अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

लक्ष्मीपूजा र दीपावली

बिआरटीनेपाल २०७४ कार्तिक २ गते ७:४४ मा प्रकाशित

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

हिन्दु धर्मअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सर सफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवम् अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरी गरगहना, पैसालाई पनि पूजा गरेर फलफुल, सेलरोटी र फूलमाला चढाइएको छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिइन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहर उज्यालोले झिलिमिली बनेको छ । उपत्यकामा दसैँको भन्दा बढी नै चहलपहल छ ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

“भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”– उहाँले भन्नुभयो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी समेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दान दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू