अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

‘अखण्ड सुदूरपश्चिम’ अगुवाको चुनावी संयोग र भिडन्त

बिआरटीनेपाल २०७४ मंसिर १४ गते २०:१७ मा प्रकाशित

डोटी : कांग्रेस नेता वीरबहादुर बलायर र एमाले नेता प्रेमबहादुर आलेमगरको चुनावी इतिहासमा एउटा संयोग छ- २०६४ सालको चुनावमा दुबै पराजित तर २०७० को चुनावमा दुबै विजयी। दुईवटा निर्वाचन क्षेत्र छँदा अलगअलग चुनाव लडेका यी दुई पात्र जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र कायम भएपछि अहिले एकअर्काका प्रतिस्पर्धी बनेका हुन्।

मन्त्री बलायर २०७० सालको संविधानसभा चुनावमा डोटी क्षेत्र नम्बर १ बाट विजयी भएका थिए भने आलेमगर निर्वाचन क्षेत्र नम्बर २ बाट। २०६४ को चुनावमा उनीहरू आ–आफ्नो क्षेत्रबाट पराजित भएका थिए।

बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बलायर र एमाले केन्द्रीय वैकल्पिक सदस्य आलेमगरबीचको चुनावी भिडन्त यसकारण पनि रोचक बनेको छ कि अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा यी दुईको नेतृत्वदायी भूमिका थियो। २०६९ मा भएको उक्त आन्दोलनमा खेलेको भूमिकाका कारण उनीहरूबीचको चुनावी परिणामको चासो जिल्लामा मात्र होइन, प्रदेश नम्बर ७ भरी नै छ।

गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा खसेको मत र विगतका अन्य निर्वाचनमा खसेको मतलाई आधार मान्ने हो भने कांग्रेस अगाडि छ तर एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनको मत जोड्ने हो भने वाम गठबन्धन अगाडि देखिन्छ। मतदाता तान्न बलायर र आलेमगर चुनावी सभाहरूमा एकअर्कालाई आरोप–प्रत्यारोपमात्र त गरिरहेकै छन्, विकासका एजेन्डाहरू समेत सुनाइरहेका छन्।

प्रदेशमा पनि चासो

प्रतिनिधिसभामा मात्र नभएर डोटीका दुई प्रदेशसभा सदस्यमा समेत कांग्रेस र वाम गठबन्धनबीच नै प्रतिस्पर्धा हुने निश्चित छ।

प्रदेशसभामा क्षेत्र (क) मा कांग्रेसका तर्फबाट निवर्तमान सांसद भरतबहादुर खड्का र वाम गठबन्धनका तर्फबाट एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल उम्मेदवार छन्। क्षेत्र (ख) मा कांग्रेसबाट योगेन्द्रबहादुर शाही र वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य त्रिलोचन भट्ट उम्मेदवार छन्। अन्नपुर्ण पोष्टमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू