अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

प्रचण्डको ‘यू–टर्न’

बिआरटीनेपाल २०७३ माघ २१ गते १९:४९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावको तयारीबारे निर्वाचन आयोगलाई चिठी लेखे पनि पत्रमा मिति उल्लेख नगरेको खुलासा गर्दै ‘नआत्तिन’ मधेसी मोर्चालाई बचन दिएका छन्। बिहीबारको मन्त्रिपरिषद्बाट ‘जेठ १० भित्र चुनाव गर्ने गरी आयोगलाई पत्र लेख्ने’ निर्णय लिएको २४ घण्टा नबित्दै ‘यू–टर्न’ लिएका दाहालले शुक्रबार बालुवाटारमा मोर्चाका नेताहरूसँग वार्ता गर्दै ‘आयोगलाई पठाएको पत्रमा मिति उल्लेख नगरिएको’ जानकारी गराएका हुन्।

मोर्चालाई दिएको आश्वासनसँगै दाहालले चुनावको निर्णयबाट ‘यू–टर्न’ लिनु र मोर्चासँगको अघिल्ला बैठकहरूमा नियमित सहभागी हुने सत्तारूढ कांग्रेस शुक्रबार भने सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

‘आयोगलाई चिठी मात्रै लेखेको हुँ, चुनावको समयावधि तोकिसकेको छैन, आयोगले चुनाव तयारीमा कम्तीमा ९० दिन लाग्ने भनेपछि यसबारे अझै विचार गर्नुपर्ने भयो,’ दाहालले मोर्चा नेताहरूलाई भने, ‘संविधान संशोधन विधेयक पनि छलफलबाट छिट्टै सहमति निकालेर पारित गराउँछु। विधेयकको भाषालाई परिमार्जन गर्न तपाईंहरू पनि तयार रहनुहोस्। अनि मात्रै चुनावमा जाने हो।’ स्रोतका अनुसार मोर्चा नेताहरूले ‘विधेयक टुंगो नलगाई कांग्रेस, एमाले र माओवादी केन्द्र चुनावमा जान लागेका हुन् ?’ भनी एकैसाथ प्रश्न राखेपछि दाहालले आश्वस्त तुल्याएका थिए।

दाहालले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वमा बनेको स्थानीय तहको क्षेत्र, संख्या तथा सिमानासम्बन्धी देखिएका विवाद निरूपण गर्ने समितिले सहमतिका लागि प्रयास गर्ने भन्दै स्थानीय तह पुन:संरचना आयोगले छुट्याउन बाँकी स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको किटानीपछि बाँकी क्षेत्रलाई जनसंख्याका आधारमा स्थानीय तह बनाउन सरकार सकारात्मक रहेको समेत बताएका थिए।

स्रोतका अनुसार यी सबै कामका लागि समय लाग्ने भन्दै दाहालले संविधान संशोधनपछि हुने चुनावमा सबै पक्षको स्वामित्व रहने भएकाले आफ्नो जोड त्यसैमा रहेको हुँदा कुनै पक्षलाई छाडेर एक्लै निर्णय नलिने बताएका थिए। उनले प्रतिपक्षी एमालेले सीधै चुनाव घोषणा गर्न भनिरहे पनि राजनीतिक सहमति आफ्ना लागि प्राथमिक रहेको प्रस्ट्याएका थिए। ‘संशोधन विधेयक पारित गराउनेमा प्रधानमन्त्रीको जोड अझै पनि छँदै छ भन्नेमै हामीलाई बताउनुभयो, त्यसैले सहमतिबाट मात्रै चुनावको मिति घोषणा हुन्छ भन्नेमा अब हामी विश्वस्त छौं,’ बैठकपछि संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘वार्तामा भनिएभन्दा अलग ढंगले चुनाव घोषणा भयो भने हामी मान्दैनौं भनेर प्रस्टै भनिदिएका छौं। प्रधानमन्त्रीले त्यसो हुँदैन भन्नुभएको छ।’

बैठकमा सहभागी मोर्चाका अर्का नेताले प्रधानमन्त्री बिहीबारको निर्णयबाट पछि हटेको आफूले महसुस गरेको कान्तिपुरलाई बताए। माओवादी केन्द्रका नेता मातृका यादवले प्रधानमन्त्री चुनावबाट पछि नहटेको, तर त्यसभन्दा पहिले संशोधन विधेयकलाई टुंगो लगाउन अग्रसर रहेको दाबी गरे।

‘विधेयकलाई यत्तिकै छाडेर चुनावमा जाने कुरा भएन, प्रधानमन्त्रीले यही कुरा बैठकमा राख्नुभएको हो,’ यादवले भने, ‘राजनीतिक सहमतिबाटै चुनाव घोषणा हुन्छ भन्ने कुरा बैठकमा भयो।’ तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादव तथा फोरम वरिष्ठ नेता अशोक राईले सरकारले प्राथमिकता पन्छाउन खोजेको हो कि भन्ने आशंका राखेपछि दाहाल तथा माओवादी नेताहरूले मोर्चा पक्षलाई थुम्थुम्याउन खोजेका थिए। बैठकमा दाहालसहित माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पम्फा भुसाल, मातृका यादव सहभागी थिए भने मोर्चाबाट ठाकुर, राय, राईसहित सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए।

अघिल्ला वार्ताहरूमा सहभागी हुने गरेका कांग्रेस सभापति शेरबहादुर देउवा तथा उपप्रधानमन्त्री विमलेन्द्र निधि शुक्रबारको बैठकमा सहभागी भएनन्। प्रधानमन्त्री निकट स्रोतले दाहालले एकपल्ट मोर्चासँग छुट्टै कुरा गर्न चाहेको बतायो। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू