अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

ट्रम्पद्वारा पत्रकारको रात्रिभोज निम्तो बहिस्कार-ट्रम्पलाई सहयोग नगर्न वासिङटनका गभर्नरको आदेश

बिआरटीनेपाल २०७३ फागुन १५ गते २०:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारकर्मीहरूको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन् ।ह्वाइट हाउस पत्रकार सङ्घ (ह्वाइट हाउस करेसपोन्डेन्ट एसोसिएसन)ले वार्षिक रूपमा आयोजना गर्दै आएको रात्रिभोजमा सहभागी नहुने ट्रम्पले घोषणा गरेका हुन् ।

वार्षिक रूपमा गरिने उक्त रात्रिभोजमा राजनीतिका विभिन्न चर्चित व्यक्तित्व र पत्रकारहरूको उपस्थिति रहने गर्छ । यस रात्रिभोजमा खासगरी राष्ट्रपति र पत्रकारबीच भएका मतभेद न्यूनीकरण गर्ने काम गरिन्छ । ट्रम्पले ट्विट गर्दै भने, ‘म यो वर्षको ह्वाइट हाउस पत्रकार सङ्घको रात्रिभोजमा सहभागी हुन्नँ । त्यहाँ उपस्थित सबैलाई मेरो शुभकामना ।’

यसअघि पूर्व राष्ट्रपति रोनाल्ड रेगन उक्त रात्रिभोजमा सहभागी भएका थिएनन् । उनले सन् १९८१ मा आफूमाथि भएको आक्रमणलाई निहुँ बनाएका थिए । यद्यपि उनले फोनमार्फत रात्रिभोजलाई सम्बोधन गरेका थिए । रिचर्ड निक्सनले पनि सन १९७२ मा सञ्चारकर्मीको रात्रिभोजमा उपस्थित भएका थिएनन् ।

वर्तमान राष्ट्रपति ट्रम्प र अमेरिकी सञ्चारमाध्यमबीच खिचातानी चल्दै आएको छ । उनले झुटो समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई अमेरिकी जनताको दुस्मनका रूपमा चित्रण गर्दै आएका छन् । गत शुक्रवार मात्र ह्वाइट हाउस पत्रकार सङ्घले डोनाल्ड ट्रम्पको कार्यक्रममा सबै सञ्चारकर्मीलाई प्रवेश नदिएको भन्दै आलोचना गरेको थियो ।

उक्त कार्यक्रममा झुटो समाचार सम्प्रेषण गर्ने गरेको भन्दै सीएनएन, न्यु योर्क टाइम्स, लगायतका सञ्चारमाध्यमलाई प्रवेश गर्न दिइएको थिएन । यसबाट सञ्चारमाध्यम ८५ वर्षयता हुँदै आएको यस कार्यक्रममा अहिलेसम्म १५ जना राष्ट्रपति सहभागी भएका छन् । हालका दिनमा राष्ट्रपति ट्रम्प र पत्रकारबीच सम्बन्ध बिग्रिँदै आएको छ । ट्रम्पले केही सञ्चारगृहले गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरू अमेरिकी जनताको दुस्मन भएको बताएका थिए ।

न्यु योर्क टाइम्सले भने ट्रम्पको अनुपस्थितिलाई लिएर व्यंग्य गरेको छ । उनसे लेखेको छ, ‘हाँसोठट्टाका साथ हुने रात्रिभोजमा कलाकार, पत्रकार राष्ट्रपतिबीच सम्बन्ध सुधार्ने वातावरण तयार हुन्थ्यो । महामहिम राष्ट्रपति ट्रम्पमा आफ्नो आलोचना सुन्ने क्षमता छैन ।’

ट्रम्पलाई सहयोग नगर: वासिङटनका गभर्नर
निकै विवाद र चर्चामा आएका राष्ट्रपति ट्रम्पको निर्देशनको विरोधमा काम गर्न वासिङटनका गभर्नरले आफ्नो राज्यका सबै सरकारी संस्थालाई आदेश दिएका छन् । वासिङटनका गभर्नर जे इन्जलीले आधिकारिक सूचना जारी गर्दै यस्तो आदेश दिएका हुन् । उनले एक सूचनामा हस्ताक्षर गर्दै विद अमेरिकामा आएका आप्रवासीलाई कुनै रोक लगाउन नहुने आदेश दिएका छन् ।

‘द इन्डिपेन्डेन्ट’ का अनुसार इन्जलीले होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीलाई दुईवटा स्मरण पत्र बुझाएका छन् । स्मरणपत्रमा विदेशी आप्रवासीमाथि धरपकड नगर्न सचेत गराइएको छ । यसअघि होमल्यान्ड सेक्युरिटीले त्यस्ता व्यक्तिलाई यथाशीघ्र अमेरिकाबाट निष्कासन गर्ने सक्ने सूचना जारी गरेको थियो । स्मरणपत्रमा वासिङटनले आप्रवासीमाथि गरिने यस्ता गलत काममा साथ नदिने आदेश दिइएको छ ।

स्मरणपत्रमा भनिएको छ, ‘आप्रवासीमाथि लादिएका यस्ता नीतिले हाम्रो राष्ट्रिय र सामुदायिक सुरक्षामा खतरा उत्पन्न हुन सक्छ । हाम्रा अधिकारीहरू कानुन पालना गराउन खटिएका हुन् ।’

गभर्नर इन्जलीले सहिष्णुता, विविधता र एकजुट भएर सबै चल्नेमा आफूले अपेक्षा गरेको बताए । उनले भने, ‘मेरो अधिकार क्षेत्रमा खटिने सबै संस्थाले वासिङटन राज्यको कानुनअनुसार जिम्मेवारी पूरा गर्नेछन् । हाम्रो राज्यमा कुनै धर्म, रङ्ग, संस्कृति र मूलकै आधारमा भेदभाव हुनुहुँदैन ।’ अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू