अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

राष्ट्रपति ट्रम्पको आदेशमा यात्रा प्रतिबन्ध सम्बन्धी फेरि अदालतको अंकुश

बिआरटीनेपाल २०७४ कार्तिक २ गते ७:५३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गर्नुभएको एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

राष्ट्रपति ट्रम्पले इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक नयाँ कानुनको गत महिना घोषणा गर्नुभएको थियो ।

उक्त प्रतिबन्धात्मक कानुन कार्यान्वयन नगर्न अमेरिकाको अदालतले मङ्गलवार आदेश दिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनु केही अघि त्यसमाथि उक्त कानुन कार्यान्वयनमा रोक लगाइएको छ ।

तर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने अदालतको उक्त आदेश कानुन विपरीत तरिकाले आएको भन्दै त्यसविरुद्ध पुनरावेदन गरिने पनि बताएको छ । कानुन मन्त्रालयले सो जानकारी मङ्गलबारै दिएको बताइएको छ ।

ती देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेशमा गर्न नपाउने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको कानुनको घोषणालाई अदालतले अवैध भनी रोकिदिएको बताइएको हो ।

अमेरिकी राष्ट्रपतिको उक्त यात्रा प्रतिबन्धलाई यहाँको सङ्घीय अदालतका न्यायाधीशले रोक लगाएका हुन् । उक्त यात्रा प्रतिबन्ध यसैहप्ताबाट लागू हुन लागेको थियो ।

अमेरिकाले यसअघि पनि अरू विभिन्न ६ वटा मुसलमान बाहुल्यता रहेका देशहरुमाथि यस्तै खालको प्रतिबन्ध लगाइएको थियो । त्यसलाई पनि उतिबेलै अमेरिकाको सर्वोच्च अदालतले प्रश्न गरेको थियो ।

राष्ट्रपति ट्रम्पको यो तेस्रो यात्रा प्रतिबन्धमाथि पनि रोक लगाउन मागगर्दै हवाई राज्यमा निवेदन दर्ता भएको थियो । सोही निवेदनका आधारमा गरिएको अनुसन्धानबाट यो पछिल्लो आदेश आएको हो ।

अमेरिकामा रहेका आप्रवासीका विरुद्धमा सङ्घीय कानुन अन्तर्गत राष्ट्रपतिले त्यस्तो प्रतिबन्ध लगाउन नपाउने जिकिरसहित उक्त निवेदन गरिएको थियो ।

अमेरिकी सरकारले भने शान्ति सुरक्षाको कारण देखाएर ती देशका नागरिकलाई अमेरिकामा प्रवेश गर्न नदिनेगरी उक्त घोषणा गरिएको जानकारी दिँदै आएको छ । (रासस÷एएफपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू