अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

न्यू योर्कमा बम विस्फोट गर्ने उल्लाहलाई आज अदालतमा प्रस्तुत गरिने

बिआरटी नेपाल बिशेष सम्बादाता, न्यू योर्क २०७४ मंसिर २७ गते ११:५९ मा प्रकाशित

न्यू योर्क सिटी बमकाण्डका अभियुक्त अकायद उल्लाहलाई बुधवार अदालतमा पेस गरिने भएको छ । अहिले उनी अस्पतालको शैयामा छन् ।

उल्लाहले विस्फोट गराउन जाँदै गर्दा बाटोमा ‘ट्रम्प तिमीले आफ्नो देश जोगाउन सकेनौं’ भन्ने फेसबुक स्टाटस लेखेका थिए ।

अमेरिकी र बंगलादेशी अधिकारीहरूले बंगलादेशी मूलका उल्लाहको आतङ्कवादीसँग सम्बन्ध छ छैन भनेर अनुसन्धान गरिरहेका छन् । उल्लाह सन् २०११ देखि ब्रुक्लिनमा बसोबास गरिरहेका छन् । उनको सोमबार भएको विस्फोटमा जलेका र काटिएका अङ्गको उपचार भइरहेको छ । विस्फोटमा अन्य ३ जनालाई पनि चोट लागेको छ ।

उल्लाहलाई बेल्भ्यू अस्पतालबाटै अदालतमा उपस्थित गरिने छ । उनीमाथि सार्वजनिक स्थलमा बम पड्काएको, सामूहिक रूपमा मान्छे मार्ने हतियार प्रयोग गरेको, इस्लामिक राज्य स्थापनाका लागि सहयोग गरेको, आगो तथा विस्फोटक पदार्थबाट सार्वजनिक सम्पत्ति क्षति पुर्याएको र हिंसात्मक अपराध बढाउन विनाशकारी उपकरण प्रयोग गरेको अभियोग छ । सामूहिक रूपमा मान्छे मार्ने हतियार प्रयोग गरेको अभियोग प्रमाणित भए २७ वर्षीय उल्लाहलाई जन्मकैदको सजाय हुन्छ ।

उल्लाह सन् २०१४ देखि अतिवादी बन्दै गएको र त्यति बेला देखिनै इस्लामिक स्टेट तथा आतङ्क फैलाउन हतियार कसरी प्रयोग गर्ने भन्ने इन्टरनेट सामाग्री हेर्न थालेको अभियोगमा उल्लेख भएको बताइएको छ । बंगलादेशी अधिकारीहरूले उल्लाहको बङ्गलादेशमा रेहको परिवारका अन्य सदस्य र सम्बन्धीहरुसँग अन्तर्वाता लिइरहेका बताएका छन् ।

उल्लाहकी श्रीमती जन्नतुल फर्दोस जुई २ साना छोरासँग ढाकामा बस्छिन् । ढाकाका अधिकारीहरूले उल्लाहको श्रीमती सासु, ससुरा र मामासँग अन्तर्वाता लिइसकेका छन् । उनीहरुसँगको अन्तर्वार्ताबाट आतङ्कवादीसँग उल्लाहको सम्बन्ध रहेको नभेटिएको बङ्गलादेशको काउन्टर टेरोरिज्म एजेन्सीले जनाएको छ ।

बङ्गलादेश न्यूज २४ लाई त्यहाँको काउन्टर टेरोरिज्म एजेन्सी प्रमुख मोनिरुल इस्लामले अकायद न्यू योर्कमै लडाकू बनेको बताएका छन् । ‘यहाँ अकायदको आतङ्कवादीको सम्पर्कमा रहेको प्रमाण भेटिएन । हामीलाई उनी न्यू योर्कमा इन्टरनेटका माध्यमबाट आतङ्कवादीको सम्पर्कमा रहेको भन्ने आशंका छ,’ उनले भनेका छन् । उनका अनुसार बङ्गलादेशमा प्रहरीले अकायदमाथि थप अनुसन्धान गरिहेको छ ।

अकायद एफ ४३ फेमिली इमिग्रेसन भिसामा सन् २०११ मा अमेरिका आएका हुन् । उनी कानुनी रूपमा अमेरिकामा स्थायी बसोबास स्वीकृति भएका व्यक्ति हुन् । उनलाई उनको परिवारले अमेरिका ल्याएको हो । प्रारम्भिक अनुसन्धानबाट यसअघि उनको आपराधिक गतिविधि नभएको देखिएएको छ । उल्लाह गत सेप्टेम्बरमा बङ्गलादेशको राजधानी ढाका गएका थिए । तर, उनी त्यहाँ किन गएको भन्ने खुलेको छैन । उनी ढाकामा जन्मे हुर्केका मानिस हुन् । यात्राका आधारमा आतङ्कवादी हमलाको योजना बनाएका भन्ने अभियोग लगाउन गाह्रो हुने बताइन्छ । उल्लाहको कान्छा छोरा १ वर्षका मात्र छन् ।

उल्लाहले आफ्नो दाइसँग हालै पोर्ट अथोरिटीमा विद्युतसम्बन्धी काम गरेका थिए । उनका दाइ र उल्लाह एउटै घरमा बस्छन् । उल्लाह प्राथना गर्दैनन् र अहिले उनका परिवारका धेरै सदस्यले छानबिनमा सहयोग नगरेको बताइन्छ । अधिकारीहरुका अनुसार उल्लाहले बनाएको पाइप बम प्राविधिक रूपमा तल्लो स्तरको थियो । बम पुरै विस्फोट नभएकाले ठुलो क्षति नभएको बताइएको छ ।

उल्लाहले विस्फोट गराउन जाँदै गर्दा बाटोमा ‘ट्रम्प तिमीले आफ्नो देश जोगाउन सकेनौं’ भन्ने फेसबुक स्टाटस लेखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू