्टीका एक नेताले भने । प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी भागमा पर्ने सम्भावना रहेको ती नेताको  भनाइ छ । ७ नम्बर प्रदेशसभामा एमालेबाट १७ र माओवादी केन्द्रबाट १० जना निर्वाचित भएका छन् । यस्तै कांग्रेसबाट ४ र राजपाबाट १ जना निर्वाचित भएका छन् । समानुपातिकका नतिजा आउन बाँकी छ । प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ७ नम्बर प्रदेशसभा ५३ सदस्यीय हुनेछ । प्रदेशसभाले मुख्यमन्त्री चयन गर्नेछ । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू