अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

देउवाबाट पार्टी चल्दैन-रामचन्द्र पौडेल

बिआरटीनेपाल २०७३ फागुन १४ गते १९:४० मा प्रकाशित

पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ । राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको छ ।

पौडेल पक्षको शनिबार भएको बैठकमा नेताहरूले ‘अब देउवाबाट पार्टी चल्दैन’ भन्दै आ–आफ्ना धारणा राखेका थिए । तर, देउवालाई पत्र बुझाउँदा भने उनीहरूले नरम भाषा प्रयोग गरेका थिए । ९ कात्तिकको केन्द्रीय समिति बैठकयता देउवाले बैठक बोलाएका छैनन् । ‘कांग्रेसमा देउवाजी सभापति भएको एक वर्ष भयो, तर एक वर्षमा पदाधिकारी चयन, विभाग गठन, कार्यसम्पादन समिति गठन हुनै सकेको छैन । समयमा पार्टीका संरचना नबन्दा र नेता कार्यकर्तालाई जिम्मेवारी नदिँदा चुनाव लक्षित कार्यक्रम बनाउने र कांग्रेसको पक्षमा माहोल सिर्जना गर्न गाह्रो हुँदै गएको छ,’ पौडेलले भने ,‘ पार्टीमा निर्णय पारदर्शी छैनन् ।

सरकार गठनका बेला कांग्रेसले १३ मन्त्रालय पाउने र हाम्रो पक्षलाई पाँच दिने भनियो, तर हामीलाई छलछाम गरी पछि १५ वटा कांग्रेसले लिएको देखियो । भ्रातृसंस्थामा पनि उहाँले उस्तै छलछामको राजनीतिक देखाउनुभएको छ । यी सबै विषय हेर्दा अब सभापति देउवाबाट पार्टी चल्दैन भन्ने हामी सबैले बुझ्नुपर्ने कुरा हो ।’ ‘पार्टी सञ्चालनको शैली पारदर्शी र संस्थागत भएन । भ्रातृसंस्था पनि व्यवस्थित भएन । राजदूत नियुक्तिमा उस्तै एकलौटी गुटगत प्रवृत्ति हाबी भयो भन्ने विषयमा गम्भीर समीक्षा भयो,’ छलफलमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पार्टी सञ्चालन नै पारदर्शी नभएपछि यी विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक तत्काल माग गर्न ध्यानाकर्षण गराउन लिखितपत्र बुझाइको हो ।’ केही दिनमै केन्द्रीय समिति बैठक नडाके अरु सदस्यहरूले पनि हस्ताक्षर गरेर दबाब बढाउने तयारी पौडेल पक्षको छ ।नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू