अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

कार्यबहाक राष्ट्रपति नन्द किशोर पुनसंग अमेरिका र बेलायतका राजदूतको भेटवार्ता

बिआरटीनेपाल २०७४ वैशाख ५ गते ७:०० मा प्रकाशित

कार्यबहाक राष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’सँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र अमेरिकाका कार्यबहाक राजदूत माइकल गोञ्जालेसले शिष्टाचार भेट गरेका छन् । आज (मंगलबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा कार्यबहाक राष्ट्रपतिसँग बेलायतका राजदूत र अमेरिकाका कार्यबहाक राजदूतले छुट्टा छुट्टै भेटघाट गरेका हुन् ।

कार्यबहाक राष्ट्रपतिले बेलायतका राजदूत मोरिसँगको भेटमा नेपाल निर्वाचनतर्फ अगाडि बढेको बताए । उनले वैशाख ३१ गते स्थानीय तहको र त्यसपछि लगतै प्रदेश र केन्द्रको चुनाव हुनेभएकोले नेपालीहरु निर्वाचनमा व्यस्त हुने बताए। कार्यबहाक राष्ट्रपतिले नेपाल र बेलायतको मित्रतालाई अझै प्रगाढ बनाउनु पर्नेमा जोड दिए ।

कार्यबहाक राष्ट्रपतिसँगको भेटमा बेलायतका राजदूत मोरिसले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्नेमा जोड दिंदै स्थानीय तहलगायतका निर्वाचन सफलताको शुभकामना दिए ।

यसैगरी कार्यबहाक राष्ट्रपतिले अमेरिकाका कार्यबहाक राजदूत गोञ्जालेससँगको भेटमा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न हुने बताउँदै तीन तहको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमण पूर्ण रुपमा अन्त्य हुने र नेपाल आर्थिक समृद्धिको यात्रामा द्रुत गतिमा अगाडि बढ्ने बताए ।उनले नेपाली जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तनको परिणाम छिट्टै नेपालको समृद्धिमा देखिने , नेपाल र अमेरिकाका दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको र दुई देशबीचको मित्रतालाई अझै प्रगाढ बनाउनु पर्नेमा जोड दिए ।

भेटमा अमेरिकाका कार्यबहाक राजदूतले चार हप्तापछि हुन लागेको स्थानीय तहको निर्वाचनको सफलताको शुभकामना दिए । उनले आफूहरु देशका विभिन्न भागमा जाँदा स्थानीय जनता स्थानीय तहको निर्वाचन मार्फत आफ्ना प्रतिनिधि चुन्न आतुर भएको पाइएको बताए । नेपालको लागि आगामी आठ महिना निकै नै महत्वपूर्ण भएको बताउँदै  उनले सबै तहको निर्वाचनपछि नेपालले विश्व समुदायलाई नयाँ सन्देश दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू