अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

सन २०१६ का अमेरिकामा रहेका चर्चित १० नेपाली भाषी भूटानीहरु

बिआरटीनेपाल २०७३ माघ ५ गते ९:३९ मा प्रकाशित

नेपालबाट नेपाली भाषी भूटानीहरुलाई अमेरिका पुर्नावास गराउन थालेको ९ वर्ष हुन पुरा भयो । यस अवाधीमा तेस्रो मुलुक पुर्नावास भएका १ लाख ७ हजार ४ सय ५८ शरणार्थीमा ९१ हजारभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा पुर्नवशित नेपाली भाषी भूटानीहरुले धेरै प्रगाति गरिसकेका छन् । आफ्नै देश फर्किने आशा हराए पछि देश वियोगमा रहेका नेपाली भाषी भुटानीहरूको लागि तेस्रो मुलुक पुर्नवास प्रक्रिया कार्यक्रमले धेरै राहत पुगेको थियो । अमेरिकाबाट सन्चालित अनलाइन पत्रिका बिआरटी नेपाल डट कमले अमेरिकामा रहेका दश चर्चित नेपाली भाषी भुटानीहरूको सुची पाठक समक्ष पेस गर्ने जमर्को गरेको छ । विशेष गरी शरणार्थीको दाग हटाउन अमेरिका आएका नेपाली भाषी भुटानीहरू जो प्रवासमा रहेर पनि विभिन्न क्षेत्रसँग आवद्ध रहेर सफल उदाहरण बनेर चर्चित भएका छन् ती व्यक्तिहरूको नाम प्रकाशन गरी उनीहरूको योगदानको मूल्याङ्कन गर्दै पाठकसामु ल्याएका हौँ । दश जना चर्चित नेपाली भाषी भुटानी छान्ने क्रममा बीआरटी नेपालले थुप्रै नामहरुलाई सुचीवद्ध गरेको थियो । सुचीवद्ध नामहरुलाई केही विज्ञहरुको परामर्श, अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको सुझाव अनि सल्लहा अनुसार अन्तिम दश नाम तयार गरिएको हो । हामीले चर्चित १० नाम छनौट गर्दा आफ्नो पेशागत वा पारिवारिक स्वार्थ भन्दा अघि बढेर नेपाली भाषी भुटानी समाजमा योगदान गरिरहेकाहरुलाई प्रथामिकता दिएको छौ । गायक, सङ्गीतकार, नायक ,प्रध्यापक अनि धेरै समाजसेवीहरुको नाम हामो सुचीमा परेका थियो तर, पेशागत रूपमा दक्षलाई मात्र सुचीको प्रथामिकतामा राखिएन । कुनै क्षेत्रमा दक्षता वा विज्ञता हुनुलाई पक्कै पनि राम्रो हो यसलाई हामी सम्मान गर्छौ । चर्चा कसको धेरै छ ? पाठकहरुले कसलाई रचाई रहेका छन् त्यसलाई ध्यानमा राखेर हामीले नाम प्रकाशित गरेका छौ । सफल हुनु अनि चर्चित हुनु फरक कुरा कुरा हो । प्रकाशित नाममा हाम्रा समाजसेवीहरुबाट फरक विचार नआउने होइन, पक्कै आउँछ । हामी त्यस्ता फरक बिचारलाई सम्मान गर्न सक्ने छौ । समाजको सुझाव अनुसार बिआरटी नेपाल डटकमले छानेका दश जना चर्चित व्यक्तिको अनुहार अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको लागि नयाँ भने हुँदै होइन । प्रस्तुत छ, हाम्रा सहकर्मी मित्र हेम गिरीले तयार पारेको अमेरिकामा रहेका १० चर्चित नेपाली भाषी भुटानीहरूको सम्बन्धी सामग्री:-

१ दिलीप दाहाल, जर्जिया
अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको संस्था भनेर चिनिएको अर्गनाइनेसन अफ भुट्निज कम्युनिटिज इन अमेरिका (अाेबीसीए) उपाध्यक्ष हुन् दिलीप दाहाल । सन् १९८० मा भुटानको चिरांगमा जन्मेका दाहालले सन् १९९२ मा भुटान छोड्नु बाध्य हुनु पर्‍यो । पूर्वी नेपालको झापा बेलडागी शरणार्थी शिविरमा शरणार्थी जीवन बिताएका दाहाल सन् २००८ मा अमेरिका आएका हुन् । महेन्द्र मोरंगबाट बिएसम्मको अध्यन गरेका दाहाल अहिले अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको लागि एक सफल अनि चर्चित अनुहार हुन् । अमेरिकामा समाजसेवासंगै व्यावसाय समेत गर्दै आएका दाहालले दुइटा ग्रोसरी स्टोर व्यवसायी सञ्चालन गर्दै आएका छन् । अमेरिका रहेका नेपाली भाषी भुटानी अनि नेपालमा रहेका नेपाली भाषी भुटानीहरूको समस्यालाई मध्यनजर गर्दै दाहालले समाधानको बाटो खोजिरहेका हुन्छन् । नेपाली भाषी भुटानी समुदायका विभिन्न सङ्घ संस्थाहरूले गर्ने कुनै कार्यक्रम होस या समाजमा भई परी आउने कुनै अड्को पड्कोमा होस उनी सदैव आर्थिक सहयोग गर्न सदैव तत्पर हुन्छन् । सन् २०१५ मा उनले नेपालका प्रधानमंत्री के.पी ओलीलाई भेटेर नेपाली भाषी भुटानीहरूको समस्या उठान गरेदेखि उनको चर्चा नेपालको शरणार्थी शिविरमा पनि व्यापक छ । उनको यस्तो सक्रिय सहभागिता र क्षमताको कदर गर्दै हालै युएनएचसीआरले समेत उनको नेपाल भ्रमणको बारेमा उनको संस्थालाई धन्यवाद प्रदान गर्दै एउटा लेटर लेखेको छ । दुई छोरीहरू अनि श्रीमतीसंगै बस्दै आएका दाहाल २०१६ भरि अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको लागि एक सफल अनि चर्चित नाम रही रह्य्यो । समाजसेवा अनि व्यवासियाको माध्यमबाट दाहालको चर्चा चुलिएको हो ।


२. राजन गिरी, क्यालिफोर्निया

अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको लागि नँया नाम होइन राजन गिरी । भुटानको गेलेफुमा सन् १९७९ मा जन्मेका गिरीले ८ वर्ष झापाको शिविरमा शरणार्थी जीवन बिताएका थिए । सन् 2002 मा अमेरिकाको क्यालिफोर्नियामा रहेका गिरी क्यालिफोर्नियाका नेपाली भाषी भुटानीहरूको लागि मात्र होइन, अमेरिकाभरी रहेका नेपाली भाषी भुटानीको लागि एक चर्चित नाम हो । सन् २००८ देखि क्यालिफोर्नियामा रहेको भुटानी सामजको संस्थामा रहेर कार्य गर्दै आएका गिरी सन् २०१५ सम्म सो संस्थामा रहेर समाजसेवा गरेका थिए । युवा सङ्गठन भुटानको अध्यक्षको रूपमा सन् २००८ देखि सन् २०१३ सम्म कार्य गरेका गिरीले नेपाली भाषी भूटानीहरुलाई स्वदेश फिर्तीको लागि विभिन्न स्थानमा वकालत समेत गरेका थिए । विश्वको स्वीडेन, क्यानडा, अस्ट्रेलिया लागायत विभिन्न देशमा पुगेर नेपाली भाषी भुटानीहरूको मुद्दा उठाएका थिए । अमेरिकामा प्रत्येक वर्ष आयोजना हुने हिमालयन फेस्टिबलका संस्थापक समेत रहेका गिरी सन् २०१६ मा चर्चाको शिखरमै रहे । सन् २०१४ देखि अमेरिकामा सञ्चालन हुँदै आएको हिमालयन फेस्टिबलले खेलकुद, कला अनि फेशनलाई स्थान दिँदै आएको छ । सो कार्याक्रमले सन् २०१६ मा अझै धेरै चर्चा पाउन सफल भयो । गिरी यतिमा मात्र सीमित छैनन् । मिस भुटान युएसए जुन अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको माझ एक चर्चाको केन्द्र रहेको छ सो प्रतियोगिताका संस्थापक समेत हुन् गिरी । अमेरिकामा रहेका भुटानी युवतीहरुप्रति लक्षित गरी आयोजना गर्दै आएको सो प्रतियोगिताली गिरीको चर्चा चुलिएको छ । सन् २०१६ को जुलाईमा ओहायो राज्यमा आयोजना गरिएको हिमालयन फेस्टिबल अनि मिस भुटान युएसएको कार्याक्रम सफल भएको कारण गिरीले चर्चा अमेरिकाभरि रहेको छ । गिरी HFUSA का अध्यक्ष समेत हुन् जुन नेपाली अनि भुटानी मिडियाहरुको धेरै माया पाएको संस्था हो । गिरीले नेपाली भाषी भुटानीहरूको कला अनि सस्कृतीलाई अन्तर्राष्ट्रिय स्थानमा पुराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अमेरिकामा सन् २०१६ भित्रमा विभिन्न कार्याक्रम गरी नेपाली भाषी भुटानी समाजमा योगदान पुराएका गिरी चर्चाको शिखरमा रहिरहे । 

३. तिलक निरौला,न्यू ह्याम्पसायर
सन् १९८९ मा दक्षिण भुटानको सर्भाङ जिल्लामा जन्मेका अनि परिवारसहित पूर्वी नेपालको झापा आईपुगेका तिलक निरौला तीन वर्षका थिए । आधा पेट खाएर गोलधाप शरणार्थी शिविरको छाप्रोमा हुर्किएका तिलक खालीखुट्टै विद्यालय जान्थे। जाडोमा न्यानो कपडा टाढाको कुरा थियो। शरणार्थी जीवन सबै शरणार्थीको यसरी नै बित्यो तर, निरौलामा रहेको उच्च इच्छाले गर्दा उच्चमावि सिध्याएपछि शिविरको त्यही विद्यालयमा पढाए, जहाँ उनी पढेका थिए। शरणार्थी शिविरका लागि पत्रिका निकाल्थे। शिविरमै बसी–बसी उनले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चारमा स्नातक पनि गरे। उनी शिविरमै शरणार्थी सम्बन्धी रेडियो कार्यक्रममा रिपोर्टिङ पनि गर्दथे । रिफ्युजी हेराल्ड मासिक पत्रिकाको सम्पादन पनि गर्थे । भुटान समाचार सेवाको समाचार संयोजक पनि तिलक थिए । सन् २०१३ मा अमेरिकाको न्यू ह्याम्पसायरमा आएका तिलकले कन्कर्ड टेलिभिजन च्यानल २२ मा भुटानी शरणार्थी लक्षित ‘हाम्रो आवाज’ कार्यक्रमका सञ्चालक बनेका छन् । प्रत्येक साता शनिवार बिहान साढे सात बजे प्रसारण हुने यो कार्यक्रममा तिलकले अमेरिकामा रहेका भुटानीसँगै नेपाली समुदाय र उनीहरुबारे बुझेका अमेरिकीलाई समेत अतिथिका रूपमा निम्त्याउँछन् अनि विभिन्न बहस गर्छन् । अमेरिकाको न्यू ह्याम्पसायरमा स्थापना भएको सामाजिक सेवा समितिको पनि सस्थापक हुन् निरौला । सफल अनि चर्चित अनुहारमा निरौलालाई सन् २०१६ भित्र देख्न पाइयो । टेलिभिजन कार्यक्रम उत्पादनकै सिलसिलामा अमेरिकाका दर्जन भन्दा बढी राज्य भ्रमण गरिसकेका तिलकले २ अक्टोबर २०१५ मा अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसँग समेत भेट्ने मौका पाए । छोटो कुराकानीमा उनले भुटानी शरणार्थीबारे चासो दिन अनुरोध गर्न भ्याए । भन्छन्, “थोरै भए पनि आफ्नो समुदायको कुरा बुझाउन पाएकोमा सन्तोष लागेको छ।” अमेरिका रहेका नेपाली भाषी भुटानी अनि नेपालको शरणार्थी शिविरमा रहेका भुटानीको विषयमा तिलकले क्लिन्टनसँग कुराकानी गरेका थिए । उनले सञ्चालन गरेको कार्यक्रम अमेरिकामा समेत लोकप्रिय हुँदै आएको छ । 

४. कर्ण गुरुङ, नेब्रास्का
सन् १९८७ मा भुटानमा जन्मेका कर्ण गुरुङ नेपालको शरणार्थी शिविरमा १८ वर्ष शरणार्थीको रूपमा जीवन बिताएर सन् २००९ मा आमेरिका आएका हुन् । अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको लागि नयाँ भने पक्कै होइन, नेब्रास्कामा बसोबास गरिरहेका गुरुङ र्गनाइनेसन अफ भुट्निज कम्युनिटिज इन अमेरिका (अाेबीसीए) का प्रचार विभाग संयोजक समेत हुन् । अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको साहित्य क्षेत्रमा गुरुङको नाम जति चर्चित छ त्यो सँगै उनले समाजप्रति पुराएको योगदानको चर्चा हुँदै आएको छ । अमेरिकामा रहेको साहित्य संस्था जीबिएलओका प्रवक्ता समेत रेहका गुरुङले अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको समस्या विभिन्न ठाउँमा राख्दै आएका छन् । नेपाली भाषी भुटानी कलाकार अनि साहित्य क्षेत्रमा प्रवेश हुन चाहने नयाँ प्रतिभालाई सधैँ स्थान दिने गुरुङले विभिन्न सामाजिक कामबात नेपाली भाषी भुटानी समाजमा धेरै सेवा गरेका छन् । सन् २०१६ भित्र विभिन्न कार्यक्रममा सहभागी भएर आफ्नो चर्चा कायम नै राखेका छन् । उनको सहभागीमा नेब्रास्कामा बिसीएन Talent Show २०१६ समेत भएको थियो । नेब्रास्कामा मात्र नभएर गुरुङको चर्चा अमेरिकामा रहेका नेपाली भाषी भूटानीहरु रहेको हरेक राज्यमा चुलिएको छ । सकारात्मक साथ अगाडि बढ्नु पर्छ भन्ने मूल मान्यता बोकेका गुरुङ समाजसेवाको क्षेत्र अनि साहित्य क्षेत्रमा मात्र नभएर व्यवासिया हिसाबमा पनि उत्तिकै सफल अनि चर्चित छन् । सन् २०१६ मा सम्पन्न भएको अर्गनाइनेसन अफ भुट्निज कम्युनिटिज इन अमेरिका (अाेबीसीए) निर्वाचनमा गुरुङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेब्रास्काको United Family Home Health Care सस्थापक हुन् । गुरुङले Best Team Player Award 2016, Most Valuable Person (MVP) Award 2016 समेत प्राप्ता गरेका थिए । सन् २०१६ मा अमेरिकामा रहेका चर्चित १० नेपाली भाषी भूटानीहरुमा गुरुङले आफ्नो स्थान राम्रोसँग कायम गरेका छन् । अमेरिकामा रहेका नेपाली भाषी भूटानीहरु माझ समाजसेवा सँग सँगै साहित्य क्षेत्रमा गुरुङको नाम चर्चामा रहेको छ ।

५. हरि उप्रेती, कोलोराडो
वि.स २०३४ सालमा भुटानमा जन्मेका हरि उप्रेतीले २०४८ सालमा आफ्नो जन्मभुमी छोड्नु पर्‍यो । १८ वर्षसम्म नेपालको शनिश्चरे शिविरमा शरणार्थीको रूपमा जीवन बिताएका उप्रेतीले एसएलसीदेखि एमएसम्मको अध्यान नेपालमै गरे । सन् २००९ मा उनी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिकाको कोलोराडोमा आएका छन् । एक चर्चित गीतकार समेत रहेका उप्रेतीले अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको संस्था अर्गनाइनेसन अफ भुट्निज कम्युनिटिज इन अमेरिका (अाेबीसीए) पूर्व उपाध्यक्ष हुन् भने कोलोराडोमा केही महिना अघि सम्म रहेको दुई संस्थाको पूर्व अध्यक्ष समेत हुन् । अमेरिकाभर रहेका नेपाली भाषी भुटानीहरूको समस्यालाई मध्यनजर गर्दै उप्रेतीले सो ओविसीए संस्था मार्फत विभिन्न निकायमा वकालत गरिरहे । उप्रेतीको चर्चा त्यति बेला देखि नै चल्दै आएको थियो तर, सन् २०१६ भित्र मिडियामा चर्चाको विषय बनिरहे उप्रेती । करुणा नामक एल्बम बजारमा प्रकाशन भए पछि जति चर्चा पाए उप्रेतीले त्यो भन्दा धेरै चर्चा उनको संयोजनमा गठन भएको शान्ति इन्टरटेन्मेन्टले नेपालमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण अनि न्यानो कपडा वितरण अभियानले उनको चर्चालाई झनै दर्बिलो बनाई दियो । नयाँ प्रतिभालाई स्थान दिने हेतुले सन् २०१६ मा स्थापना गरिएको शान्ति इन्टरटेन्मेन्टले समेत उप्रेतीको चर्चा कायम नै रहेको छ । विभिन्न सामाजिक काममा तल्लिन रहेका उप्रेतीको अनुहार समेत सन् २०१६ मा अमेरिकामा रहेका १० चर्चित नेपाली भाषी भुटानीहरूको सुचीमा पर्न सफल भएको छ । निकट भविष्यमा शान्ति इन्टरटेन्मेन्ट मार्फत एक विशेष साहित्यक कार्यक्रम गर्ने योजनामा रहेका छन् उप्रेती । 

६. राकेश काफ्ले, आईओवा
सन् १९८१ मा भुटानमा जन्मेका राकेश काफ्ले नेपालको शरणार्थी शिविरबाट सन् २००८ मा अमेरिका आएका हुन् । हाल अमेरिकाको डिमोहिन, आईओवामा बसोबास गरिरहेका काफ्लेले सन १९९५ बाट लेखन कार्य प्ररम्भ गरेका हुन् । अन्तर्राष्ट्रिय भुटानी सिर्जनशील मञ्च संस्थापक अध्यक्ष समेत रेजका काफ्ले अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको मात्र नभएर विश्वा भरि रहेका नेपाली भाषी भुटानीहरूको कला, गला अनि साहित्यलाई प्रस्तुत गर्दै आएको कार्यक्रम भुटानी ढुकढुकी कार्यक्रमको संस्थापक निर्देशक अनि सञ्चालक हुन् । काफ्ले सन् २०१६ भित्र अमेरिकामा रहेका नेपाली भाषी भुटानी माझ चर्चाको शिखरमा रहिरहे । काफ्लेले विशेष गरी नयाँ प्रतिभालाई स्थान दिँदै आएका छन् । उनले आफ्नो रचनामा रहेको एउटा गीतमा कम उमेरकी नेपाली भाषी भुटानी गायिका सैजुना सन्यासीको स्वरमा म्युजिक भिडियो प्रकाशनपछि झनै चर्चा पाए । जोडेर सम्झनाहरू (संयुक्त गजल एल्बम). तुलसी मन्जरी. प्रतीक्षा,प्रयास(एकल शब्द/रचना),दबाइएका आवाजहरू(संयुक्त गजल सङ्ग्रह) ले अमेरिका रहेका नेपाली भाषी भुटानी समाजमा काफ्लेलाई चर्चित बनाई रह्यो । काफ्लेको परिवेश रोएको बेला (रूबाई सङ्ग्रह ) र निश्चल(एल्बम) बजारमा आउने तयारीमा रहेको छ । अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको कला अनि गला अनि साहित्यलाई प्रस्तुत गर्दै अमेरिकामा रहेको सो समाजको विभिन्ना विषयमा बहस गर्दै आएका काफ्लेले आफ्नो चर्चा सन् २०१६ मा कायाम गरे । 

