अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यापछि दोलखामा सुरक्षा व्यवस्था कडा

बिआरटीनेपाल २०७४ वैशाख २८ गते २१:११ मा प्रकाशित

एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यापछि दोलखामा सुरक्षा व्यवस्था कडा पारिएको छ । दोलखालाई अति सम्वेदनशील जिल्लामा राखेर चुनावी सुरक्षा योजना बनाएपछि यहाँको सुरक्षा कडा पारिएको हो ।

हत्या घटनाको अनुसन्धान गर्न प्रहरीले छुट्टाछुट्टै विशेष टोली खटाएको छ । गौरीशंकर गाउँ पालिका-२ जुँगुका एमाले सदस्य पदका उम्मेदवार गोरे तमाङले छोराको हत्या गर्ने ३९ माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीको केन्द्रीय टोली यहाँ आएका हुन् ।

हत्यामा बाहिरको मानिससमेत परिचालन भएको जाहेरी परेपछि शंकास्पद बाहिरका व्यक्तिहरुलाई निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरीले जिल्लाबाहेक अन्य तीन निकायबाट टोली खटाएको हो । उनीहरुले हत्या घटनाको जिम्मेवारी अनु्सार काम थालिसकेका छन् । जनकपुर अञ्चलका प्रहरी प्रमुख एसएसपी सुवास चौधरी हेलिकप्टरबाट घटनास्थल अनुसन्धान गरेर सदरमुकाम चरिकोटलाई मुकाम बनाई काम गरिरहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेतले अनुसन्धानको काम सुरु गरेको जानकारी दिएका छन् । त्यसैगरी प्रहरी प्रधान कार्यालयको कार्यदलका एसपी सुदीप गिरीको नेतृत्वमा विशेष टोली पठाइएको छ ।

माओवादी नेता, कार्यकर्ता प्रत्यक्ष संलग्न भनिएको उक्त घटनाको अनुसन्धानको शिलसिलामा केहीलाई गिरफ्तार गरेको दावी प्रहरीको छ । आठ जना पक्राउ परिसकेको र मुख्य अभियुक्तको खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रवीन कार्कीले बताए ।

आयोगको पनि टोली
दोलखा जुँगु हत्या घटनाको छानबिन गर्न निर्वाचन आयोगले  पनि निर्वाचन आयुक्तको नेतृत्वमा छुट्टै अनुसन्धान टोली गठन गरेको छ । आयुक्त सुधीर शाहको नेतृत्वमा समिति गठन गरिएको हो ।

निर्वाचन आयोगले उक्त घटनालाई गम्भिर रुपमा लिएर आयुक्तको नेतृत्वमा छानवीन गर्न लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । उनले दोलखा घटनापछि सुरक्षा सतकर्ता थप बढाइएको समेत बताएका छन् ।

स्थानीय तहको चुनावमा निर्वाचन आयुक्तकै नेतृत्वमा कुनै बिशेष घटनाको छानबिन गर्न टोली गठन गरेको यो पहिलो पटक हो । निर्वाचन आयुक्त शाह दोलखा पुगेर छानबिन गर्ने आयोगले जनाएको छ ।

बढ्यो सुरक्षा चुनौती
निर्वाचन प्रभावित पार्न जिल्लाबाहिरका व्यक्तिहरुको भित्रिएको आशंकामा हालसम्म ६६ जना शंकास्पदलाई दोलखा प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

पक्राउ परेका केहीँ भने निर्वाचनका लागि काम गर्न भाडामा आएका खुलेको छ । शंकास्पद भनिएकाहरु दोलखा जिल्लाबाहिरका नागरिक रहेको प्रहरीको भनाई छ । अनुसन्धानपछि उनीहरु छुट्ने बताइएको छ ।

प्रहरीले दोलखाको विभिन्न नाकामा कडा निगरानी बढाएको छ । मोटर र मोटरसाइकलहरु खनतलासीपछि मात्र छाड्ने गरेको छ । मतदातालाई आतंकित बनाउन र मत हाल्नबाट बञ्चित गर्न अन्य जिल्लाबाट समेत आउनेक्रम बढेको सुराकीपछि पक्राउ अभियान चलाएको प्रहरीको भनाई छ ।

प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कार्कीले शंकास्पद ढंगले जिल्ला भित्रिएकाहरुले प्रयोग गरेका एउटा बस र नौ वटा मोटरसाइल समेत नियन्त्रणमा लिएको छ ।

दोलखा प्रहरीले जिल्ला भित्रिदा जिल्लावासी भएको प्रमाण र अन्य कामले भित्रिएको भए त्यसको प्रमाण लिएर आउन अनुरोध गरेको छ । यो क्रम निर्वाचन नसकिए सम्म जारी रहने छ । कान्तिपुरमा समाचार छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू