अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

देशनिकाला तीव्र पार्न ट्रम्पले गरे आइसका निर्देशकलाई पनि बर्खास्त

बिआरटीनेपाल २०७३ माघ १८ गते ११:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस इमिग्रेशन एण्ड कम्स्टम इन्फोर्समेन्ट आइसका निर्देशकलाई पनि बर्खास्त गरेका छन् ।

ट्रम्पले आफू अनुकूल नरहेका व्यक्तिलाई बर्खास्त गर्दै आफू अनुकूलका व्यक्ति नियुक्त गर्ने क्रममा आइसका निर्देशक डानियल रग्सडेल (Daniel Ragsdale) लाई बर्खास्त गरेका हुन् । ट्रम्पले कार्यकारी निर्देशकका रूपमा थोमस होमन(Thomas Homan) लाई नियुक्त गरेका छन् ।

अमेरिकाको गृहमन्त्री (सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी ) जोनकेलीले सोमबार राती डानियललाई बर्खास्त गरेर थोमस होमेन (Thomas Homan) लाई नियुक्त गरिएको जनाएका हुन् । कार्यकारी महान्यायाधिवक्ता शेली यट्सलाई बर्खास्त गरिएलगत्तै आइसका निर्देशकलाई पनि बर्खास्त गरिएको हो । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस अमेरिकाको सङ्घीय कानुन कार्यान्वयन इकाइ हो ।

यसैको माताहतमा अमेरिकाबाट व्यक्तिलाई देशनिकाला गरिन्छ । सीमा सुरक्षामा कडाई गर्ने र कागजपत्रबिहिनलाई देशनिकाला गर्ने घोषणा गरेका ट्रम्पले आइसको निर्देशकमा नयाँ व्यक्ति नियुक्त गर्नुले यस मामलामा ट्रम्पले कडा रवैया अपनाउने थप स्पष्ट भएको छ ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको प्रतिरक्षा नगर्ने बताएकी कार्यकारी महान्यायाधिवक्ता शेली एट्सलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पदबाटै बर्खास्त गरेका छन् । शेलीले सोमबार शरणार्थी अमेरिकाको भिसामा प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशको प्रतिरक्षा नगर्ने बताएकी थिइन् ।

ह्वाइट हाउसले एक वक्तब्य जारी गर्दै शेलीले ट्रम्प प्रशासनलाई धोका दिएकाले बर्खास्त गरिएको जनाएको छ । ट्रम्पले डाना जे बोएन्टलाई कार्यकारी महान्याधिवक्ताका रूपमा नियुक्त गरेका छन् । शेलीले ट्रम्पको कार्यकारी आदेशको अमेरिकाको न्याय मन्त्रालयले कुनै प्रतिरक्षा नगर्ने र अमेरिकाको न्याय क्षेत्र सत्य र न्यायको पक्षमा उभिने बताएकी थिइन् ।

शेलीले ओबामा प्रशासनले नियुक्त गरेको थियो । साथै उनले ट्रम्पको कार्यकारी आदेश कानुनी रहेकोमा आफू आश्वस्त नरहेको भन्दै अमेरिकी न्याय मन्त्रालय अन्तरगतका वकिलहरुलाई पत्राचार गरेकी थिइन् ।

ह्वाइट हाउसको वक्तब्यमा भनिएको छ – ‘कार्यकारी महान्यायाधिवक्ता शेली एट्सले अमेरिकी नागरिकको रक्षाका लागि तयार पारिएको कानुनी आदेश कार्यान्वयनका लागि अस्वीकार गरेर डिपार्टमेन्ट अफ जस्टिसलाई धोका दिएकी छिन् । एट्स ओबामा प्रशासनबाट नियुक्त भएकी थिइन् र उनी सीमाको सन्दर्भमा कमजोर र गैरकानुनी अध्यागमनको सन्दर्भमा असाध्यै कमजोर छिन् । यो समय हाम्रो देशको रक्षाको बारेमा असाध्यै गम्भीर हुने समय हो । सात देशमाथिको भिसा प्रतिबन्ध हाम्रो देशको रक्षाका लागि आवश्यक र तार्किक छ ।’  खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू