अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

दुई दिन मोर्चाको मधेस बन्द: मेची–महाकाली अभियान तीन दिन स्थगित

बिआरटीनेपाल २०७३ फागुन २३ गते २०:२७ मा प्रकाशित

सप्तरी घटनापछि सोमबार साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले मंगलबार र बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको निधन भएपछि मोर्चाले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान गलत भएको टिप्पणी गरेको छ । मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको भनिए पनि औपचारिक विज्ञप्तिमा यो विषय उल्लेख छैन ।

एमालेका शीर्ष नेताले मधेस र मधेसीविरुद्ध विषवमन गर्दै अपमानित गर्ने र उत्तेजक अभिव्यक्ति दिने गरेकाले सप्तरीको घटना भएको मोर्चाको निष्कर्ष छ । मोर्चाले सप्तरी घटनामा सरकारले गैरलोकतान्त्रिक र हिंसात्मक चरित्र देखाएको आरोपसमेत लगाएको छ ।  घटनालगत्तै वीरगन्ज, जनकपुर, रौतहट, राजविराजलगायत तराईका विभिन्न सहरमा मोर्चाका कार्यकर्ताले सोमबार साँझ मसाल जुलुस प्रदर्शन गर्दै आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

 

अभियान तीन दिन स्थगित

सप्तरीको घटनापछि एमालेले मेची–महाकाली अभियान तीन दिनलाई स्थगित गरेको छ । स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरेको जनाएको छ । अभियान स्थगित भएपछि एमाले नेता र कार्यकर्ताहरू सप्तरीबाट उदयपुर हुँदै काठमाडौं फर्किने भएका छन् । स्रोतका अनुसार स्थायी समिति टोलीमा रहेका केही नेता पूर्व फर्किएर पार्टी कार्यक्रममा सहभागी हुनेछन् भने अधिकांश नेता–कार्यकर्ता काठमाडौं फर्किनेछन् । अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू सोमबार साँझ कञ्चनपुरमा वास बस्ने कार्यक्रम थियो । तर, सुरक्षा संवेदनशीलता बढेकोले उनीहरू मध्यराति विराटनगरतर्फ लागेका छन् ।

 

यसअघि साँझैँ पार्टी नेता सुमन प्याकुरेलको रुपनगरस्थित घरमा स्थायी समितिको बैठक बसेको थियो । बैठकले सप्तरी घटनालाई निर्वाचन हुन नदिएर संविधान असफल पार्ने षड्यन्त्रको परिणाम भनेको छ । ‘हाम्रो पार्टीले मुलुकलाई जबर्जस्ती मुठभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण विगतमै गरेको थियो । आजको घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र विध्वंसात्मक गतिविधिलाई नै पुष्टि गरेको छ,’ स्थायी समिति बैठकपछि एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अभियान भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेको अवस्थामा राजविराज घटनाबाट आफू दुःखी भएको एमालेले जनाएको छ । ‘संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको एमालेलाई प्रवेश निषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थलनजिकै विस्फोटक पदार्थ बिछ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुंगामुढा, पेट्रोल बम प्रहार गर्नेजस्ता काम गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधि प्रदर्शन गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ । नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू