अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

कवि थीरलोचन श्रेष्ठको कविता सङ्ग्रह ‘प्रश्नपत्र जिन्दगी’ लोकार्पण

बिआरटीनेपाल २०७४ वैशाख १० गते ११:२५ मा प्रकाशित

युवा कवि थीरलोचन श्रेष्ठद्वारा रचित कविता संग्रह ‘प्रश्नपत्र जिन्दगी’ काठमाडौंमा लोकार्पण गरिएको छ । संस्कृतिविद् तुससी दिवस, प्राज्ञ श्रवण मुकारुङ, समालोचक महेश पौड्याल तथा ऐश्वर्य प्रकाशनका प्रबन्ध निर्देशक गणेश प्रसाद जोशीद्वारा संयुक्त रुपमा उक्त संग्रह लोकार्पण गरिएको हो ।

समारोहमा समालोचक महेश पौड्यालले ‘प्रश्नपत्र जिन्दगी’ कविता संग्रहमा समावेश कविताहरुको समलोचना गरेका थिए । समालोचक पौड्यालले आधुनिक नेपाली कविताको धारका बारेमा समेत धारणा व्यक्त गर्दै कवि थीरलोचनले आफ्नो संग्रहमा प्रेम र ग्रामीण बिम्बहरूलाई मुख्य विषय बनाएको धारणा प्रस्तुत गरेका थिए । ‘उनको कवित्व रुमानी रफ्तारमा यात्रारत छ, समालोचक पौड्यालको भनाइ छ ।

उक्त कृतिका बारेमा बोल्दै प्राज्ञ श्रवण मुकारुङले श्रेष्ठको लेखाइमा आफ्नोपन रहेको बताए । ‘लेखकहरूले स्थान विशेषमै गएर कविता लेख्न सक्नुपर्छ, त्यो क्षमता पनि यी कविमा देखेको छु, प्राज्ञ मुकारुङको भनाइ छ—‘कवि भ्रममा बाँच्नु हुँदैन, भन्ने कुरा यो कवितासंग्रहमा समावेश गरेका कविताहरुले दर्साउँछन् ।’

संस्कृतिविद तुलसी दिवसले नेपाली कविता र समालोचनाको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । ‘साहित्य नभई समालोचना हुन सक्तैन, त्यसैले पहिलो सत्य साहित्य हो । त्यसपछि मात्रै समालोचनाको कुरा आउँछ, दिवसको भनाइ छ—‘प्रस्तुत सङ्ग्रह भित्रका कविताहरूमा कविले कुनै तडकभडक नगरी सुन्दर रूपमा प्रस्तुत गरेका छन् ।’

समारोहका सभापति गणेशप्रसाद जोशीले कविलाई बधाई दिनुका साथै कृतिले सामाजिक विषय वस्तुलाई समेटेको कुरा बताएका थिए । उक्त सङ्ग्रहलाई ऐश्वर्य प्रकासनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू