अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

स्वदेसी हुने कि आप्रवासी ? – शम्भु सूस्केरा

बिआरटीनेपाल २०७३ फागुन ९ गते ३:०४ मा प्रकाशित

आमा र देश एकै हुन् । दुबैले प्रेम, संरक्षण र परिचयसँगै अरु धेरै थोक दिएका हुन्छन् । त्यसैले आमा र माटोको सामिप्य सबैभन्दा प्रिय लागेका हुन् । जोसँग जननी र जन्मभूमी दुबै छैनन् उसलाई थाहा हुन्छ यसको महत्व । त्यसैले यो सत्य हो आमा र देश कंगाल नै हुन् झन बढ्छ माया, घट्दैन ।

यति अगाध माया प्रेम छाडेर पलायन हुनुको बाध्यता देशको अधोगतिका कारण हो भन्ने तर्क गलत नहोला । तर सत्य यो पनि हो संघर्ष गरेर सफल भएका ब्यक्तिका कथा हाम्रा स्कुल कलेजका पाठ्यपुस्तकमा किन राखियो ? त्यही पुस्तक पढेर जाँचमा पास भएका हामी आफ्नो जीवन र देशको मुहार फेर्नमा चैँ किन फेल ? पाँच डलर सापटी लिएर साइकलको पंचर टाल्ने पेशा सुरु गरेका हेनरी फोर्ड कसरी संसारकै प्रसिद्ध गाडिका उत्पादक बने । ४४ हजार रुपैया लगानी गरेर भाटभटेनीमा ब्यापार थालेका मीनबहादुर गूरुङ्ग अरबौँँको भाटभटेनी सुपर स्टोरका मालिक हुनुमा चमत्कार छ कि समयको सही निर्णय, श्रम र लगनशीलता ? एकजना एनआरआईसँग थोरै रकम सापटी लिएर उत्पादन सुरु गरेका बाबा रामदेव र आचार्य बालकृष्ण किन भारतको टप धनाढ्य भए र नेपालतिर पनि लम्किंदैछन् ? तर यो युगमा पनि हाम्रो चैँ किन युरोप, अमेरिका, अफ्रिकादेखि मध्येपूर्व र खाडीसम्म भरिया र आप्रबासीको परिचय झागिँदैछ ? मान्छेभन्दा तल्लो तहका प्राणी भएर चिनिनमै किन खुशी ? आफ्नो खेत बाँझो राखेर अर्काको घुर्यान खोस्रिन किन जान्छौँ ?

यसको जवाफ एउटै हुन्छ आर्थिक सम्पन्नता र सन्तानको भविष्यका लागि । हामीले आजसम्म सिकेको कुरा पनि यही हो । यही आदर्शले बिगारेको हो हामीलाई । जे पनि भविष्यका लागि भनेर वर्तमान् बिगारिरहेका त छैनौँ ? वर्तमान भनेको हाम्रो धर्ती, माटो र आजको समय हो । आजको आफ्नो समय सुन्दर बनाए आफ्नो र सन्तान सबैको भविष्य स्वतः सुन्दर हुन्छ । आज स्वस्थ्य खाना खान पाए भोलि स्वस्थ्य भइन्छ । तर भोलिका लागि साँचेर आज भोकै बसे ग्यास्टिकले भोलिपल्ट खाएको पनि नपच्ने हुन सक्छ । जीवनलाई यसैगरि हेरौँ । यसलाई तर्क मात्र नठानौँ ।

संसारको जतिसुकै सुखसयलमा लगेर राखे पनि आप्रवासी परिचय बनाइदिएकोमा सन्तानले भगौडा अविभावक ठान्छन् र हामीलाई नै धिक्कार्नेछन् पछि । जीवन रहुन्जेल तिनै सन्तानका लागि दुःख झेल्ने र पलायन भोग्ने, मरेपछि पछि तिनैबाट अपजस ? वर्तमान् र भविष्य दुवै कहाँ रह्यो त ? हिजो द्वन्द्व थियो, सन्तानका मायाले उता लाग्यौँ रे । आज के छ बहाना हामीसँग ?

झापादेखि कन्चनपुरसम्मका किसानले धानको भाउ नपाउनु, जुम्ला र मुस्ताङको स्याउ भैँसीले खानु पर्ने, इलाम, ताप्लेजुङले अलैँचीको बजार नपाउनुमा तपाईंहामी पनि जिम्मेवार छौँ । हाम्रो निस्क्रियता र पलायनवादले नै देशका बिकृतिबाजहरुलाई मल र बल दुवै पुगेको हो । रुपन्देही गंगोलियाका सिपी शर्मा अरुलाई गालि मात्र गर्दै रसियातिरै हराएका भए खसीको भाउमा अष्ट्रिचको मासु खान पाउँथ्यौँ त हामीले ? चार वर्ष अघि करिब ४ अर्बको सिमेन्ट नेपाल भित्रिन्थ्यो रे अहिले दुई अर्ब भन्दा कम भित्रिन्छ । सिमेन्ट उत्पादनका लागि भित्रिने ७ अर्बको कच्चा पदार्थ बढेर १० अर्ब पुग्यो रे । तेह्रथुमले यस वर्ष १२ करोडको अकबरे खोर्सानी बेचेछ । यस्ता उदाहरणहरु हजारौँ छन् । उत्पादन गर्न सन्सारका कुनै वाद वा दर्शन पढिरहनु पर्दैन ।

हामीले उता बसेर देखे जस्तो निराशाको कालो बादल मात्र छ देशमा ? देश रुँगेर हड्डी घोट्नेहरु बेबकुफ हुन् ? इमान्दारी र नैतिकताको खडेरी मात्र छ याँ ? अर्काको सम्पतिमा लोभ नगर्ने ट्याक्सी चालकदेखि इमान्दार कर्मचारी, प्रहरी र डाक्टर पनि त छन् । सरकारी स्कुलबाटै राम्रो नतिजा दिलाउने शिक्षक छन् । सर्वेन्द्र खनाल, रमेश खरेल, डा. गोविन्द केसी, महाविर पुन, सुशिला कार्की, धुर्मुस् सुन्तली, मदनकृष्ण हरिवंश, लिलामणी पौडेल, गोकर्ण विष्ट र कुलमान घिसिङ्गहरुलाई खाली तालिले पुग्छ ? हाम्रो काँध चाहिन्न ? घर गएकी छोरीले माइतीका बाबुआमा पाल्न सक्दिनन् घरकै छुच्चो छोरोले हलो जोतेरै पाल्ने हो ।

माथिका नामहरुले देशमा थिती बसाल्लान्, छोराछोरी समृद्ध देशका नागरिक बनेर कमाउन थाल्छन् अनि तिनकै कमाइ खाएर बुढेसकाल बिताउन नेपाल आउँला भन्ने बिचारमा हुनुहुन्छ भने त्यो सोचलाई यो देशले कहिल्यै स्वागत गर्ने छैन । स्वार्थीहरुले बिगारेको देशमा अरु स्वार्थीको के काम ? त्यागी र जाँगरिला हातहरुको खाँचो छ ।

ग्लोबल भिलेजको युगमा यस्ता साँघुरा कुरा गरेको ठान्दै हुनुहुन्छ भने मेरो एउटै मात्र प्रश्नको जवाफ दिनु होला । आज तपाईं बसेको देश सम्पन्न भएको त्यो देशका नागरिक पलायन भएर होकी देशमै र देशकै लागि संघर्ष गरेर हो ? बेलायतको विकास र सुविधाबाट सन्तान र श्रीमतीलाई बन्चित गराएर स्वदेस फर्किने रविन्द्र मिश्र र नेपाली नागरिकले दिएको बिगतको सम्मान र छोराले उताबाट पठाएको कमाइले बुढेसकाल बिताउन आएका सरोज खनालहरुलाई उस्तै यथार्थ र उस्तै बिम्बकोरुपमा हेर्ने गल्ती गर्न छाडि सके नेपालीले । यी दुई फरक बीम्ब मात्र होईन फरक प्रवृत्तिकारुपमा समेत चिनिन्छन् । देशको आवस्यकता मिश्र संस्कृति हो खनाल प्रवृति होइन । देशका लागि बगाउनु पर्ने पसिनाजति अरुलाई दिएर मलामी र घाट खोज्दै नेपाल किन आउने । देशलाई मैँले केही नदिने हो भने देशले मलाई परिचय र सहारा किन दिने ? तितो लाग्ने तर यथार्थ सवाल हो यो ।

सपना देख्ने सिपी शर्मादेखि केपी शर्माहरुलाई पनि त बेबकुफ भनेकै हौँ हामीले । अबको एक वर्ष भित्र काठमाडौँ आइपुग्ने मेलम्ची पानीको सपना बीस वर्षअघि नदेखको भए साकार हुन्थ्यो त ? सपना देख्नेहरुसँग सपना मिसाउनुको साटो उनीहरुलाई बेबकुफ देख्ने आँखा र बिचार भत्काउन एकमत होऔँ । नत्र हाम्रो परिचय नफेरिने रहेछ । एउटा कामदार नेपाली र पशुपति मुरारका दुबैलाई भरियाकैरुपमा हेरिन्छ संसारभर । देसको परिचय नफेरी नागरिकको परिचय फेरिन्न । बंगालदेशले खेतीको लागि २०६७ सालतिर केन्यामा जमीन भारामा लिने रे भन्ने सुनको थियो यो पंतिकारले । यस्ता थुप्रै देश छन् जसलाई हामी उर्वर भूमीका मालिकले अन्नदेखि पानीसम्म बत्तीदेखि कत्तीसम्म (खनिज) बेच्न सक्छौँ ।

अमेरिकी ट्रम्प नीतिले आजसम्म नसिकेको सन्देश दिएको हुनुपर्छ संसारभरिका नेपालीहरुलाई । तसर्थ आजसम्म आर्जन गरेको ज्ञान, सीपलाई सार्थक बनाउने योजना सहित निर्णय गरौँ । इजरायल, मलेसियामा रगत, पसिना बगाएर आएका नेपालीहरुले आज देशलाई प्रसस्तै मासु, टमाटर र दूध उपलब्ध गराएका छन् । यीनैबाट पनि सिक्न सकिन्छ । जहाँ–जहाँ बिकृती छ । उमेर, क्षमता र योग्यता अनुसार त्यहाँ छिरौँ । नेपालमा थुप्रै बैँकहरु छन् । सरकारले हरेक बजेट भाषणमा कृषि योजना र अनुदानका थुप्रै कुरा गरेको छ । आफुसँग पूजी नहुँदैमा केही गर्न नसकिने समय होइन यो । इच्छाशक्ति नै पूँजी हो भन्ने बुझेकाले नेपालमै आर्थिक क्रान्ति गरिरहेका छन् ।

 

suskera32@gmail.com

प्रतिक्रिया