७. अम्बर तुम्बापो, ओहायो
अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको नाम कुनै नौलो नाम होइन, नेपाली भाषी भुटानी जगतमा एक सङ्गीतकार अनि गायकको रूपमा चिरपरिचित नाम हो अम्बर । सन् १९७८ मा भुटानको चिरांगमा जन्मेका अम्बर हाल अमेरिकाको ओहायोको एक्रनमा बसोबास गरिरहेका छन् । नेपालको शरणार्थी शिविर बेलडागीबाट अमेरिका आएका अम्बरले सङ्गीत र गायन बाहेक समाजसेवामा पनि उल्लेखीय योगदान दिएका छन् । भुट्निस कम्युनिटी एक्रनका अध्यक्ष भएर अम्बरले सन् २०१० देखि २०१२ सम्म कार्य गरेका थिए । आत्माहत्या रोकथाम नाम एक जनचेतनामुलक अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अम्बर सन् २०१६ मा अमेरिकामा रहेका नेपाली भाषी भूटानीहरु माझा चर्चित हुन सफल भएका छन् । हाल भुट्निस कम्युनिटी एक्रनका सल्लहाकार रहेका अम्बरले गोपी दाहालको एक एल्बममा सङ्गीत दिने कार्यमा व्यस्ता छन् । अमेरिकामा रहेका नेपाली भाषी भुटानी समाजको समस्यालाई ध्यानमा राख्दै संगीता सिर्जना गर्दै आएका अम्बरले आफ्नो चर्चालाई सन् २०१६ मा पनि कायाम राखेका छन् । धेरै गीतमा सङ्गीत दिईसकेका अम्बरले नेपाली भाषी भुटानी नौलो प्रतिभालाई स्थान दिँदै आएका छन् । सङ्गीत अनि गायनको क्षेत्रमा मात्र नभएर अम्बरको चर्चा समाजसेवामा समेत रहिरहेको थियो सन् २०१६ भित्र । उनले अम्बर नामक एल्बम समेत प्रकाशन गरिसकेका छन् । 

८. जितु बस्नेत, टेंनेसी
अमेरिकामा रहेका नेपाली भाषी भूटानीहरु माझ एक भिन्न क्षेत्रको नाम हो जितु बस्नेत । अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको खेलकुद जगतमा चम्केको नाम हो जितु । भुटानकाे चिराङ जिल्ला लप्सीबाेटे चाचे बजारमा १९८० सालमा जन्मेका जितु देश वियोगमा परि पूर्वी नेपालमा बेलडाँगी-१काे सेक्टर A-२ छाप्रा न:१७३ मा १८ वर्ष शरणार्थी जीवन बिताएका जितु हाल अमेरिकाको टेंनेसी राज्यमा बसोबास गरिरहेका छन् । Cameron College Prep in Nashville TN, USA का कोच समेत रहेका छन् जितुले सन् २००९ मा फुटबल रेफ्रीको अमेरिकाबाट प्रमाण पत्र समेत पाएका छन् । सन् २०१६ भरि चर्चित नै रहे । अमेरिकाको विभिन्न राज्यमा नेपाली भाषी भूटानीहरुले आयोजना गरेको फुटबल प्रतियोगितामा रेफ्रीको भूमिकामा जितुलाई देखियो वर्ष भरी । त्यो सँगै आफू खेलेकाे ठाउँलाई माया गदै सन् २०१६ मा नेपालको झापा स्थित शरणार्थी शिविरमा आयोजना भएको International invitation Refugee challenge cup सुरु देखि अन्तिम सम्म नै रेफ्रीकाे भूमिका देखिएका जितु अर्गनाइनेसन अफ भुट्निज कम्युनिटिज इन अमेरिका (अाेबीसीए) का खेलकुद संयोजक हुन् । नेपालमा पहिलो चाेटि Bluetooth Headset बाट खेल समेत आयोजना गरी जितु अमेरिका फर्कीसकेका छन् । निकट भविष्यमा अमेरिकामा रहेका नेपाली भाषी भुटानी फुटबल खेलडीहरुलाई मध्यनजर गर्दै विशेष कार्यको साथ अगाडी बढ्ने संकल्प साथ जितुले आफ्नो कामको सुरुवात गरेका छन् । अमेरिकामा रहेकाहरुमध्ये खेलकुद क्षेत्रमा जितु बस्नेतको नाम धेरै चम्केको छ । 

९. नुमा लिम्बु, क्यालिफोर्निया
अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गरिरहेकी मिस भुटान युएसए २०१५ नुमा लिम्बु सन् २०१६ मा पनि नेपाली भाषी भुटानीहरूको लागि एक चर्चित नाम रह्यो । सन् १९९५ मा जन्मेकी लिम्बु २ वर्ष मात्र शरणार्थी शिविरमा बासिन । नेपालको काठमाण्डौंमा बसेर आफ्नो पढाई अगाडी बढाएकी लिम्बुले मिस भुटान युएसए २०१५ भएदेखि अमेरिकामा रहेका नेपाली भाषी भूटानीहरु माझ एक चर्चित हुन पुगिन । सन् २०१६ मा सामजसेवा गर्ने हेतुले लिम्बुले नेपालको शरणार्थी शिविरमा बाल विवाह रहित शिविर निर्माण अभियानमा पुराएको सहयोगले उनको अमेरिकामा मात्र होइन, नेपालमा रहेका नेपाली भाषी भुटानीहरूको माझा चर्चा रहेको छ । २१ वर्षीय एक युवतीले समाजप्रति देखाएको सहयोग अनि अमेरिकामा रहेको नेपाली भाषी भुटानी समाजलाई ध्यानमा राख्दै उनले गरेको कार्यको कारण उनको चर्चा चुलिएको छ । अझै शिविरमा रहेका बालबालिकाहरुप्रति सहयोग गर्ने सोचमा रहेकी लिम्बुले क सफल अनि चर्चित मिस भुटान हुन् । अन्य मिस भुटान युएसएहरुले पनि समाजसेवा नगरेको होइनन तर, उनको चर्चा सन् २०१६ मा रही रह्यो । आफ्नो पदाई अगाडि बढाइ रहेकी लिम्बुले समाजसेवाप्रति आफू सदैव तयार राहेको बताईन । 

१०. किरण गजमेर, मिजोरी
सन् १९९५ मा नेपालमा जन्मेका किरण शरणार्थीको रूपमा जन्मिन पुगे । हाल अमेरिकाको मिजोरीमा रहेका किरण अमेरिकामा रहेका नेपाली भाषी भूटानीहरुले रुचाएको अनि उनीहरूको मनमा बस्न सफल एक नाम हो । बाल्यकालदेखि नै सङ्गीत क्षेत्रमा रुचि राख्दै गीत गाउन थालेका किरणले सानै उमेरमै धेरै गीतहरुमा स्वर दिएका थिए भने सन् २०१६ मा रिलिज भएको एउटा गीत छपक्कै फुल फुल्योले किरणको उचाइ अझै बढाएको छ । सङ्गीतकार अनि गीतकारको रूपमा स्थापित हुँदै गरेका किरण अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरूको माझमा मात्र नभएर जता त्यतै अहिले चर्चाको पात्र बनेका छन् । निकट भविष्यमा दुइटा एल्बममा काम गर्ने तयारीमा रहेका किरणले अमेरिकामा नेपाली भाषी भुटानी समुदायलाई सङ्गीत अनि गायनको मार्फत मनोरंजन प्रदान गर्दै आफ्नो चर्चा कायम राखेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू