अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

अमेरिकाले कडाइ गरेपछि अमेरिका हिँडेका ३ सय भन्दा बढी नेपाली मेक्सिकोमै अलपत्र

बिआरटीनेपाल २०७३ फागुन ५ गते १९:५८ मा प्रकाशित

अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् । उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेका छन् । आरम्भमा २० देखि २५ भनिने तर बाटोमा थप रकम माग्दै जानले लागत रकम बढ्ने गरेको हो ।

त्रिभुवन विश्व विद्यालयबाट स्तानकोत्तर गरेका तुल्सिपुर दाङका सुलभ भट्टराईले आफ्नो नाम सबै स्थानमा परिवर्तन गरेर आएको जानकारी दिए । उनले नागरिकतादेखि विद्यालय सर्टिफिकेटमा समेत नाम परिवर्तन गरेका छन् । उनी अमेरिका प्रवेश गरेको चार साता भइसकेको भए पनि उनकै टोलीमा रहेका कैयनले अमेरिका प्रवेश गर्न पाएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा कडाई र आप्रवासीप्रति कडा नीति लिएपछि नेपाली र अन्य मुलुकका त्यसरी गैरकानुनी रुपमा प्रवेशी गर्न चाहनेहरुलाई असहज भएको हो । भट्टराईले असहज अवस्थाबारे वासिङटन डीसीस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् ।

डीसीस्थित नेपाली दूतावासमा पनि मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खवर आएको छ । यद्यपी ति नेपालीहरु महिनौ लगाएर आएका हुनाले अलपत्र पनि कसरी भन्नु भन्दै उनीहरुको बारेमा जानकारी लिने काम भइरहेको दूतावासका एक अधिकारले जनाए । मेक्सिकोको जेलमा परेका छन् कि भनेर दूतावासले मेक्सिकोको सरकारलाई पत्राचार गर्दा त्यहाँको जेलमा कुनै पनि नेपाली नरहेको पत्र दूतावासलाई आएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कोही पनि नेपाली मेक्सिकोका जेलमा छैनन भनिएको छ,’ ति अधिकारीले भने ।

पछिल्लो समय अमेरिकाको विभिन्न राज्यको जेलमा नै २३ जना नेपाली रहेको दुतावास स्रोतले बताए । अन्य कारणबाट अरु नेपाली पनि हुनसक्छ तर पछिल्लो समय कागजपत्र नभएकाहरु यसरी अमेरिकी जेलमा रहेका हुन् । विना भिसाअमेरिका बसेको कारण उनीहरु जेलमा रहेको कतिपयले केश गर्दै स्वदेश फर्कन अस्वीकार गरेकाले अमेरिकन अध्यागमनले उनीहरुको बारेमा बुझ्ने काम गरिरहेको ति अधिकारीले बताए । कुनैपनि खाले अपराधमा नरहेकालाई अमेरिकी अध्यागमनले खासै चासो राख्दैन । तर, अहिले भने युरोपमा झैं अमेरिकी प्रहरीले सोधी खोजी गर्ने र कागजपत्र नभएकालाई फर्काउने नीति अख्तियार गर्न थालेको छ ।

‘बुझेकै नेपाली पनि यसरी आएका छन् भन्ने सुनेको छु । समस्यामा परेको नेपालीलाई उद्दार गर्ने हो । आउने नेपालीहरु नै यसलाई समस्याको रुपमा मान्दैनन् । अवैधानिक रुपमा आएकाहरुको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छौ,’ राजदूत डा. अर्जुनकुमार कार्कीले कान्तिपुरसंग भने, ‘हामीले दक्षिण अमेरिकी मुलुक र अमेरिकासंग पनि सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने र डाटा राख्ने काम गर्न थालेका छौं ।’

अधिकारीहरुका अनुसार यतिबेला कतिपय नेपालीलाई भने सीमा तोकेर खुट्टामा चिप्स राखेर पनि छाडेको छ । ट्रम्प राष्ट्रपति हुनु अगावै देखि नै यस्ता ब्यक्तिहरु रहने गरेका छन् ।  तर, दूतावासले अनिवार्य नेपाली उपस्थित भएपछि मात्र राहदानी बनाउने नीति लिएपछि त्यस्ता नागरिकले आफू आउन नसक्ने भन्दै स्काइप वा भाइबरमा आफ्नो जानकारी दिन थालेका छन् । तर, पनि दूतावासले आवेदन दिंदा वा राहदानी लिन आफै उपस्थित हुन पर्ने भन्दै दूतावासमा आउनै पर्ने बाध्यकारी नियम लागु गरेको छ । जुन आवश्यक थियो । नागरिकतालगायतका कागजात समेत नक्कली आउने र विदेशीले नेपाली राहदानी लिने हुनाले अनिवार्य उपस्थिति आवश्यक पर्छ । अमेरिकामा तीन लाख बढि नेपाली रहेको अनुमान छ तर एकिन तथ्यांक कसैसंग छैन । गत बार्ष मात्र अवैध रुपमा दुई हजार बढि नेपाली स्थलमार्गबाट आएको अनुमान छ ।

नेपालमा अवसर नदेखेपछि लाखौ खर्चेर नेपालीहरु अमेरिका आउने गरेका हुन् ।  तान्जानिया, केन्याबाट दक्षिण अमेरिका हुदै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन् । यो बाटो क्युवीयन रुट भनेर चिनिन्छ । कतिपयले सेटिङ मिलाएर दिल्लीबाट मेक्सिकोको भिसा लिएर मेक्सिको आउने र त्यहाँबाट अमेरिका प्रवेशको दाउ हेर्ने गरेको पनि बताइएको छ ।

निकारागुवा, पानामा, होण्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा नेपाली छन् । दक्षिण अमेरिकी देशले नेपालीप्रति केही लचकता र सम्मान रहने भएकोले नेपालीसँग मिल्दोजुल्दो विदेशीले पनि नेपाली भन्दै आउने गरेका छन् । भुटानी, फिजि, मरिसस, भारत, मलेसिया र बंगालीलगायतले नेपाली भन्ने कतिले नेपाली राहदानी नै बोकेर आउने गरेको समेत जानकारी दूतावासलाई आएको छ ।

तर, पछिल्लो समय अमेरिकामा आप्रवासीका कठिन दिन सुरु भएको छ । त्यस्तै दक्षिण अमेरिकी मुलुकले पनि अमेरिका पठाउने भन्दा समातेर सम्वन्धित मुलुक फिर्ता गर्न थालेको छ । यसरी फिर्ता गर्दा अमेरिकाले उनीहरुलाई सघाउने समेत गरेको अधिकारीले बताए । एक पटक पनि भिसा नलिएको नेपालीलाई छानविनको दायरामा राख्ने र फर्काउन समेत सक्ने अवस्था छ । कतिपय भिसामा आएर पनि शरणार्थीमा आवेदन दिने र बस्ने गरेका छन । कैयनले आफ्नो मुलुकको ‘एक्स्ट्रा अर्डीनरी’ नागरिक भन्ने प्रमाणित गर्दै ग्रिनकार्ड समेत भर्ने गरेका छन् । त्यसमा कैयन सफल पनि भएका छन । आउँदा दिनमा त्यस्ता कार्यलाई रोक्ने तयारी अमेरिकी सरकारको छ ।

अवैधानिक मात्र होईन, वैधानिक आप्रवासी पनि आप्रवासन सुधारका कदमबाट त्रसित छन् । राष्ट्रपति ट्रम्पको आप्रवासन सुधार एवं सशक्तिकरण अभियान र कानुन कार्यान्वयन एजेन्सीको पछिल्लो गतिविधिले यस्तो अवस्था निम्तिएको हो ।

सन् १४९२ मा कोलम्वस पहिलो पटक अमेरिका आएपछि अमेरिका आप्रवासीबाटै बनेको मुलुक भएपनि पछि आएका आप्रवासीहरुले यहाँ रहेका अमेरिकीको जागिर खोसिएको बुझाई रिपब्लिकनहरुको छ । विश्वभरबाट अमेरिकामा प्रवेश गर्दै कैयन पुस्ता यही वितिसकेका पनि छन् । आप्रवासन सुधार ट्रम्पको चुनावी नारा ‘मेक अमेरिका ग्रेट अगेन’ संगै जोडिएकोले यसमा कडाई हुने र अवैध प्रवेशले दुख पाउने भन्ने विषय प्राय: निश्चित रहेको दूतावास अधिकारीहरु बताउँछन ।

राष्ट्रपति ट्रम्पले पहिलो कार्यकारी आदेश जारी गर्दै सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध, शरणार्थी कार्यक्रममा एक सय २० दिन रोक लगाउने काम गरेका थिए ।  सिरियाली शरणार्थीलाई पनि अमेरिकाले रोक्यो । डीसी, न्यूयोर्क, सान फ्रान्सिस्को, शिकागो जस्ता शहरमा प्रदर्शन पनि भए । त्यतिमात्र होइन जसको कानुनी प्रतिवाद नै भयो । केही राज्यको अदालतले सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा लगाईएको प्रतिवन्ध अवैधानिक भएको फैसला गरे जसले राष्ट्रपतिलाई पछि हट्न बाध्य भएपनि युरोपीयन तरिका अपनाउदै अध्यागमनलाई सक्रिया बनाइएको छ । कान्तिपुरमा समाचार छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू