अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

कालिकोटमा दलाल सत्ताको निर्देशन नेपाली सेनाले माने – धरमेन्द्र बास्तोला

बिआरटीनेपाल २०७४ जेठ ८ गते १०:५७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समीति सदस्य धरमेन्द्र बास्तोलाले कालिकोटे जनताको प्रतिरोधमा नेपाली सेनाले सरकारले दिएको गोलि चलाउने आदेश नमानेकोले क्षति कम भएको धारणा राखेका छन् । उनले सो पार्टीको उपत्यका विशेष ब्युरोले “राज्यको दमनकारी रणनीति र नागरिक स्वतन्त्रता” विषयक अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै सो धारणा बताएका हुन् ।

बास्तोलाले सोमबार संवाद डबलीमा भएको सो कार्यक्रममा बोल्दै कालिकोटे जनतालाई प्रहरीले हतियार फालेर गएको तर सेना तटस्थ रहेको भन्दै उनले भने “दलाल सत्ताको आदेश सेनाले नमान्नुले ऊ जनता र देश प्रति बफादर भन्ने बुझिन्छ ।” अहिलेको सरकारले देशभर अफ्ना ४ सय भन्दा बढी कार्यकर्तालाई पक्राऊ गरेर झुट्टा मुद्धा लगाउने कार्य गरेकोप्रति आक्रोश व्यक्त गर्दै भने,“तिमीहरु हामीलाई जेल हाल, दमन गर या जे सुकै गर तर दलाल व्यबस्था हामी उखेलेरै छाड्छौ ।”

अहिलेको भ्रष्टाचार, तस्करी, दलाल र पाखण्डी राज्य व्यवस्थालाई खारेज गरेर जनतालाई एकताबद्ध गराउनु आजको आवश्यकता हो, यसरी मात्रै देशलाई शान्ति र संमृद्ध बनाउन सकिने बताए । अहिले संसदवादी दल र उनिहरुले नेतृत्व गरेको सत्ताले विकास भन्दा देशलाई झन् कमजोर र युवालाई वेरोजगार बनाउने किसिमको भएको आरोप लगाए । जनतालाई रोजगारी आत्मनिर्भर नभएर पर निर्भर हुने किसिमको संविधान र संयन्त्र खारेज गरिनु विचार व्यक्त गरे ।

अहिलेको चुनाबमा जनताको सहभागिता उत्साहजनक भएको भन्ने भ्रम छरिएको भन्दै बास्तोलाले भने,“भोट हाल्ने उमेरका १५ लाख विदेश छन् र यो सत्ताबाट वितृष्ण लाखौं जनताले यो चनविरोधी चुनाबमा भाग लिएका छैनन् ।”

त्यसैगरी सो पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले नैतिक भन्दा अनैतिक तरिकाले भएको चुनाबलाई बहुमत जनताले बहिष्कार गरेको बताए । बुढाले यो संसदवादी पार्टीहरु एकै थैलिका चटपटे भएको संज्ञा पनि दिए, सूर्यमा गाई र रुखमा आँप फलेजस्तै हाँसिया हतौडा चिन्ह राखेर विचार र मुल्यको पनि खिल्लि उडाउने कार्य भएको बताए । जनतालाई दबाएरै सकिन्छ भन्ने सोच्छन् भने यो सत्ता भयङ्कर दुष्चक्रमा फस्ने पनि बताए । यो प्रक्रिया नयाँ प्रकारको सिक्किम बन्ने खतरा रहेको भन्दै, नेपालको संघियता लागु गर्न यहाँको आर्थिक अवस्थाले नभ्याएर यहाँको प्रशासन चलाउन विदेशी ऋणको आवश्यकता पर्ने बताए ।

त्यसैगरी नेकपा अध्यक्ष ऋषि कट्टेलले अबको नयाँ क्रान्तिका निम्ति गाउँ सहरलाई संगै जोडेपछि मात्रै सम्भव हुने धारणा राखे । कट्टेलले नेपालमा अहिलेको बुर्जुवा सैलिको गणतन्त्र भन्दा पनि जनगणतन्त्रको आवश्यकता पर्ने र त्यसका लागि फेरि दश बर्षे जनयुद्धमा जस्तै बलप्रयोगको सिद्धान्तका आवश्यकता भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू